इलाम । देवासिस राईको निर्णायक गोलको मद्धतले पाहुना टोली युनाइटेड दार्जिलिङ इलाममा आजबाट सुरु भएको पाँचौ अन्तराष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकपको क्वाटरफाइनल प्रवेश गरेको छ । दार्जिलिङले आयोजक माइभ्याली फुटबल क्लबको चुनौतीलाई पन्छाएको हो । दोश्रो हाफको इन्जुरी समय आयोजकको डिफेन्स लाइनलाई चिर्दै राईले निर्णायक गोल गरेका थिए । खेल अवधीभरमा दुवै टिमले पाएका केही राम्रा अवसरहरुलाई सदुपयोग गर्न सकेनन्् ।
खेलको म्यान अफ दि म्याच दार्जिलिङका वाङदेन तामाङ घोषित भए । उनले नगद १० हजार प्राप्त गरे । प्रतियोगिता अन्र्तगत सोमबार हिमालयन शेर्पा र हङकङ नेप्लिज फुटबल एकाडेमीबिच प्रतिस्पर्धा हुनेछ । माईभ्याली फूटबल क्लब इलामको आयोजनामा सुरु भएको गोल्डकपमा नेपाल, भारत, हङकङ र क्यामरुन गरी १० टिमको सहभागिता रहेको छ । गोल्डकपको विजेताले नगद ७ लाख र उपबिजेताले ४ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्् ।
प्रदेश १ लाई खेलकुदको राजधानी बनाइन्छ ः मुख्यमन्त्री राई
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले १ नम्बर प्रदेशलाई खेलकुदको राजधानीका रुपमा बिकास गरिने बताएका छन । माईभ्याली गोल्डकपको पाँचौ संस्करणको इलाममा उद््घाटन गर्दै मुख्यमन्त्री राईले प्रदेश १ लाई आगामी दिनमा खेलकुदको राजधानीका रुपमा बिकास गर्न सरकार लागी परेको बताए । मुख्यमन्त्री राईले आगामी जेठमा देशकै सवैभन्दा बढी राशीको मुख्यमन्त्री कप फुटबल आयोजना गरिने बताए । उनले नेपालका ए डिभिजनका टिम सहित विभिन्न देशका टिमहरु समेत प्रतियोगिता सहभागीता जनाउने बताए । मुख्यमन्त्री राईले मुख्यमन्त्री कप लगतै स्थानीय र प्रदेश सरकार मिलेर स्थानीय स्तरमा समेत बिभिन्न प्रतियोगिता गरिने बताए । प्रतियोगिताको उद््घाटन गर्दै मुख्यमन्त्री राईले १ नम्बर प्रदेशको बिकासका लागि प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने बताए ।