इलाम । कारोना रोगको दोस्रो चरण फैलिएसँगै इलाममा स्वास्थ्य सतर्कता अपनाउन थालिएको छ । प्रमुख जिल्ला अधिकारी ध्रुबबहादूर खड्काको अध्यक्षतामा बसेको कोबिड १९ संकट व्यवस्थापन केन्द्रले जिल्लाबासीलाई स्वास्थ सतर्कता अपनाउन आग्रह गरेको हो ।
बिहिबार बसेको बैठकले बैशाख मसान्तसम्म हेल्थ क्लब, जिमखाना, स्विमिङ पुल, फुटसल, सभा, आमसभा, जुलुस, हाटबजार, रङ्गशाला दर्शक सहित हुने खेलकुद र मानिसहरुको भिडभाड हुने काम नगर्ने निर्णय गरेको छ । बैठकले मठ, मन्दिर, मस्जित, गुम्बा र चर्च लगायतका धार्मिस्थलमा स्वास्थ्य मापदण्ड पालना गरेर मात्रै पुजा अर्चना गर्नुपर्ने निर्णय गरेको हो ।
जिल्लामा सार्वजनिक यातायातका साधन संचालन गर्दा सित्रको मात्रा अनुसार यात्रु चढाउने, माक्स अनिवार्य गर्ने, सेनिटाइजरको व्यवस्था गर्ने, चालक र सह–चालकले माक्स तथा भाइजर प्रयोग गर्नुपर्ने, माक्स नल्याएमा १० रुपैयाँ लिएर माक्स प्रदान गर्ने, लामो दुरीको सवारीसाधनमा बिचबाटोमा यात्रु नचढाउने र अनिवार्य यात्रुको बिबरण जिल्ला कोबिड १९ संकट व्यवस्थापन केन्द्रलाई जानकारी दिनुपर्ने बैठकले निर्णय गरेको छ ।
सार्वजनीक निकायहरु र व्यवसाय संचालन गर्दा अनिवार्य रुपमा स्वास्थ्य मापदण्ड पालन गरि मात्रै संचालन गर्ने र सार्वजनिक निकाय तथा पसलमा आउने व्यक्तिले अनिवार्य माक्सको प्रयोग गर्नुपर्ने बैठकले निर्णय गरेको हो । त्यस्तै होटल र रेष्टुरेन्टहरु बिहान ८ बजेबाट बेलुकी आठ बजेसम्म मात्रै संचालन गर्न दिने र कामदारले अनिवार्य रुपमा माक्सको प्रयोग गर्नुपर्ने बैठकको निर्णय रहेको छ ।
कोबिड १९ मा आम समुदायले पालन गर्नुपर्ने नियमहरु पनि संकट व्यवस्थापन केन्द्रले सार्वजनिक गरेको छ ।
केन्द्रले जरुरी परेमात्रै सर्वसाधारणलाई घर बाहिर निस्कन आग्रह गरको छ । बैठकले स्थानीय तहहरुलाई १५ बढेको अस्पतालसँग संझौता गरि कोरोना भाइरस पोजेटिभ भएका व्यक्तिहरुको उपचार गर्न आग्रह गरेको छ । जिल्ला समन्वय प्रमुख गणेश प्रसाद बराल र इलाम नगरपालिका प्रमुख महेश बस्नेत सल्लाहाकार रहेको संकट व्यवस्थापन केन्द्रमा साहायक प्रमुख जिल्ला अधिकारी झरेन्द्र प्रसाद चापागाई, जिल्ला समन्वय अधिकारी हरिप्रसाद दाहाल, प्रमुख सेनानी प्रभात थापा, नेपाल प्रहरीका एसपि नविनराई राई, शसस्त्र प्रहरीका एसपि सुधिरजंङ्ग थापा, प्रमुख अनुसन्धान अधिकृत पुष्पनारायण दाहाल र जिल्ला अस्पताल इलामका मेडिकल सुपरिटेन्डेन प्रभु साह रहेका छन् ।