इलाम । ओलम्पिक छनौट दोश्रो चरणको आफनो पहिलो खेलमा नेपालले बलियो प्रतिद्धन्द्धी म्यानमारको सामना गर्दैछ । म्यानमारको मन्डलारथिरी रंगशालामा नेपाली समय अनुसार साँझ ५ः१५ बजे खेल सुरु हुनेछ । यी दुई टोलीबीच पछिल्लो ६ महिनामा चौंथो पटक प्रतिस्पर्धा हुन लागेको हो । समुह ‘ए’ को दोश्रो खेलमा बलियो प्रतिद्धन्द्धी म्यानमार विरुद्ध पहिलो चरणमा निकालेको नतिजालाई निरन्तरता दिने नेपाली टिमको रणनिती छ । गत नोभेम्बरमा म्यानमारमा सम्पन्न पहिलो चरणमा सावित्रा भण्डारीको पेनाल्टी गोलको मद्धतमा नेपालले आयोजक टोली विरुद्ध १–१ गोलको बराबरी खेलको थियो । तर फेव्रुअरीमा भारतमा सम्पन्न हिरो महिला गोल्डकपको समुह चरणमा ३–० र फाइलनमा ३–१ गोल अन्तरले नेपाल पराजित बनेको थियो ।
आयोजक टोली म्यानमार विरुद्ध पछिल्लो नतिजा बदल्ने लक्ष्यका साथ नेपाली टोली मैदान उत्र्नेछ । आजको खेलमा जित निकाल्न सके दुबै टोली तेस्रो चरण प्रवेशका लागी सहज हुनेछ । समूहको शीर्ष स्थानमा रहने टोली अर्को चरण प्रवेश गर्ने भएकाले दुवै टिमले आजको खेललाई महत्वका साथ हेरेका छन । म्यानमार प्रस्थान गर्नुअघि नेपालका मुख्य प्रशिक्षक हरि खड्काले टोलीअनुसार रणनिती बनाउने बताएका थिए । उनले म्यानमार समूहको सवैभन्दा बलियो टोली रहेकाले रक्षात्मक खेल प्रदर्शन गर्ने बताएका थिए । नेपाल फिफा वरियतामा पछिल्लो ५ स्थान सुधार गर्दै १ सय ३ औं स्थानमा छ भने म्यानमार ४४ औं स्थानमा यथावत छ ।
बुधबार म्यानमारसँग खेल्ने नेपालले शनिबार ( ६ अप्रिल) भारत र मंगलबार (९ अप्रिल) इन्डोनेसियाको सामना गर्नेछ । यसअघि भएको पहिलो चरणमा नेपालले म्यानमार, भारत र बंगलादेशसँग १–१ को बराबरी खेलेको थियो । नेपालको समुहमा रहेका ३ वटै टोली बलिया रहेका छन ।