काठमाण्डौ । नायिका स्वस्तिमा खड्काले साउथ चलचित्र ‘थिरिमाली’ साइन गरेकी छिन् । काठमाण्डौको एक पाँच तारे होटलमा नायिका खड्का र चलचित्रको निर्माणपक्षविच कागजी संझौता भएको छ । स्वस्तिमाले चलचित्र साइन गरेपछि आफूलाई यो चलचित्रबाट धेरै कुरा सिक्न र करिअरलाई अगाडि बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेकी छिन् ।
नायिका खड्काले चलचित्र ‘चिसो मान्छे’मा काम गरेपछि यो चलचित्रका लागि समय दिनेछिन् । यो चलचित्रको छायांकन ७० प्रतिशत नेपाल र ३० प्रतिशत भारतमा हुनेछ । राजिव सेट्ठीले निर्देशन गर्ने यो चलचित्रलाई दक्षिण भारतीय कम्पनी एन्जल मारिया सिनेमाज् र नेपालको तर्फबाट अनन्या फिल्मस्ले निर्माण गर्नेछन् ।
चलचित्रमा विविन जर्ज, जोनी एन्टिवनी, धर्मजन वोलगाट्टी, हरेश कनारान, आना रेश्माको मुख्य भूमिका रहनेछ । नेपालबाट स्वस्तिमा, माओत्से गुरुङ र केही थिएटरका कलाकारको अभिनय रहने छ । मलयालम भाषामा बन्ने ‘थिरिमाली’ हिन्दी र नेपालीलगायत भाषामा बन्न लागेको हो।
नेपालको कपिराइट अधिकार अनन्या फिल्म्सले लिएको छ। अनन्या फिल्म्सका निर्माता सरोज न्यौपानेले फिल्म चैत पहिलो साताबाट सुरु छायांकनमा जाने जानकारी दिए। फिल्मको अधिकांश भाग नेपालमा खिचिने यो फिल्म काठमाडौं र मुस्ताङमा छायांकन हुनेछ।
निर्माता सरोजले भारतको देहरादुनमा प्लस टु पढेका हुन्। उनले भने, ‘थिरिमाली’ को कथावस्तु र पात्र नेपाली भएकोले भारतीय साथीहरुको सम्पर्कबाट फिल्ममा जोडिन पुगेँ। नेपाली फिल्म क्षेत्रका लागि यो पहिलो र महत्वपूर्ण सहकार्य हो।’ यसैबीच अभिनेत्री स्वस्तिमा र थिरिमाली निर्माण पक्षबीच भएका भेटघाटका तस्बिरहरु बाहिरिएका छन्। थिरिमाली निर्देशक राजीवले स्वस्तिमासँग खिचेको तस्बिर फेसबुकमा राख्दै लेखेका छन्, ‘नेपालकी सुपरस्टार स्वस्तिमासँग।’