इलाम । कारोना भाइरस नियन्त्रणका क्रममा इलाममा आइतबारसम्म २९ सय ७९ जनाको कारोना टेष्ट गरिएको छ । पिसिआर विधिबाट सर्वसाधारण, व्यवसायी, प्रहरी, कर्मचारी लगायतका गरि २९ सय ७९ जनाको कोरोना परिक्षण गरिएको हो । १० वटा स्थानीय तहमा गरिएको परिक्षणमा आइतबारसम्ममा ७६ जनामा पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय इलामका विमल बरालले बताए ।
तथ्याङ्क अनुसार इलाम नगरपालिकामा सबैभन्दा बढी पिसिआर विधिबाट कारोना रोगको परिक्षण गरिएको छ । इलाम नगरपालिकामा ७ सय ९० जनाको परिक्षण गरिएकोमा ६ सय ३९ जनाको नेगेटिभ रिपोर्ट आएको छ । टेष्ट गरिएका मध्ये पोजेटिभ रिपोर्ट आएका ५६ जनाको आइसोलेसनमा उपचारका लागि पठाइएको छ । इलाम नगरपालिमा पिसिआर विधिबाट टेष्ट गरिएको एक सय १५ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।
स्वास्थ्य कार्यालयका अनुसार सूर्योदय नगरपालिकामा ७ सय ६८ जनाको पिसिआर जाँच गरिएकोमा ७ सय ६८ जनाको रिपोर्ट नेगेटिभ आएको छ । टेष्ट गरिएका मध्ये १४ जनाको पोजेटिभ रिपोर्ट आएको छ भने १ सय ७४ जनाको रिपोर्ट आउन बाँकी रहेको हो । इलाममा १० स्थानीय तह मध्ये रोङ गाउँपालिका पिसिआर टेष्ट गर्नेमा तेस्रो रहेको छ । रोङ गाउँपालिकामा ४ सय ८१ जनाको पिसिआर टेष्ट गरिएको छ । परिक्षण गरिएकामध्ये ४ सय २८ जनाको नेगेटिभ र एक जनाको पोजेटिभ रिपार्ट आएको हो । रोङ गाउँपालिकामा टेष्ट गरिएको मध्ये ५२ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।
पिसिआरबाट कोरोना परिक्षण गराउनेमा माई नगरपालिका चौथो रहेको छ । माई नगरपालिकामा २ सय ७८ को कोरोना परिक्षण गरिएको हो । परिक्षण गरिएका मध्ये २ सय ४६ जनाको नेगेटिभ ३ जनामा पोजेटिभ रिपोर्ट आएको छ । माई नगरपालिकामा परिक्षण गरिएकामध्ये २९ जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय इलामले जनाएको छ । इलामको देउमाई नगरपालिकामा २ सय १४ जनाको पिसिआर टेष्टको आयोजना गरिएको छ । टेष्ट गरिएका मध्ये २ सय १२ जनाको टेष्ट नेगेटिभ आएको छ भने २ जनामा पोजेटिभ देखिएको छ ।
जिल्लाको दक्षिणि चुलाचुली गाउँपालिकामा एक सय १९ जनाको पिसिआर टेष्ट गरिएकोमा एक सय १९ जनाको रिपोर्ट नेगेटिभ आएको चुलाचुली गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत काजिमान राईले बताए । त्यस्तै फाकफोकथुम गाउँपालिकामा एक सय २० जनाको पिसिआर टेष्ट गरिएको छ । टेष्ट गरिएकामध्ये सबैको रिपोर्ट नेगेटिभ आएको गाउँपालिका उपाध्यक्ष सरस्वती राई ‘सरु’ले बताइन् । जिल्लाको उत्तरी माईजोगमाई गाउँपालिकामा ९५ जनाको पिसिआर टेष्ट गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको गाउँपालिका अध्यक्ष जितबहादूर राईले बताए ।
जिल्लाको पश्चिमि माङ्सेबुङ्ग गाउँपालिकामा ३१ जनामा पिसिआरबाट कोरोना परिक्षण गरिएको छ । परिक्षण गरिएकामध्ये सबैको रिपोर्ट पनि नेगेटिभ आएको गाउँपालीकाले जनाएको छ । जिल्लाको सन्दकपुर गाउँपालिमा ८३ जनाको पिसिआर विधिबाट कोरोना परिक्षण गरिएकोमा ३३ जनाको रिपोर्ट नेगेटिभ आएको छ । परिक्षण गरिएकामध्ये ५० जनाको रिपोर्ट आउन बाँकी रहेको सन्दकपुर गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत महेश राईले बताए ।