इलाम । स्थानीय तहमा वेरोजगार युवाहरुलाई स्वरोजगार प्रदान गर्ने उदेश्यले प्रदेश नम्बर एकको ४९ वटा नगरपालिबाट शुरु गरिने भएको छ । नेपाल नगरपालिका प्रदेश नम्बर एक र हेल्बिटास नेपालको सहकार्यमा प्रदेश एकका सबै नगरपालिकामा रोजगार विकास कार्यक्रम शुरु गरिने भएको हो ।
प्रदेश नम्बर एकका नगरपालिकासँग सहकार्य शुरु गरि रोजगार विकास कार्यक्रम लागु गर्नका लागि पहिलो चरणमा नगर प्रमुखसँग अन्तरक्रिया गर्ने निर्णय भएको छ । नेपाल नगरपालिका संघ प्रदेश नम्बर एकका अध्यक्ष महेश बस्नेत र हेल्बिटास नेपालको टोलीबिच सहमति भएको थियो । इलाम नगरपालिका प्रमुख समेत रहनुभएका महेश बस्नेत, देउमाई नगरपालिकाका प्रमुख सुर्य पोखरेल, सूर्योदय नगरपालिकाका कार्यपालिका सदस्य पेमाउगेन लामा र हेल्बिटासको तर्फबाट सुबास सुवेदीका बिच सहमति भएको हो ।
स्वीजरल्याण्ड सरकारको सहयोगमा संचालित रोजगार विकास कार्यक्रम कसरी संचालन गर्ने बिषयमा इलाम, पाँचथर, झापा, मोरङ्ग र ताप्लेजुङ्ग जिल्लाका नगरपालिकाका प्रमुखसँग इलाम सदरमुकामसँग चैत्र १३ गते र १५ गते भेडेटारमा अन्य जिल्लाका नगर प्रमुखसँग अन्तरक्रिया गरिनेछ । मेसन, प्लम्बर, विल्डिङ्ग इलेक्ट्रि, बेल्डर, एल्मुनियम, फेब्रिकेटर, मोटरसाइकल मेकानिक र लाइभ भेइकल मेकानिकल सम्बन्धि तालिम प्रदान गर्दै आएकोमा थप गर्ने बिषयमा नगरप्रमुखहरुसँग छलफल गरि निर्णयमा पुगिने हेल्बिटास नेपालका टिम लिडर सुबास सुवेदीले बताउनुभयो । देशभरमा ५८ सय युवायुवतीलाई स्वरोजगार, १२ सय लाई टेक्निकल एसएलसि र १६ हजार लाई करियर निर्माण सम्बन्धि सीप प्रदान गरिनेछ ।
सिटिइभिटि, हेल्बिटास र कार्यक्रम संचालन हुने नगरपालिकाको सहकार्यमा संचालन हुने कार्यक्रममा हेल्बिटासका तर्फबाट हेल्बिटासका तर्फबाट १ अरब रुपैयाँ लगानी गर्ने योजना रहेको छ । १० वर्षसम्म संचालन गरिने कार्यक्रमबाट नगरपालिकाहरुले रोजगार विकास क्षेत्रमा छुट्टाएको बजेट कार्यान्वयन गर्न सहज हुने नेपाल नगरपालिका संघ प्रदेश एकका अध्यक्ष महेश बस्नेतले बताउनुभयो । ग्रामिण क्षेत्रमा आवश्यक पर्ने दक्ष रोजगार जनशक्ति उत्पादनका लागि प्रदेश एकका नगरपालिका र हेल्बिटासबिच सहकार्य हुने भएको हो ।
सिप दिने विद्यालयमा सैद्धान्तिक ज्ञान प्रदानपछि बिषयगत उद्योगमा प्राविधिक ज्ञान प्रदान गरि स्वरोजगार बनाउने कार्यक्रमको योजना रहेको छ । संचालनपछि ग्रामीण क्षेत्रमा स्वरोजगारको विकास गर्ने र आफ्नो स्थानीय तहमा कति दक्ष कामदार रहेको बारे स्पष्ट हुने हेल्बिटासका टिम लिडर सुबास सुवेदीले बताउनुभयो ।