Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

वैदेशिक रोजगारबाट फर्किएकालाई सूर्योदय नगरपालिकामा बीउपूँजी अनुदान

वैदेशिक रोजगारबाट फर्किएकालाई सूर्योदय नगरपालिकामा बीउपूँजी अनुदान

  • सन्देश सम्वाददाता
  • बुधबार, जेष्ठ ६ २०८३


वैदेशिक रोजगारबाट फर्किएकालाई सूर्योदय नगरपालिकामा बीउपूँजी अनुदान

इलाम :  सूर्योदय नगरपालिका ले वैदेशिक रोजगारीबाट फर्किएका नागरिकलाई लक्षित गर्दै पुनः एकीकरण परियोजना (रेमी) अन्तर्गत चक्रीय बीउपूँजी अनुदान कार्यक्रम सञ्चालन गर्ने भएको छ। आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार ५० प्रतिशत लागत साझेदारीमा सञ्चालन हुने उक्त कार्यक्रममार्फत स्वदेश फर्किएका युवालाई उद्यमशीलता र स्वरोजगारतर्फ आकर्षित गर्ने लक्ष्य राखिएको नगरपालिकाले जनाएको छ।

नगरपालिकाको परियोजना कार्यान्वयन समितिको जेठ ५ गते बसेको बैठकले वडा नं ८ र वडा नं। १२ मा स्थायी बसोबास गर्दै आएका वैदेशिक रोजगारबाट फर्किएका नागरिकलाई कार्यक्रमका लागि आवेदन दिन आह्वान गरेको हो। उद्यमशीलता विकास तालिम प्राप्त गरी व्यवसाय सञ्चालन वा विस्तार गर्न इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र सम्बन्धित वडा कार्यालय वा नगर कार्यपालिकाको कार्यालयमा निवेदन दिन सक्नेछन्।

कार्यक्रममा सहभागी हुन आवेदक वडा नं- ८ वा १२ का स्थायी बासिन्दा हुनुपर्ने, वैदेशिक रोजगारबाट फर्किएको अवधि आठ वर्ष ननाघेको हुनुपर्ने तथा उमेर २५ देखि ५० वर्षभित्र हुनुपर्ने जनाइएको छ। त्यस्तै, नगरपालिका क्षेत्रभित्र व्यवसाय सञ्चालन गर्ने र उद्यमशीलता विकास तालिम लिएको हुनुपर्ने सर्त पनि राखिएको छ। रोजगार सेवा केन्द्रको लाभग्राही सूचीमा सूचीकृत व्यक्तिलाई प्राथमिकता दिइने भए पनि व्यवसाय विस्तार गर्नेका हकमा यो व्यवस्था अनिवार्य नहुने बताइएको छ।

आवेदनका साथ नेपाली नागरिकताको प्रतिलिपि, राहदानी र अन्तिम आगमन छापको प्रतिलिपि, व्यवसाय योजना, उद्यमशीलता तालिम प्रमाणपत्र, करचुक्ता प्रमाणपत्र, व्यवसाय दर्ता प्रमाणपत्र तथा लाभग्राही सूचीमा सूचीकृत भएको प्रमाणपत्र पेश गर्नुपर्नेछ। नगरपालिकाले यस कार्यक्रमले वैदेशिक रोजगारबाट फर्किएका नागरिकलाई स्वदेशमै उद्यम स्थापना गर्न प्रेरित गर्नुका साथै स्थानीय आर्थिक गतिविधिलाई थप सशक्त बनाउने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार