नयाँबजार । माईजोगमाई गाउँपालिकाका अध्यक्ष जितबहादुर राईले कृषि र पर्यटन नै विकास समृद्धिको आधार भएको बताए । बाला चर्तुदशी मेलाको अवसरमा बोल्दै राईले धार्मिक, साँस्कृतिक र प्राकृतिक पर्यटनका निम्ती गाउँपालिकाले कुनै पनि कसुर नराख्ने बताए । पर्यटकिय क्षेत्रको विकासबाट मात्रै गाउँपालिकाको समृद्धि हुने बताउँदै राईले यस क्षेत्रका पर्यटकिय क्षेत्र विकासका निम्ती एकजुट हुन आह्रवान गरे । माईजोगमाई गाउँपालिकाको थुम्के डाँडाबाट सूर्योदयको दृश्यावलोकन गर्न सकिन्छ ।
यस्तै उत्तरे पोखरी , मलु पोखरी, साततले झरना , शिवालय धाम, साङछयोलिङ बौद्ध गुम्का, महादेव थान मन्दिर, देवि मन्दिर लगायत पर्यटकका लागि आकर्षणका केन्द्र रहेका छन् । गाउँपालिकको सवै पर्यटकिय गन्तव्यहरुलाई मुख्य प्राथमिकतामा राखेर विकास गरिदै लगिने गाउँपालिका अध्यक्ष राईले बताए । उक्त क्षेत्र पुगेका पर्यटकले चोयाटार पुगेर रेडपाण्डाको अवलोकन गर्न सक्ने छन । मेलाकै अवसरमा बिभिन्न जातजातीका झाकी प्रर्दशन, सांस्कृतिक भेषभूषाको प्रर्दशन गरिएको छ ।

अलैँची आलु जस्ता कृषि उत्पादनमा अब्बल रहेको गाउँपालिकामा धान झुल्ने देखि गुरास फुल्ने क्षेत्र समेत रहेका छन । २०११ सालमा बालागुरुले बजार बसाए पछि बर्षेनी बालाचर्तुदशीका दिन मेला लाग्दै आएको छ । सूर्योदय नगरपालिकाको फिक्कल र इलाम बजारबाट सहजै पुग्न सकिने नयाँबजारमा लाग्ने उक्त मेलामा नेपाल तथा भारतका ब्यपारीहरुको भीड लाग्ने गरेको छ । रगुन गुरुङ, बृष प्रधान, पुजन प्रधान लगायतका कलाकारहरुले सांगितिक प्रस्तुती दिएका थिए ।