फाकफोकथुम : इलामको फाकफोकथुम गाउँपालिका–४, साविक फुएतप्पा लिम्बु गाउँस्थित सधादेन एमायु युमा माङहिम परिसरमा लिम्बु समुदायको ऐतिहासिक पहिचान झल्किने “सिलामसाक्मा” तथा रैथाने बाजा च्याब्रुङ (के) अंकित स्तम्भ निर्माण गरिने भएको छ।
किरात याक्थुङ चुम्लुङ समन्वय समिति फाकफोकथुम–४ फुएतप्पाको पहलमा निर्माण हुन लागेको उक्त स्तम्भ १४ फिट अग्लो हुने समितिकी अध्यक्ष सुनिता नेम्वाङ (योक्पाहाङ्देन) ले जानकारी दिइन् । अध्यक्ष नेम्वाङका अनुसार स्तम्भमा लिम्बु जातिको सांस्कृतिक पहिचानसँग जोडिएको सिलामसाक्मा र च्याब्रुङको प्रतिकात्मक आकृति अंकित गरिनेछ।
समितिका सचिव रत्न योक्पाहाङ्देनले सिलामसाक्मासहित च्याब्रुङ अंकित उक्त स्तम्भ नेपालकै सबैभन्दा अग्लो हुन सक्ने दाबी गर्नुभयो। उहाँका अनुसार यो निर्माणले लिम्बु समुदायको मौलिक संस्कृति, इतिहास तथा पहिचान संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
निर्माणाधीन स्तम्भको लागत व्यवस्थापन चुम्लुङ समितिले दुई वर्षअघि सञ्चालन गरेको देउसी–भैलो कार्यक्रमबाट संकलित ४० हजार रुपैयाँबाट सुरु गरिएको बताइएको छ। उक्त रकम समितिमार्फत ऋण लगानी गरी प्राप्त सावाँ–ब्याजसमेत जोडेर स्तम्भ निर्माणमा खर्च गरिने जनाइएको छ।
समितिका पदाधिकारी तथा स्थानीयवासीको श्रमदानमार्फत स्तम्भ निर्माण कार्य अघि बढाइएको अध्यक्ष नेम्वाङले बताइन् ।
