पशुपतिनगर .। इलामको रोङ गाउँपालिका सलकपुरबाट पश्चिम नेपाल जोड्ने मदन भण्डारी चुरे राजमार्गको सर्भे अन्तिम चरणमा पुगेको छ । राजमार्ग कुन क्षेत्रबाट जाने भन्ने विवादले रोकिएको सर्भे चुरे राजमार्गको पुनः काम शुरु भएको हो ।
भारतको दार्जिलिङ्ग जिल्ला स्थित खरबनी छेउको नेपाली भु—भागबाट शुरु हुने राजमार्ग चुरे क्षेत्रको बिचभागबाट पश्चिम नेपालको प्युठान जोड्नेछ । महेन्द्र राजमार्ग भन्दा २५ किलोमिटर उत्तरको चुरे बस्तिको बिचबाट पुर्व पश्चिम जोड्ने चुरे राजमार्गको सर्भे अहिले इलामको चुलाचुली गाउँपालिका र माई नगरपालिकामा भइरहेको छ ।
नेपालको पूर्वी सीमा मेची नदी देखि चुरेभावर र भित्री मधेशका बस्ति छिचोल्दै पश्चिमी सिमा महाकाली नदी जोड्ने राजमार्गको पुर्वी खण्डमा १५ दिन भित्र सर्भे सकिने चुरे राजमार्ग सरोकार समितिका अध्यक्ष वृहस्पति खतिवडाले बताउनुभयो । १२ सय किलोमीटर लामो राजमार्ग मध्ये पूर्वी खण्ड स्थित इलामको चुलाचुली गाउँपालिका, माई नगरपालिका, झापाको अर्जुनधारा नगरपालिका हुँदै रोङ गाउँपालिकाको सलकपुरसम्म सर्भे गरिनेछ ।

सरकारले २०७५ जेठ ६ गते मदन भण्डारी चुरे राजमार्ग निर्माणको स्वीकृति दिएको थियो । चुरे क्षेत्रमा बसोबास गर्ने नागरिकका लागि लक्षित गरि पुर्वी नेपालदेखि पश्चिम जोड्ने राजमार्गका लागि सरकारले आर्थिक वर्ष २०७५÷७६ को बजेटमा ४ अर्ब ५० करोड विनियोजन गरेको छ । चुरे राजमार्गको धरान देखि हेटौंडा सम्मको करिव ३०० कि.मी. खण्ड गत आर्थिक वर्षमा ठेक्का लागि निर्माण भैरहेको सडक विभागले जनाएको छ ।
चालु आर्थिक वर्षमा धरानदेखि इलामको भारत सीमा स्थित सलकपुरसम्म सर्भे गर्नका लागि प्राविधिक टोलीले चुलाचुली गाउँपालिकामा काम सकेर माई नगरपालिका पुगेको चुलाचुली गाउँपालिकाका ओमनारायण खनालले बताउनुभयो ।
दुई लेनको हुने यो सडकको सुनसरी,मोरङ, झापा र इलामका चुरे क्षेत्रका बस्ति जोड्ने क्षेत्रमा स्थानीयको लगानीमा ट्रयाक खोलिसकिएको छ भने पुल निर्माण भइरहेका छन् । धरानदेखि चतरा गाइघाट सिन्धुली हुँदै हेटौंडासम्मको तीन सय किलोमिटर सडक बनाउन गत वर्ष नै दुईवटा खण्डमा विभाजन गरेर ठेक्का लगाएकाले पूर्व जोड्ने गरी यो सडकको धरानबाट इलामको सलकपुर सम्मको ९५ क्षेत्रमा सम्भाव्यता अध्ययन सकेर डिटेल सर्भेको काम भइरहेको सडक विभागको भनाइ छ । सर्भे सम्पन्न भएपछि पूर्वदेखि पश्चिमसम्म विस्तार गर्न नयाँ खण्डको परियोजना अध्ययन प्रतिवेदनलाई अन्तिम रुप दिने र ठेक्का लागेका तथा ट्रयाक बनिसकेको स्थानमा निर्माणको काम सँगसँगै लैजान सकिने विभागको तयारी छ ।

महेन्द्र राजमार्गको विकल्पको रुपमा रहेको दुई लेनको हुने गरी यो सडक बनाउँदा प्रतिकिलोमिटर पाँचदेखि ६ करोड रुपैयाँसम्म खर्च हुनेछ । चुरे राजमार्गलाई विस्तार गरेर पूर्वबाट पश्चिम जोड्दा करिब ५० अर्ब रुपैयाँ खर्च हुने अनुमान सडक विभागको छ । अहिले बनेका स्थानीय सडकलाई यो राजमार्गमा जोडेर त्यसलाई स्तरोन्नति गर्ने रणनीतिअनुसार काम गर्दा हाल तीन सय किमि निर्माण भइरहेको र पूर्वतर्फ सर्भेको काम भइरहेको छ । स्थानीय सडकको करिब चार सय किलोमिटर सडक प्रयोग गरिने राजमार्गलाई पुर्व पश्चिम जोड्न अब पाँच सय किलोमिटर नयाँ ट्रयाक खोल्नुपर्ने सडक विभागको भनाइ छ । मध्यपहाडी लोकमार्ग र महेन्द्र राजमार्गका बीचमा पर्ने चुरे राजमार्गले भित्रीमधेस र चुरेको मध्यभागलाई समेट्नेछ ।

चुरेको भु—भाग कमलो हुने भएपनि बाक्लो बस्ति विकास भएकाले प्राविधिक रुपमा बनाउन नमिल्ने ठाउँ बाहेक सबै बस्ति समेट्ने गरि राजमार्गको सर्भे भइरहेको पूर्व प्रधानमन्त्री तथा इलाम क्षेत्र नम्बर एकका सासंद झलनाथ खनालले बताउनुभयो । चुरेमा बस्ति बस्नलाई रोक्न सकेको भए राम्रो हुन्थ्यो, पूर्वप्रधानमन्त्री खनालले भन्नुभयो—‘पचासाँै वर्षदेखि चुरे क्षेत्रका खाली जग्गाहरुमा बस्ति बसेकाले त्यहि बस्तिमा बस्ने नागरिकलाई विकासको अनुभुति गराउन भएपनि राजमार्ग निर्माण चाँडो गर्नुपर्छ ।, महेन्द्र राजमार्गको वैकल्पिक राजमार्गको रुपमा रहेको चुरे राजमार्गलाई अधिकतम चुरे क्षेत्रका बासिन्दाले लाभ लिने स्थान छनौट गर्नका लागि पूर्व प्रधानमन्त्री खनालले आग्रह गर्नुभएको छ ।