फिक्कल । कन्काई नगरपालिकालाई फराकिलो अन्तरले हराउँदै डिफेन्डिङ च्याम्पियन मेचीनगर नगरपालिका करफोकमा जारी दोश्रो सुर्योदय मेयरकपको फाइनल प्रवेश गरेकोछ । मेचीनगरले कन्काईलाई ७–० फराकिलो गोल अन्तरले हरायो । मेचीनगरको जितमा खमिर गिल्सन कन्दङवाले ह्रयाट्रिक गरे । त्यसैगरी एन्जल गुरुङ, पुजन उपरकोटी, अशोक खवास र पुजन राईले एक÷एक गोल गरे ।
खेलको ८ औ मिनेटमा निशान लिम्बुको क्रसमा जाली चुमाउदै खमिर गिल्सनले सुरुवाती अग्रता दिलाएका थिए । २९ औ मिनेटमा गोलरक्षकलाई बिट गराउदै एन्जल गुरुङले अग्रता २–० बनाए । इन्जुरी समयमा निशानकै क्रसमा खमिरले व्यक्तिगत दोश्रो गोल गरेपछि मेचीनगरले पहिलो हाफमा ३ गोलको अग्रता बनाएको थियो । दोश्रो हाफमा आक्रमक बनेको मेचीनगरका लागी ४६ औ मिनेटमा खमिर गिल्सनले ह्रयाट्रिक पुरा गरे । ५५ औ मिनेटमा पुजन उपरकोटीले अग्रता ५–० बनाए । ६३ औ मिनेटमा अतिरिक्त खेलाडीको रुपमा मैदान प्रवेश गरेका पुजन राईले गोल गरे ।
७८ औ मिनेटमा अशोक खवासले गोल गरेपछि ७–० गोल अन्तरको फराकिलो हार व्यर्होदै कन्काई सेमीफाइनलबाटै बाहिरियो । खेलमा मेचीनगरले दबाब सृजना गरेपछि कन्काई निरिह बनेको थियो । अधिकाँश समय पोष्ट आक्रमण बुनेको मेचीनगरको प्रहार रोक्न कन्काईका गोलरक्षक मनिष मगर व्यस्त भएका थिए ।
हिलाम्मे खेल मैदानमा गोल गर्ने केही राम्रा अवसरहरु मेचीनगरले गुमाएको थियो । १९ औ मिनेटमा निशेन लिम्बुको क्रसमा पाएको सुन्दर मौका हिलो कारण निशान लिम्बुले सदुपयोग गर्न सकेनन् । ४० औ मिनेटमा अशोक खवासको क्रसमा खमिर गिल्सको हेडर बाहिरिएको थियो । कन्काईको कमजोर प्रर्दशन भएपछि मेचीनगरका कप्तान तथा गोलरक्षक दिनेश थापा मगर निक्कै फुसदिलो देखिन्थे । जितसंगै मेचीनगरले कम्तीमा १ लाख रुपैया सुरक्षित गरेको छ ।
मेचीनगरले माई नगरपालिकालाई ३–० ले हराउँदै सेमीफाइनल पुगेको थियो भने कन्काईले इलाम नगरपालिकालाई २–० ले हराएको थियो । उपाधीको लागी मेचीनगरले आगामी जेठ १८ गते देउमाई नगरपालिकाको सामना गर्नेछ । देउमाई पहिलो सेमीफाइनलमा शिवसतासीलाई ४–२ गोल अन्तरले हराउँदै फाइनलमा स्थान सुरक्षित गरिसकेकोछ । प्रतियोगिताको बिजेताले नगद २ लाख र उपविजेताले नगद १ लाख रुपैया प्राप्त गर्नेछ । गत संस्करणमा मेचीनगरले आयोजकलाई हराउदै उपाधी जितेको थियो ।