आइतबारे । इलामको सूर्योदय नगरपालिका–११ आइतबारेमा रहेको मेची अञ्चल आयुर्वेद औषधालयमा भारतीय बिरामीको चाप बढ्दै गएको छ । दैनिक ५० बढी बिरामीले उपचार सेवा लिँदै आएको औषधालयमा भारतको दार्जिलिङ्ग, सिक्किम, कर्साङ, मिरिकबाट पनि बिरामी आउन थालेका छन् । भारतबाट बिरामीको चाप बढेसँगै सोमबारबाट औषधालयका सबै बेडहरु बिरामीले भरिएका छन् ।

नसा, हाडजोर्नी र पायल्स रोगको उपचार गराउन दैनिकजसो १५ जना भन्दा बढी भारतिय बिरामी आयुर्वेद अस्पतालबाट सेवा लिँदै आएको प्रमुख तिर्थ आचार्यले बताए । भारतको दार्जिलिङ, मिरिक लगायतका क्षेत्रका बासिन्दाहरु उपचारको लागी आउने क्रम बढेको हो । गत आर्थिक बर्षमा प्रदेश सरकार माहतहको सामाजिक विकास मन्त्रालयले स्तरोन्नती गरी १५ शैय्याको अस्पताल बनाएपछि विरामीहरुको चाप बढदै गएको छ । बिरामीलाई आधुनिक प्रविधिको आयुर्वेद उपचार र गुणस्तरीय औषधिसहितको सेवा सुविधा उपलब्ध गराउने उद्देश्यले स्तरोन्नती भएपछि भारतको मिरिक, दार्जिलिङ लगायतका क्षेत्रबाट बिरामीहरु आउन थालेको औषधालयका डाक्टर रुपेश सोनामले बताए ।

अस्पतालमा हाल पंचकर्म सेवा, सिरोधारा, स्थानीक वस्ती (तेलले सक्ने) क्षार सुत्र विधिबाट फिष्टुलाको उपचार गर्ने, फिजियो थेरापी सेवा, अंकुपंकर सेवा, इमरजेन्सी सेवा, शःसुल्क फार्मेसी सेवा, विशेषज्ञ चिकित्सक सेवा उपलब्ध भएपनि इलाम, पाँचथर र ताप्लेजुङ्ग जिल्लाका बिरामीको भिड बढेको छ । कार्यालयले २४ सै घण्टा सेवा प्रदान गर्न थालेपछि बिरामीहरुको चापले औषधालयमा बेड अभाव हुँदै आएको डाक्टर सोनामले बताए ।
पाँचवटा कोठामा अस्पताल संचालनमा अभाव भएपछि हाल भवन भाडामा लिएर संचालन गरिएको छ । आयुर्वेद अस्पतालबाट सेवा लिएपछि सन्तुष्ट रहेको भारत पोख्रेवुङका बिरामी केबी राईले बताए । धेरै अस्पताल धाएपनि औषधालयमा आएर उपचार शुरु गरेपछि आराम हुँदै गएको राईको अनुभव छ । कार्यालय प्रमुख आचार्यका अनुसार कार्यालयको सेवा गाउँगाउँमा विस्तार गर्न प्रदेश सरकारको सहयोग र स्थानीय सरकारको समन्वयमा इलामको माइजोगमाई गाउँपालिका, रोङ गाउँपालिका र माई नगरपालिकाको क्षेत्रमा स्वास्थ्य शिविर गरेपछि झनै बिरामीको चाप बढ्दै गएको छ ।

बिरामीको सेवासुविधालाई मध्यनजर गर्दै यसअघि पञ्चकर्म, क्षारसुत्र, योग, अकुपंचरसहितको चिकित्सा पद्धतितर्फको उपचार सुरु गरेको थियो । उपचार सेवा सुरु भएपछि अहिले बिरामीको चाप दिनप्रतिदिन बढ्दै गएको छ । सोही आवश्यकतालाई मध्यनजर गर्दै केन्द्रले थप चिकित्सा पद्धतितर्फको उपचार सञ्चालनमा ल्याएको छ ।
केन्द्रले फिजियोथेरापी, एकांग स्वदेन, ल्याव प्याथोलोजी र सशुल्क फार्मेसी सेवा पनि सुरु गरेको हो । प्रदेश सरकारले औषधालयलाई अस्पतालमा स्तरउन्नती गरिएपछि सुनसान जस्तो हुने औषधालयमा बिरामीले भरिभराउ हुन थालेको हो । ‘उपचारको प्रभावकारिता बढाउन र बिरामीको विश्वास जित्नलाई अन्य सेवाहरुको आवश्यकतालाई ध्यान केन्द्रित गरेर थप उपचार सेवा सुरु गरेका हौ ।’ औषधालयका प्रमुख तिर्थ आचार्यले भने–‘यसले आयुर्वेद चिकित्सातर्फ बिरामीको आर्कषण झन बढ्ने विश्वास लिएका छौँ ।’ गत आर्थिक बर्षबाट नियमित रुपमा पञ्चकर्म, क्षारसुत्र, योग, अकुपंचरसहितको उपचार सेवा सुरु भएपछि बिरामीको संख्यामा तेब्बर वृद्धि भएको छ ।
औषधालयले विभिन्न ३० भन्दा बढी प्रकारका रोगहरुको उपचार गर्दै आएको छ । जेष्ठ नागरिक, सुत्केरी महिला र नसासम्बन्धि पंचकर्म जस्ता रोगको समेत उपचार गर्दै आएको औषधालयमा धेरैजसो ग्याट्रिक,बाथ रोगी, पायल्स र नसा सम्बन्धि बिरामीले सेवा लिँदै आएका छन् ।