एजेन्सी । पेले कहिल्यै प्रशिक्षक बनेनन् । विश्व फुटबलका अर्का हस्ती डिएगो म्याराडोना कहिल्यै राम्रो प्रशिक्षक बन्न सकेनन् । खेलाडी जीवनमा सर्वकालीन महान् फुटबलरको छवि बनाएका म्याराडोना प्रशिक्षकको भूमिकामा औसत पनि रहेनन् ।
लगातार असफलका बाबजुद पनि म्याराडोना यही पेसामा निरन्तर छन् र राम्रो प्रशिक्षक बन्ने प्रयासमा छन् ।
फुटबलमा एउटा उखान नै जस्तो छ, ‘महान् फुटबलर राम्रो प्रशिक्षक वा व्यवस्थापक हुन सक्दैन ।’ तर फ्रान्सेली स्टार जिनेदिन जिदानले यसलाई गलत साबित गरिदिएका छन् । विश्वकप, युरोपियन कप, युरोपियन च्याम्पियन्स लिग, क्लब विश्वकप, इटालीयन सिरी ‘ए’, स्पेनिस लिगको उपाधिले जिदानलाई आधुनिक फुटबलका महान् फुटबलर बनाएको थियो ।
रियल म्याड्रिडले १२ औं पटक च्याम्पियन्स लिग जितेपछि उनी महान् प्रशिक्षकको सूचीमा समेत उभिएका छन् ।
डेढ वर्ष अगाडिसम्म जिदान रियल म्याड्रिडको ‘बी’ टिमको प्रशिक्षक थिए । च्याम्पियन्स लिगमा रियल नकआउट चरणमा प्रवेश गरिसकेको थियो । स्पेनिस लिगमा भने टोलीको प्रदर्शन त्यत्ति गतिलो हुन सकेको थिएन ।
रियलको व्यवस्थापन आफ्नो क्लब हावी हुनुमा उपलब्धि ठान्छ । तर रियलको प्रमुख प्रतिद्वन्द्वी बार्सिलोनाले स्पेनिस लिगमा मात्र नभई युरोपेली क्लब फुटबलमा एकछत्र राज जमाइरहेको थियो । त्यस्तोमा रियलले राफा बेनिटेजलाई बर्खास्त गरिदियो ।
जिदान प्रशिक्षकको भूमिकामा खासै परिचित नाम थिएनन् । रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले भने जिदानलाई पूरा विश्वास गर्दै आएका थिए ।
जिदानलाई खेलाडी जीवनमा कीर्तिमानी मूल्यमा ‘ग्ल्याकटिको’ मा भित्र्याउने नै पेरेज थिए । यो सन् २००१ को प्रसङ्ग हो । त्यसको अर्को वर्ष रियलले नवौं पटक च्याम्पियन्स लिग जितेको थियो । जिदानले बायर लेभरकुसनसँगको फाइनलमा भलीमा गरेको गोल त च्याम्पियन्स लिगकै उत्कृष्ट गोलमा पर्छ ।
जिदानसँगको साझेदारीलाई पेरेजले उनलाई प्रशिक्षक बनाएर चुल्याए । बेनिटेजलाई बर्खास्त गरेपछि आएका जिदानले रियललाई दुई च्याम्पियन्स लिग तथा युरोपियन सुपर कप, क्लब विश्वकप र स्पेनिस लिगको उपाधि दिलाए ।
लगातार दुई च्याम्पियन्स लिग उपाधि जिताउने जिदान पहिलो प्रशिक्षक प्रशिक्षक हुन् । यसअघि युरोपेली फुटबलको यो प्रमुख प्रतियोगिता युरोपियन कप्सको नाममा थियो र त्यसमा पनि ‘ब्याक टु ब्याक’ जित्ने इटालीका आरोगो साचीमात्र थिए । उनले यो सफलता एसी मिलानलाई १९८९ र १९९० मा दिलाउँदै पाएका थिए ।
खेलाडी छँदा जिदानमा उपाधिको भोक थियो । खेलाडी जीवनपछि पनि जिदान उस्तै रहे । यो पेरेजले बुझेका थिए । त्यसैले जिदानलाई खेलाडी मात्र नभई प्रशिक्षकमा पनि उत्कृष्टतर्फ लम्कायो । जिदानको खुबी भनेको पहिला उनी आफूलाई बुझ्न समय लिन्छन् ।
त्यसपछि सबै खेलाडीको खुबीलाई नियाल्छन् । जसले जति दिन सक्छ त्यतिमात्र आशा गर्छन् । यसले गर्दा खेलाडीमाथि एक्स्ट्रा दबाब नपर्ने उनको बुझाइ छ ।
रियलले ५९ वर्ष भइसकेको थियो च्याम्पियन्स लिग र स्पेनिस लिग एकै पटक नजितेको । जिदानको प्रशिक्षणमा रियलले त्यो पनि पूरा गरेको छ । रियलको उपाधि यात्रालाई हेर्नुपर्छ, यो कुनै चानचुने हो जस्तो लाग्दैन । खेलाडी खरिद गर्न नपाउने प्रतिबन्धमा रियल रहेको छ । भएकै खेलाडीको भरमा रियलले एकै सिजनमा ३ उपाधि उठाएको हो ।
त्यसको प्रमुख एउटा कारण जिदान रहे । क्रिस्टियानो रोनाल्डो अहिले पनि रियलको प्रमुख खेलाडी हुन् । तर उनी विगतको वर्ष जस्तो लयमा देखिएका थिएनन् । त्यसैले जिदानको रणनीति रियलको सफलतामा अचूक बनेको थियो ।
आएको ६ महिनामै रियललाई च्याम्पियन्स लिग जिताउँदा आलोचकहरू जिदानलाई ‘फ्लुक’ पनि भन्थे । अहिले थप ३ सफलताले ती आलोचकका मुख पनि बन्द भएका छन् । पछिल्ला ८ वर्षमा रियलले एक पटक मात्र स्पेनिस लिग जितेको थियो । त्यसमा बार्सिलोनाले ६ पटक लिग जित्दा सबैभन्दा बढी तनाव रियललाई दिएको थियो ।
हालैका वर्षहरूमा रियललाई च्याम्पियन्स लिग जित्न जति सजिलो भएको थियो त्यति नै गारो स्पेनिस लिग भएको थियो । जिदानले बार्सिलोनाको त्यो एकछत्र राज पनि तोडेका छन् ।
जिदानको आगमनमा रियलले फेरि आफ्नो प्रभुत्व देखाउन सुरु गरेको छ । धेरै राम्रो खेलाडी बन्न सक्छन् । तर राम्रा खेलाडी राम्रै प्रशिक्षक नहुन पनि सक्छन् । जिदानको हकमा यो लागू हुँदैन ।