उभिरहेका पहाडहरूले
मलाई ऊजस्तै उभिरहन सिकाएन
पहाड आफैं कमजोर बनेर
पहिरो झरिरहेछ
फैलिएको हरियो चियाबारीले पनि
मलाई तन्नेरी हुन सिकाएन
चियाबारी आफैं
डेढ शताब्दी बूढो जीवन बाँचिरहेछ
म यही देशको नागरिक
जीवनका सबै ऊर्जा
यही माटोमा मिसिएर
धुलो बनेका छन्
रित्तिएका छन् रहरहरू
चुहिएका छन् पसिना
यहींको मरुभूमिजस्तै
माटो र बालुवामा
छैन गुनासो
कुनै पश्चाताप पनि छैन
एउटा भूगोलमा फैलिएको
मेरो स्वाधीन देशसँग
आरोप लगाउँदिन र गुनासो पनि गर्दिनँ
कमजोर बरु मेरो भाग्य हो
दोष भाग्यलाई दिन्छु
देशको सत्ताजस्तै
सत्ताले कहिल्यै सिकाएन
मलाई बलियो नागरिक बन्न
सत्ता आफैं सदियौ देखि
पराधीन सिंढी झर्दै र उक्लँदै
व्यर्थको समय व्यतीत गरिरहेछ ।
(श्रावण २२, २०७३ कान्तिपुर दैनिकबाट)