इलाम । आगामी फागुन २५ गते इलामको सुम्बेकमा एक दिने निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । इलाम नगरपालिकाको आयोजनामा हुने शिविरमा विभिन्न सातवटा रोगको परिक्षण तथा उपचार गर्ने तयारी रहेको नगरपालिकास्थित स्वास्थ्य शाखाले जनाएको छ ।
शिविरमा स्त्री रोग, हाडजोर्नी तथा नसा, छाला रोग, दाँत, महिलाको पाठेघरको मुखको क्यान्सर तथा मधुमेहको परिक्षण गरिने जनाइएको छ । यस्तै आँखा रोग, दाँतको पनि परिक्षण तथा उपचार गरिने स्वास्थ्य शाखा सह– संयोजक दमन्ता पौडेलले बताइन् ।
पौडेलका अनुसार छाला रोग, हाडजोर्नी तथा नसा रोग विषेशज्ञ भने बाहिरबाट ल्याउने र दाँत तथा आँखा र अन्य सामान्य विरामीको भने इलाम अस्पतालका चिकित्सकले परिक्षण गर्ने तयारी छ ।
सरकारले उपलब्ध गराउने ३४ प्रकारका औषधी निःशुल्क नगरपालिकाले शिविरमा उपलब्ध गराउने बताइएको छ । अपुग औषधी, औषधी व्यवसायीहरूले उपलब्ध गराउने व्यवसायी महेश श्रेष्ठले बताए ।
पाँच सय सेवाग्राहीको स्वास्थ्य परिक्षण तथा उपचार गर्ने लक्ष्य राखिएको शिविरमा नेत्र ज्योति संघ, करूणा फाउण्डेशन र प्रहरीको सहकार्य रहने जनाइएको छ । उत्तरी जमुना, माइमझुवा, माबु, प्याङ, नयाँबजारलाई समेत लक्षित गरेर शिविर आयोजना गरिएको हो ।