सुजन तिमसिना 
इलाम। इलामको साविक श्रीअन्तु गाविसमा रहेको पर्यटकीयस्थल गुफापतल पूर्वाधारविहिन भएको छ । दैनिक भारत भएर आउने पर्यटकले खचाखच हुने यस क्षेत्रमा नेपालतर्फ पूर्वाधार विकास नहुदा भारतलाई फाइदा पुगेको छ । भारतले यस क्षेत्रमा पुग्नका लागि पक्कि सडक निर्माण गरेपनि नेपालतर्फबाट त्यहाँ पुग्ने सडक निर्माण भएको छैन । सडक निर्माण नहुदा नेपाली पर्यटक समेत भारत भएर त्यहाँ पुग्ने गरेका छन् । हिमश्रङ्खला, सर्योदय, सुर्यास्त, नेपाल, भारतका विभिन्न स्थानको दृश्यावलोकन गर्न सकिने गुफापतालको पर्यटन विकासका लागि स्थानीयबासीले सात रोपनी जग्गा खरिद गरेका छन् । एक लाख १० हजारमा जग्गा खरिद गरेपनि खानेपानी, दृश्यावलोकनका लागि टावर, सडक, होटलहरु अभाव रहेको श्रीअन्तु गाविसका पूर्व अध्यक्ष हर्कधन तामाङ्गले बताए । भारतको दार्जिलिङ्ग घुम्न जाने पर्यटक गुफापताल समेत घुमेर फर्कने गरेका छन् । भारतले सीमावर्ती क्षेत्रमा सडक, खानेपानी र बजार विस्तारको समेत काम गरिरहेको छ ।
दैनिक आउने पर्यटकलाई प्रवेश शुल्क लिएर आम्दानी गर्न सकिने भएपनि बजेट अभावले विकास निर्माणका काम नसकिएको गुफापताल पर्यटन विकास समितिका सदस्य बिबि राईले बताए । लोपउन्मुख लाप्चा जातिका लामा गुफा बस्ने स्थान रहेकाले यस क्षेत्रलाई गुफापताल भनिएको हो । एकै डाँडाबाट चार घण्टासम्म नेपाल र भारतका सहरको अवलोकन गर्न सकिने भएकाले यहाँ पर्यटकको भिड लाग्ने गरेको पूर्व गाविस अध्यक्ष हर्कधन तामाङ्गले बताए । लोपउन्मुख काँडे भ्याकुर, सुनगोहोरो र विभिन्न प्रजातीका चारचुरुङ्गि पाइने गरेकाले यहाँ विभिन्न देशबाट अनुसंन्धान गर्न विद्यार्थी र प्राध्यापक आउने गरेका छन् ।
गुफापतालमा पर्यटन प्रवद्र्धनका लागि स्थानीयबासीले सात रोपनी जग्गामा दुई कोठे पक्कि भवन,चर्पी निर्माण गरेका छन् । यस स्थानमा कात्तिक, मंसिर, पुष, फागुन, चैत्र, बैशाख र जेठ महिनामा पर्यटक घुम्न र पिकनिक खान आउने गरेका छन् । गुफापताल नेपाल, भारत र भुटानका कलाकर्मीका लागि पनि प्यारो रहेको छ । यहाँ तीनै देशका फिल्म सुटिङ्ग युनिट आउने गरेका छन् । सिजनमा भारतीय फिल्म सुटिङ्ग टोलि मात्र दिनको दुई वटासम्म यहाँ आउने गरेका छन् । बिषेशगरि भारतीय फिल्म निर्माता निर्देशक यस स्थानहरुलाई फिल्म सुटिङ्ग गर्ने ठाउँका रुपमा विकास गर्नुपर्ने बताउँछन् ।
भारतको मुम्बईबाट खैजा फिल्म सुटिङ्गका लागि आएका निर्देशक शिव साहानीले आफुलाई गुफापताल धर्तीको स्वर्ग जस्तो लागेको बताउँछन् । नेपाली फिल्मको सुटिङ्ग युनिट पनि यहाँ पुग्ने गरेको छ । अन्तरिक र बाह्य पर्यटकले खचाखच हुने गुफापतालमा पर्यटन पूर्वाधार निर्माणका लागि पर्यटन बोर्ड,पर्यटन मन्त्रालय, राष्ट्रिय योजना आयोग, जिल्ला विकास, गाउँ विकास र संघसंस्थासँग माग गरिएपनि अहिलेसम्म सहयोग नजुटेको पर्यटन विकास समितिको भनाइ छ ।