ऊ आएर खुत्रुक्क मेरो मोटरबाइकको पछाडि बस्छे । कतै छोइएलाझैँ, बडो सर्तकताका साथ दुवै खुट्टा यौटै साइडमा राखेर बस्छे, परम्परागत महिलाझैँ । पहेँलो साडीमा गुलाबी रङका बुट्टा कुँदिएका छन् । शरीरबाट अत्तरको कडा बास्ना प्रसारित भइरहेको छ । नाकै हरक्क गर्छ मेरो । तर उसको अनुहारतिर म त्यति ध्यान दिन्नँ । ठीकसित उसको शरीरलाई नियाल्न पनि मन लाग्दैन । गम्ल्याङग मेरो शरीरलाई आङ्खनो हातले बेरेकी भए उसको उपस्थितिको अझ अर्को एउटा सबभन्दा बलियो प्रमाण हुन सक्थ्योे तर त्यसो हुन सक्तैन । अनुमान गरेरै निर्धक्क भई मैले उसको उपस्थितिलाई छाम्नुपर्ने बाध्यता छ । फर्केर पछाडि हेरे पनि हुँदो हो तर मभित्रको पौरुष अहमले, कमसे कम तत्कालीन परिस्थितिहरुको स्थितिबोध गरेकाले त्यसो गर्न दिँदैन । मैले आंशिक नेत्रहीनताको अभिनय गर्नैपर्छ ।
ऊ मेरी स्वास्नी हो । ऊ त्यही स्वास्नी हो जसलाई मैले सात महिना अगाडि साढे दुई लाख रुपियाँ नगद उडाएर झ्याइँझ्याइँ बाजा बजाउँदै भित्रयाएको थिएँ । परम्परागत शैलीमा परिवारका सबैले उसलाई लक्ष्मी भनेका थिए । ‘लक्ष्मी’को यथेष्ट व्यय हुने भएकोले कुलवधुलाई लक्ष्मी भनिएको हुनुपर्छ । ऊ मेरी त्यही स्वास्नी हो जसलाई आमा ‘बुहारी’ भनेर बोलाउनुहुन्छ र बहिनी ‘भाउजू’ भन्छे । मलाई बिहानबिहान ओछयानमै निन्द्रै नखुलीकन मेरो टेबुलमा चियाको कप ल्याएर राखिदिन्छे र मलाईकतै नछोइकन, नहल्लाइकन आफ्नो स्वरलाई साबिकभन्दा अलिकति उकासेर ‘चिया’ भनेर निस्कन्छे । अनि भान्सामा गएर आमालाई सघाउँछे । म गहिरो निद्रामा हुँदा त्यो चिया टेबलमै हिउँझैँ बनिसक्थ्यो वा एकाध झिगा तैरिरहेको अवस्थामा फेला पर्थे ।
ऊ मेरी स्वास्नी, मैले मेरा नातेदारहरुलाई जे–जे साइनो लगाएर बोलाउँथो, ऊ पनि ऐजन गर्थी । खाना खान बस्ता दाल, तरकारी वा अचार थप्ने बेलामा ‘हजुरलाई यस्तो राखूँ रु’ भनेर पनि सोध्थी । यसले स्पष्ट हुन्छ ऊ हामीबाहेक अरु कसैको उपस्थिति भएको खण्डमा मलाई ‘स्योस्’ वा ‘हजुर’ लगाएर राम्रैसित बोलिदिन्थी ।
यो त्यही स्वास्नी हो, जो अहिले मेरो मोटरबाइकमा मेरा पछाडि बसेकी छे । एक हातले पछाडिको क्यारियरको भाग समातेकी छे अनि अर्को हातचाहिँ हामी दुइ बीचको खाली ठाउँमा राखेकी छे, ह्यान्डब्याग समातेर ।
आज मात्र होइन, ऊ मेरो मोटरबाइकमा सधैँ यसैगरी बस्छे । लाग्छ, यदि तेस्रो कसैलाई हामी र्दुइको बीचमा ल्याएर राखिदिने हो भने ऊ मज्जैले अटाउँदो हो ।
यतिखेर हामी एउटा विवाहको भोजमा जाँदै छौँ । उसको वश चल्दो हो त ऊ यस्ता विवाहका भोजमा जहाँ उसलाई मसित मेरी स्वास्नीको हैसियतले जानुपर्ने हुन्छ, त्यहाँ आङ्खनो पछिल्तिरको भाग पनि नदेखाउँदी हो । जब म त्यस किसिमका भोजभतेरहरुमा मेरा इष्टमित्रहरुका सामू मेरो मिसेज भनेर उसको परिचय गराइरहेको हुन्छु त्यसबखत ऊ के सोच्ती हो रु
म अझै गहिरिएर सोच्छु, म के सोच्छु यस्तो बखत भनेर ऊ सोच्ती हो रु या केही पनि नसोच्ती हो । या कतै साँच्चै इन्जोइ नै पो गर्दी हो ।
तर यो अति न्यून सम्भावना । कारण ऊ मसँग सम्बन्धित कुरासँग असम्बन्धित रहन चाहन्छे । ऊ मात्र त्यही परिचय बोक्न चाहन्छे जुन कुनै बेला हुने गरेकी थिई । ऊ कुनै बेला मेरी स्वास्नी थिइन भन्ने कुरा साँचो नै त हो । ऊ मात्र ‘ऊ’ थिई । म पनि मात्र ‘म’ थिएँ ।
उसलाई ‘ऊ’ मा मात्र सीमित राख्न नचाहनेहरु र मलाई ‘म’ मा मात्र सीमित राख्न नचाहनेहरुले हामीलाई हाम्रो आ–आङ्खनो स्थितिबाट खण्डित गराए । म आङ्खनो त्यस किसिमको विखण्डनलाई शनैःशनैः स्वाभाविकताको आवरणले ढाक्दै जान थालेँ । उसको विषयमा त म अझै केही भन्न सक्तिनँ । हामीबीच एकान्तमा यत्ति प्रश्नोत्तर पनि भएको छैन । न म सम्पूर्ण लोग्ने प्रमाणित हुनसकेको छु, न ऊ स्वास्नी भएर मेरा अघिल्तिर उभिन सकेकी छे ।
हो ऊ त्यही स्वास्नी हो जो मेरै ओछ्यानको एउटा टुक्रो समातेर सुत्ने गरेकी छे । अर्थात् यसरी भने पनि भो म उसको त्यही लोग्ने हुँ जो उसैको ओछ्यानको एउटा चोक्टो ओगटेर सुत्ने गरेको छु । सत्ते, रातभर यौटै ओछ्यान साझेदारी गरेर सुत्ने गरेको भए तापनि मैले कहिल्यै उसलाई स्पर्श गरिनँ । बेलाबेलामा मेरो इतिहासले मभित्रको पुरुष छताछुल्ल भएर पोखिएको नबताएको भए म आफूलाई नपुंसक भन्दो हुँ । सुत्ने बेलामा ऊ कोल्टे फेर्दा उसका चुराहरु छमछम बजेको आवाज आउँछ । हामीबीचको एकान्तमा प्रसारित हुने आवाज बस त्यति हो । म सोच्छु कहिलेकाहीँ यदि ऊ चुरा नलाउँदी हो म कुन आवाजले आङ्खनो कर्णालास गर्दो हुँ । अन्यथा सुहागरातपछि कमसे कम यो बन्द कोठामा हामीबीच एकोहोरो संवाद पनि चलेको छैन ।
सुहागरातकै दिन जब कोठाले एकान्त पायो, ऊ र म मात्रै । ऊसले यौटै मात्र संवाद ङ्खयाँकेकी थिई, घुम्टोभित्रैबाट । मधुरो आवाजमा भनी, ऊ कोही हरुलाई नै प्रेम गर्छे । अनि जवाफमा मलाईकेही बोल्नु थियो सायद । ऊ पनि मेरो बोल्ने पालोको प्रतीक्षा गरिरहेकी हुँदी हो । मैले केही रुखो हुनुपर्ने हो सायद । अथवा कमसे कम ऊ कसलाई प्रेम गर्छे यो जान्न खोज्नुपर्ने हो । अथवा केही रिस, केही दिक्दारी, केही पश्चात्ताप, केही पीडा, केही भावुकता आदि पोख्नुपर्ने हो । तर भित्रबाटै केही हलचल भए वा कुनै प्रतिक्रिया आए यस्ता भाव पोखिँदा हुन्, अन्यथा त्यो असररहित हुँदो रहेछ कमसे कम मुहारको भावभङगीमा कुनै परिवर्तन ल्याउनलाई । म चुप लाग्छु, मानौँ म उसको यस वक्तव्यले बिल्कुलै असररहित छु ।
ऊ हरुलाई नै प्रेम गर्छे अर्थात् मलाई गर्दिन । त्यो पनि सुहागरातको दिन भन्छे । कत्रो आँट रु
वास्तवमा म पनि बिहेअघिसम्म अरुलाई नै प्रेम गर्थेँ । एक, दुई, तीन मज्जैले बसेर गन्ती गर्नुपर्छ, कस–कसलाई हृदयदेखि प्रेम गरेँ अनि कस–कसलाई सतहमा रु
र उसलाई रु
उसलाई प्रेम गरेर बिहे गरेको होइन, तर प्रेम गर्नलाई बिहे जरुरै गरेको हो । अपसोस छ यसैमा । जस–जसलाई प्रेम गरेँ ती कसैलाई आङ्खनो बनाउन सकिनँ र जसलाई आङ्खनो बनाएँ उसलाई प्रेम गर्न सक्तिनँ । चाहेरै पनि सक्तिनँ ।
जेजे भएको भए तापनि ऊ मेरी स्वास्नी हो । आङ्खनो नाउँका पछाडि आङ्खनो माइतीको थर र त्यसभन्दा पछाडि मेरै थर टााँस्ने गरेकी छे । रहरले हो वा करले, म छुट्टयाउन सक्तिनँ । यद्यपि मलाई यसैमा आङ्खनो जीत भएको आभास छ । के ऊ यसमा पराजित अनुभव गर्छे रु त्यो उही जानोस् । उसभित्र केकस्ता भावहरु छन्रु ती उहीभित्र छन् । हामी कहिल्यै दोहोरो बोलेका छैनौँ । जब सुहागरातकै दिन उसले अरु कसैसित प्रेम गरेको बताई, म चुपचाप आङ्खनो कोट फुकालेर खाटमा पसारिएँ । निधारभरि टाँसिएका अक्षताहरु उक्काएँ । अनि सिरानी सकभर छेउतिर तानेर पल्टिएँ ।
ऊ पनि त्यत्तिकै पल्टिई सायद । दिनभरिको बिहेको थकाइले शरीरमा ऊर्जा रित्तिएको थियो । अझ म त्यस रात त्यस्तो लोग्ने साबित भइरहेको थिएँ । जो सुहागरातको दिन आङ्खनै स्वास्नीको मुखबाट उसको प्रेमी भएको प्रसङग सुनिरहेको थिएँ । योभन्दा अरु बिडम्बना केही होला रु अनि यस्तोमा कहाँबाट आओस् शरीरमा ऊर्जा रु
भोलिपल्ट मैले ओछयान छाड्नुअगावै उसले टेबलमा चिया ल्याएर राखिदिई । चुराहरु छमछम बजिरहेकाले ब्यूँझेँ । अनुहारसम्म आँखा डो¥याउन सकिनँ, चाहिनँ भन्नु चाहिँ ठीक हुन्छ क्यार रु
ऊ भिन्न वस्त्रमा थिई । गाढा रातो सुतीको धोतीमा पहेँलो पोतेको झुप्पो केही सुहाउँदिलो देखिन्थ्यो । बिहान उठेर लुगा फृर्न भ्याइछ ।
त्यसपछिका दिनमा पनि ऊ कि त बिहानै म नब्यूँझिई लुगा फेर्थी कि त कोठामा मेरो उपस्थिति भएको अवस्थामा हातभरि फेर्ने लुगा बोकेर पुलुक्क मतिर हेर्थी याचक दृष्टिले । मैले बुझनुपथ्र्यो, ऊ लुगा फेर्न चाहन्छे । जुरुक्क उठेर बाहिर गइदिन्थेँ ।
मलाईपनि केही स्वतन्त्रता थियो । म विवाहित थिएँ, घर कुनै पनि बेला पुग्न सक्थेँ । या नपुगे पनि हुन्थ्यो । कतै ढिलो भए घरमा एक कल फोन हानिदिन्थेँ । फोन प्रायः आमाले नै उठाउनुहुन्थ्यो । कतै जान परे आमा–बुबा वा बहिनीलाई जानकारी दिन्थेँ । उसलाई भनिराख्नुपर्ने आवश्यकता थिएन । ऊ सोध्दिनथी पनि । कतै रात बिताएर भोलिपल्ट आउँदा पनि कुनै प्रश्नोत्तर हुने सम्भावना थिएन ।’
पबतजबपष् उबतचब कगदष्ल
तलब थापेर ल्याएको दिन केही पैसा आमालाई दिन्थेँ । धेरैपल्ट आमालाई पैसा दिँदै गर्दाको दृश्य उसले देखेकी थिई । अझ यसो पनि भन्न सकिन्छ उसको उपस्थितिको मौका छोपेर म आमालाई पैसा दिने गर्थेँ । ऊ देखेर पनि नदेखेझैँ गर्थी । अहँ मैले उसलाई एक पैसा पनि कहिल्यै दिइनँ । ऊ आङ्खनो व्यक्तिगत खर्च केले र्टार्छे त्यो उही जानोस् । सके माइतमा माग्दी हो वा ‘अरु’ कसैले चलाइराखेको हुँदो हो ।
बिहे भएदेखि न मैले उसलाई एक रुपियाँ दिएको छु न कुनै जिन्सी सामान नै किनिदिएको छु । यो कुरामा भने म आफैप्रति गर्व गर्छु ।
थाहा छ, ऊ मेरी स्वास्नी हो । स्वास्नीको अधिकारले नै ऊ अहिले मेरो मोटरबाइकका पछाडि बसेर मेरै कुनै परिचितको बिहेभोज खान जाँदै छे । निःसन्देह त्यो पार्टी ऊ मेरी स्वास्नी कहलाउँछे । त्यत्रो भव्य पार्टीमा ऊ मेरी स्वास्नीको नाउँबाट परिचित भइसकेपछि कुनै बखत आइमाईको हूलमा आबद्ध हुन पुग्छे । म पनि हातमा मदिराको गिलास समाउँदै पुषहरुको समूहमा आबद्ध हुन्छु । अनि घरिघरि आङ्खना नशालुर लट्ठिएका आँखाहरुलाई सुटुक्क त्यहाँबाट उखेलेर कतै पर केही हाँस्दै बाँकी आइमाईहरुका कुरा सुनिरहेकी उसतर्फ लैजान्छु । अनि आत्मसन्तोषको एउटा गहिरो श्वास तान्छु, यो सोच्तै कि जो ती आइमाईहरुको कुरा सुनेर मन्दमन्द मुस्कुराइरहेकी छ– त्यो मेरी स्वास्नी हो, जो आङ्खनो नाउँको पुछारमा मेरो थर टाँसेर हिँड्छे ।
पार्टी सकिन्छ । अथवा पार्टी नसकिए पनि हाम्रो निर्धारित समय सकिन्छ । हाम्रो के भन्नु – मेरो ।
उसको त मसित के छ र रु म ऊतिर बढेर एकपल्ट उसलाई पुलुक्क हेर्छु र मोटरबाइक भएतिर लम्किन्छु । आँखैबाट सबथोक बुझ्नु पर्छ उसले पनि । मैलेजस्तै ।
बिदावारी भएर ऊ पुनः मेरो मोटरबाइकअगाडि आएर बस्छे, उसैगरी । म मातेको सुरमा मोटरबाइक लडाउँछु कि जस्तै गर्छु तैपनि उसलाई कुनै आपत्ति छैन । मेरो मोटरबाइकको गतिप्रति वा मेरो मातप्रति ।
अघिल्ला दिनहरुमा पनि म रक्सीले टिल्ल भएर घर पुग्दा आफैँलाई उग्र गन्हाउँथ्यो । तर मैले पिएको रक्सी उसलाई कहिल्यै गन्हाएन । उसले कहिल्यै नाक थुनिन । कहिल्यै छ्यासम्म भनिन ।
बिहेपछि म झनै लापर्बाह भएँ । मैले घर पुगेर खुट्टा र मोजा धुनै छाडिदिएँ । म आफैँलाई मेरो खुट्टा र मोजा उत्पात गन्हाउँथ्यो । तर मेरो गन्दे मोजा र खुट्टा उसलाई कहिल्यै गन्हाएन । ऊ सधैँ उसैगरी मेरो ओछ्यानको एक टुक्रा ओगटेर सुति नै रही, बिनाकुनै प्रतिवाद ।
तर उसलाई प्रतिवाद गर्ने ठाउँ नै कहाँ छ र रु जहाँ कुनै संवाद छैन त्यहाँ केको प्रतिवाद रु
अचेल आमाबुबा नातिनातिनाको मुख हेर्न मन लाग्यो भनेर हैरान गर्न थाल्नुभएको छ । सुरुसुरुमा भइहाल्छ नि बिस्तारै भनेर टार्दै आइरहेको थिएँ । तर पछिपछि दिनहुँजसो किचकिच सुन्नुपर्ने भयो । अति भएपछि एक दिन यसै भन्दिएँ– ‘मैले पाउने होइन क्यारे, बुहारीले हो, उसैलाई भन्नू ।’
त्यसपछि उहाँहरु चुप लाग्नुभयो । तर केही दिनपछि उसैगरी फेरि कचकच सुरु हुन थाल्यो, अलिक भिन्न भाषामा । भन्नुभयो– ‘छोराछोरीको मुखसम्म हेर्न मन छैन तँलाई रु’
एकछिन फिस्स हाँसेँ म । हाँसो उठ्ने नै कुरा थिएन त यो रु जसले आजसम्म स्वास्नीको मुख ठीकसँग हेर्न सकेको छैन त्यसले छोराछोरीको मुख के हेरोस् रु खैर साँचो बोल्नु थिएन, उही रटेकै आवाजमा भनेँ– ‘बुहारीलाई भन्नुहोस् ।’ अनि फटाफट त्यहाँबाट उम्केँ ।
एक रात अनायासै लाग्यो कतै स्वास्नीसित बोलेर यो कुरा किन नराखूँ रु अर्थात् सन्तानप्राप्तिको प्रसङग । त्यो रात झन्नै बोलेको । के ऊ आङ्खनो प्रेमीसित भनेर मेरा आमाबाबुका निम्ति एउटा गर्भ राखिदिन सक्तिन रु तर मैले उसलाई त्यो सल्लाह दिने हिम्मत गर्न सकिनँ ।
तीन दिनपछि चेतना आयो, आङ्खनो मनभित्र उब्जेको त्यो प्रश्नको स्तरका बारेमा । अनि फेरि आफैँसित हाँसेँ । त्यो पनि एउटा कुनै व्यस्त सडकमा मोटरबाइक पार्किङ गरेर जाँदै गरेको अवस्थामा । राति घर फर्केपछि ओछयानमा पल्टेर सिलिङतिर हेर्दै दिनभरका घटना सम्झिँदै थिएँ, दिउँसो एक्लै हाँसेको प्रसङग सम्झेर फेरि हाँसो उठेछ । त्यस बखत पनि मज्जैले हाँसेँ म । भित्तातिर स्वास्नी सुतिसकेकी थिई । सायद ऊ निदाएकी नहुँदी हो । म हाँसेको चाल पाएकी हुँदी हो तर ऊ प्रतिक्रियाविहीन थिई, जस्तो अरु बेला हुने गर्थी ।
बाँकी रह्यो सन्तानप्राप्तिको कुरा । जसलाई मेरा आमाबाबुले यसरी पटकपटक राख्नुभएको थियो, मानौ उहाँहरुको सम्पूर्ण जीवनको अभीष्ट होस् त्यो ।
म चाहन्छु, जब कुनै दिन म आङ्खनो कोठाको ढोका खोलेर भित्र छिर्नेछु, तब मेरी स्वास्नी मेरा सामुन्ने दोस्रो निजी संवाद लिएर उपस्थित हुनेछे र भन्नेछे– ‘आजसम्म म जसलाई प्रेम गरिरहेकी थिएँ अब गर्दिनँ । विगतलाई विर्सजन गर्न चाहन्छु । अबउप्रान्त मेरो सम्पूर्ण प्रेम तपाईँमा समर्पित छ ।’ अनि म उसका सामुन्ने ऊसित आँखा जुधाउँदै भन्न सक्नेछु– ‘म पनि तिमीलाई हृदयदेखि नै प्रेम गर्नेछु ।’
त्यसपछि मात्र म सायद आङ्खनी स्वास्नी प्राप्त गरुँला, सन्तानको चाहना गरुँला ।
(सुविन भट्टराईको कथा संग्रह कथाकी पात्र भित्र समेटिएको कथा औडाह )