विराटनगर । चिया उद्योग मजदुर र उत्पादकबीच लामो समयदेखि चलिरहेको पारिश्रमिक विवाद सहमतिमा टुंगिएको छ । नेपाल चिया उत्पादक संघ र विभिन्न ट्रेड युनियनबीच भएको वार्ता पछि सोमबार सम्झौता भएको हो । सम्झौताअनुसार चिया बगानमा कार्यरत मजदुरलाई हाल पाउँदै आएको न्यूनतम पारिश्रमिकमा वृद्धि गरिएको छ ।
अब दैनिक ज्याला दर रु २८६.९२ बाट बढाएर रु। ३९२.०६ निर्धारण गरिएको छ । मासिक आधारमा यो रकम रु ७,५७८ बाट बढेर रु १०,१९२ कायम हुनेछ । यसैगरी, सहमति बमोजिम उद्योगमा कार्यरत स्थायी मजदुरलाई मासिक तलब रु ६,४५४ बाट बढाएर रु ८,६४९ कायम हुनेछ । यो निर्णय २०८२ साल श्रावण १ गतेदेखि नै लागू हुने भएको छ ।
नेपाल चिया उत्पादक संघका संयोजक जयप्रकाश शर्मा, सदस्य विनय गोयल, भानु पोखरेल, मनोज साह, राजेन्द्रकुमार राजबंशी लगायत युनियन प्रतिनिधिहरूले सहमति पत्रमा हस्ताक्षर गरेका छन् । सहमति कार्यान्वयनमा ढिलाइ नगरी तुरुन्त लागू गर्ने प्रतिबद्धता चिया उत्पादक संघ र मजदुर संघ दुवैले जनाएका छन् ।
