इलाम । इलाममा कोरोना रोग विरुद्धको दोस्रो डोज खोप लगाउन कामले तिब्रता पाएको छ । स्वास्थ्य कार्यालय इलामले इलामका सबै स्थानीय तहमा प्रथामिकताका आधारमा कारोना रोग विरुद्धको दोस्रो डोजको खोप लगाउने काम गरेको हो ।
कोरोना विरुद्धको खोप अभियानका क्रममा पहिलो डोज लगाएका नागरिकलाई दोस्रो डोजको खोप लगाउने काम सम्पन्न गरेको हो । कोबिड १९ विरुद्धको खोप अभियानको पहिलो चरणको दोस्रो डोज खोप लगाउने काम स्वास्थ्य संस्था मार्फत जिल्लाका १० वटै स्थानीय तहमा संचालन भएको स्वास्थ्य कार्यालय इलामका खोप सुपरभाइजर गंगाधर पण्डितले बताए ।
कोबिड १९ रोग विरुद्धको दोस्रो मात्रा खोप लगाउने काम पहिलो चरणमा बैशाख ७ बाट ११ गतेसम्म संचालन हुनेछ । २०७७ माघ १४ गतेदेखि २४ र फागुन २ गतेदेखि ११ गतेसम्म कोरोना रोग विरुद्धको पहिलो खोपको मात्रा लगाएका नागरिकहरुमा दोस्रो चरणको खोप लगाइएको स्वास्थ्य कार्यालयका खोप प्राविधिक बिष्णु ओष्तिले बताए ।
दोस्रो मात्रा खोप लगाउने अभियानको पहिलो चरणमा ३ हजार ५ सय जनामा खोप लगाउने लक्ष्य रहेको छ । कोरोना विरुद्धको दोस्रो डोजको खोप सीमा क्षेत्रमा खट्ने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, जनप्रतिनिधि, निजामित कर्मचारी, नेपाली सेना, प्रहरी, लास व्यवस्थापनका खट्ने व्यक्ति र कारागारका कैदीबन्दिलाई लगाइएको छ । बैशाख १० गतेसम्म २ हजार ६ सय ५५ जनामा खोप लगाइसकिएको छ । लक्ष्य अनुसारको खोप लगाउन कामका लागि प्रचारप्रसारको पनि काम गरिएको स्वास्थ्य कार्यालय इलामका प्रमुख बृजकुमार दासले बताए ।