Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

कोठामै ढाका बुनेर आत्मनिर्भर बन्दै महिला

कोठामै ढाका बुनेर आत्मनिर्भर बन्दै महिला

  • लोकल सन्देश
  • बिहिबार, बैशाख २८ २०७४


कोठामै ढाका बुनेर आत्मनिर्भर बन्दै महिला

सन्देश सुब्बा इङ्वा
पान्थर । पान्थर नांगीन पाँच पिपलबोटेकी १९ वर्षिया चाँदनी तावाहाङ् हाल फेदेन बजारको अदालत छेउमा डेरा गरेर बस्छिन् । फेदेनको निलकण्ठ इङ्लिस बोर्डिङ् स्कुलबाट गत वर्ष मात्र एसएलसी परिक्षा लेखेकी चाँदनी फेदेन बस्न थालेको पाँच वर्ष भयो । उ जस्तै डेरा बसेर कलेज पढ्ने चाँदनीका साथीहरु कोठाभाडा, पढाई खर्च लगायतका सम्पूर्ण खर्च घरबाट ल्याउँछन् । तर चाँदनीले भने कोठामै ढाका बुनेर हुने आम्दानीले यी सबै खर्च धान्दै आएका छन् । ‘सारोगाह्रो पर्दा बाहेक अन्य कामको लागि अहिलेसम्म घरमा पैशा माँग्नु परेको छैन ।’ उनले भनिन् ‘बरु समय–समयमा घरखर्च दिने गरेको छु ।’ वि.सं.२०६० सालमा युनिसेफको सहयोगमा जिल्लास्थित एक गैर सरकारी संस्थाले सञ्चालन गरेको ढाका बुन्ने तालिममा सहभागि भएर सिकेको सिपले चाँदनीलाई आफ्नो आवश्यक्ता आफै पूरा गर्न सक्ने बनाएको हो । तीन वर्ष अघि त्यहि संस्थाले निशुल्क उपलब्ध गराएको ढाका बुन्ने सेट कोठामै राखेर ढाका बुन्न थालेकी चाँदनीले स्कुल फि, गाँस, बास र कपासको व्यवस्थापन गरेर केहि रकम जोहो समेत गर्न भ्याएकी छन् ।
चाँदनी जस्तै आफू बसेको कोठामै ढाका बुनेर आत्मनिर्भर बन्ने महिलाहरुको संख्या ठूलो छ फेदेनमा । घरेलु तथा साना उद्योग विकास समिती लगायतका अन्य सरकारी तथा गैरसरकारी संघ–संस्थाहरुले दिने तालिमबाट सिकेको ढाका बुन्ने सिपले उनीहरु आत्मनिर्भर बन्दै गएका हुन् । तेह्रथुमको तम्फुला स्थायी घर भएकी ४० वर्षिया मुना लुहागुन १४ वर्षअघि रोजीरोटिको सिलसिलामा श्रीमान संगै पान्थरको फेदेन आइन । उनका श्रीमान फोटो स्टुडियोमा काम गर्थे । मुनाले भने गृहिणीको काम संगै ढाका बुन्ने सिप सिक्न थालिन् । वि.सं.२०६४ सालमा उनको श्रीमान अर्कै केटि लिएर वेपत्ता भए । दुई छोरी र एक छोरालाई हुर्काउँने, बढाउँने र पढाउँने जिम्मा मुनाको काँधमा आयो । त्यसपछि उनले कोठामै ढाका बुन्ने सेट जोडेर ढाका बुन्न थालिन् । यँहि सिपले नै आफू सहित चार जनाको पारिवारिक ढुङ्गालाई सयर गरेर यहाँसम्म पु¥याएको मुना बताउँछिन् ।
अहिले मुना संगै उनका २० वर्षिया छोरी राधिका र १२ वर्षकी जानुका पनि ढाका बुन्ने सिपमा निपुण भएका छन् । आमा–छोरी तीनजनाले बुनेको ढाकाबाट मासिक २५ हजारभन्दा बढिको आम्दानी हुने मुनाले बताईन् । त्यहि आम्दानीले छोराछोरीको पढाइ संगै सम्पूर्ण खर्चबाट बचाएर केहि रकम वचत समेत गर्न सकेको मुना बताउँछिन् । उनीहरु सबै प्रकारका ढाकाका कपडाहरु तयार पार्छन् । धेरैजसो कोठाबाटै बिक्री हुन्छ भने फेदेन बजारको प्रतिमा ढाका–कपडा उद्योग मार्फत पनि बिक्री–वितरण गर्ने गरेको मुना बताउँछिन् । ढाकाका कपडाको माँग अधिक रहेको मुनाको भनाई छ । ‘अन्य जिल्लाबाट पनि माँग हुन्छ माँगलाई थेग्नै सकिएको छैन ।’ उनले भनिन् ।
ढाकाको कपडा सुतिको धागोबाट बुनिन्छ । ढाका बुन्ने सेट जोड्न करीव १५ देखि २० हजारसम्म लाग्ने बताइन्छ । यसबाट बर्कि, साडि, चोली, कुर्ता सुरुवाल, रुमाल लगायतका कपडा बुनिन्छ । बर्कि र चोली जस्ता कपडा तयार पार्न दुई÷तीन दिन लाग्छ भने साडि तयार पार्न झन्डै हप्तादिनसम्म लाग्ने बताइन्छ । वि.सं. २०५६ सालदेखि फिदिम बजारस्थि बुद्धमार्गमा आफू बसेको कोठामै ढाका बुन्दै आएकी पान्थर मेमेङकी २५ वर्षिया अरुणा गुरुङले ढाका बुनेरै महीनामा दश देखि बाह्र हजारसम्म वचत गर्ने गरेको बताइन् । कक्षा आठ सम्म मात्र औपचारिक अध्ययन गरेकी उनको उद्योग दर्ता गर्ने सोच भए पनि विधि र प्रक्रिया थाहा नहुँदा अलमल्लमा परेको बताउँछिन् । ‘गाउँ गाउँमा पुगी आफू जस्तै महिलाहरुलाई यससम्बन्धि तालिम दिने विचार छ तर त्यसको लागि कहाँ जानुपर्छ ? के गर्नुपर्छ ? मलाई केहि थाहा छैन’ उनले भनिन् । कटिङ् सिक्ने सोच लिएर गाउँबाट सदरमुकाम आएकी थिइन उनी । तर आफू जस्तै महीलाहरुले ढाका बुनेको देखेर यसतर्फ आकर्षित भएकी उनले तीन महीना ढाका बुन्ने तालिम लिएकी थिइन् । त्यतिबेला आफू संगै तालिम लिएका साथीहरुको खुबै सम्झना आउँछ रे उनलाई । आफूले गरेको कामप्रति गर्व गर्दै उनले सन्तुष्टि व्यक्त गरिन् ‘धागोले बुट्टा भर्दै ढाका बुन्नुको आनन्द नै छुट्टै छ ।’
त्यस्तै फेदेन बजारको सुर्योदय मार्गको एक घरमा डेरा गरी बस्ने मेमेङकै सरस्वती राईले पनि विगत पाँच वर्षदेखि कोठामै ढाका बुन्ने सेट जोडेर ढाका बुन्दै आएकी छन् । उनी पनि यो कामबाट अहिलेसम्म सन्तुष्ट रहेको बताउँछिन् । चाँदनी, मुना, अरुणा र सरस्वती जस्तै कोठामै ढाका बुनेर आत्मनिर्भर बन्ने महिलाहरुको संख्या बढ्दै गएको छ । यता प्राइभेट उद्योग दर्ता गरेर ढाका–कपडाको उद्योग सञ्चालन गर्नेहरुको संख्या समेत बढ्दै गएको घरेलु तथा साना उद्योग विकास समिती पान्थरले जनाएको छ । ढाका कपडाको साना उद्योग दर्ता गर्न झन्झटिलो भनए पनि कम चेतनास्तर भएका महीलाहरु यसबारे बेखबर रहेको घरेलु बताउँछ । उद्योग दर्ता गरी सञ्चालन गरेमा भारी छुटमा यसका विभिन्न सामग्रीहरु घरेलुले उपलब्ध गराउँने गरेको पनि घरेलुले जनाएको छ । हाल फेदेन बजारमा दुई दर्जनभन्दा वढि ढाका–कपडाको साना किसिमको उद्योग सञ्चालनमा छ । दह्रो र न्यानो हुने भएकोले ढाकाका कपडाको माँग अधिक हुने व्यवसायीहरु बताउँछन् । एक मिटरको ६ देखि ७ सय सम्ममा बिक्री हुने पान्थरमा निर्मित ढाकाका कपडा पूर्वको विभिन्न बजारहरु संगै राजधानी र भातरको सिक्किम–दार्जिलिङ साथै विदेशमा समेत आयात हुने गरेको फेदेन बजारस्थित प्रतिमा ढाका–कपडा उद्योगका प्रोपाइटर प्रतिमा पौडेल (राना) ले बताइन् । जिल्ला बाहिरबाट आउने र जिल्लाबाहिर जानेहरुले सम्झना र कोशेलीको रुपमा पनि ढाकाका कपडा खरिद गरेर लाने गरेको रानाको भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार