इलाम । मेची नेत्रालय काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरको जितसंगै इलाममा जारी माईभ्याली गोल्डकपको सेमीफाइनल समिकरण पुरा भएको छ । काँकडभिट्टाले बिभागीय टिम त्रिुभवन आर्मी क्लबलाई टाइव्रेकरमा ४–३ गोल अन्तरले पराजित गरेसंगै सेमीफाइनल भिडने टिम पक्का भएको हो । सुरुवाती अग्रता जोगाउन नसक्दा आर्मी पराजित बन्यो । खेलको ५७ औ मिनेटमा आर्मीले अग्रता कायम गरेको थियो । जितेन्द्र कार्कीले ३० यार्ड वक्स बाहिरबाट गरेको प्रहार क्रस बारमा लागेर जाली चुमेपछि आर्मीले अग्रता बनाएको हो । ८५ औ मिनेटमा आर्मी गोल खान पुग्यो । भिक्टर एमोबीलाई आर्मीका खेलाडीले फाउल गरेपछि काँकडभिट्टाले फ्रिकिक पाएको थियो । योगेश गुरुङको फ्रिकिक प्रहारलाई विकाश थुलुङ राईले दायाबार च्याप्दै गोल गरेर खेल बराबरीमा ल्याए ।
निर्धारित ९० मिनेटमा दुबै टिमबाट १–१ गोल भएपछि १५ मिनेट थपिएको थियो । अतिरिक्त समयमा दुवै टिमबाट गोल नभएपछि निर्णय टाइव्रेकरबाट गरिएको हो । टाइव्रेकरमा झापाका विक्रम लिम्बु, योगेश गुरुङ, मिलन राई र विशाल राईले गोल गरे भने भिक्टर एमोवीको प्रहार गोलरक्षक विवश चौधरीले रोकेका थिए । आर्मीका रुपेश क्षेत्री, विकास तामाङ र दिपकुमार लामाको प्रहारले जाली चुम्दा युद्ध शाही र विवेक बस्नेतको प्रहार गोलरक्षक दिनेश थापा मगरले बचाएका थिए । टाइव्रेकरमा जित दिलाएका गोलरक्षक थापा म्यान अफ दि म्याच घोषित भए । उनले नगद १० हजार प्राप्त गरे । दुवै टिमका खेलाडीहरुमा फिनिसिङ नहुँदा खेल टाइव्रेकरसम्म पुग्योे ।
शनिवार क्यामरुनी टोली दाफिन्सले विभागीय टिम नेपाल पुलिस क्लबको सामना गर्नेछ । आर्मीलाई हराएको काँकडभिट्टाले फाइनल प्रवेशका लागी हिमालयन शेर्पाको सामना गर्नेछ । जारी सिजनमा आर्मीले इटहरीमा सम्पन्न मदन भण्डारी गोल्डकपको सेमीफाइनलमा काँकडभिट्टालाई ४–१ ले हराएको थियो । आर्मीले विशाल मेमोरियल गोल्डकप, इटहरी गोल्डकप र झापा गोल्डकपको उपाधी जितेको थियो । भने काँकडभिट्टा खप्तड गोल्डकप र इटहरीमा सेमीफाइनल पुगेको थियो ।