Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

झापा गोल्डकप : थ्रीस्टारलाई हराउँदै लगातार चौथो पटक झापा–११ फाइनलमा प्रवेश

झापा गोल्डकप : थ्रीस्टारलाई हराउँदै लगातार चौथो पटक झापा–११ फाइनलमा प्रवेश

  • सन्देश सम्वाददाता
  • शुक्रबार, फाल्गुन २४ २०७५


झापा गोल्डकप : थ्रीस्टारलाई हराउँदै लगातार चौथो पटक झापा–११ फाइनलमा प्रवेश

विर्तामोड । रुस्लान थ्रीस्टार क्लबलाई तेश्रो पटक हराउँदै झापा–११ विर्तामोडमा जारी मगमग झापा गोल्डकपको फाइनल प्रवेश गरेको छ । टाइव्रेकरमा ३–१ गोल अन्तरले थ्रीस्टारलाई हराउँदै चौथो पटक झापा फाइनल पुगेको हो । जितसँगै आयोजक झापाले कम्तिमा ६ लाख ५ हजार रुपैंयाँ पुरस्कार सुरक्षित गरेको छ । निर्धारित ९० मिनेटको खेल बराबरी भएपछि १५ मिनेट समय थप गरिएको थियो । थपिएको १५ मिनेटमा पनि कुनै गोल हुन नसकेपछि टाइब्रेकरबाट खेलको निर्णय गरिएको थियो । टाइब्रेकरमा थ्री स्टारका रजिन धिमालले मात्र गोल गर्न सकेका थिए । बुद्ध लिम्बुको प्रहार रोकियो भने रुपेश केसी र मिक्चेन तामाङको प्रहार बाहिरियो । 
झापाका हेमन गुरुङ र कर्ण लिम्बुको प्रहार थ्री स्टारका गोलरक्षक एलेन न्यौपानेले रोकेका थिए भने पुजन उपरकोटी, देबेन्द्र तामाङ, र गोलरक्षक दिनेश थापामगरले गोल गरका थिए झापा गोल्डकपको चौथो सिजनसम्म आइपुग्दा आयोजक झापा लगातार चौथो पटक फाइनलमा प्रवेश गरेको हो । यद्यपी झापाले हालसम्म उपाधी रक्षा भने गर्न सकेको छैन । पहिलो र तेश्रो संस्करणको फाइनलमा आर्मीसंग पराजित झापालाई दोश्रो संस्करणमा मनाङ मस्याङदीले पराजित गरेको थियो । खेलको २० औं मिनेटमा झापाका लागि बिदेशी खेलाडी फ्रान्सिस ओएमीले गरेको कडा प्रहार पोष्ट नजिकैबाट बाहिरियो । ८२ औं मिनेटमा काजिम बुखासरीको हेडर बार छुँदै बाहिरिँदा झापाले खेलमा अग्रता लिने अवसर गुमाएको थियो ।
थ्री स्टारका सुशिल राईले मिलाएको पासलाई अजयी मार्टिनले डि बक्सबाट गरेको हेडर बाहिरियो । गोलरक्षक दिनेश थापामगर बीट भइसकेको अवस्थामा ३० औं मिनेटमा शुसिल राइको हेडर झापाका मिड दिलेन लोक्तामले जोगाए । ७३ औं मिनेटमा अजय मार्टिनको कडा प्रहार बारमा लागेर फर्कियो ।
खेलको म्यान अफ द म्याच मगमग झापा ११ का गोलरक्षक दिनेश थापामगर घोषित भए । उनले नगद १५ हजार रुपैंयाँ पुरस्कार पाए । शनिबारको अन्तिम सेमीफाईनल खेल त्रिभुवन आर्मी क्लब र क्यामरुनको दाफिन्स क्लबबीच हुने आयोजकले जनाएको छ ।
जितपछि पोष्ट म्याच कन्फ्रेन्समा बोल्दै झापाका प्रशिक्षक प्रवेश कटवालले नतिजाप्रति सन्तोष ब्यक्त गरे । मार्क गरेका खेलाडीले अपेक्षित प्रदर्शन गर्न नसकेको उनले बताए । फाइनलमा आउने टीम हेरेर नयाँ रणनीति बनाउने उनले बताए । थ्री स्टारका प्रशिक्षक मेघराज केसीले निर्धारित समयमा स्कोर गर्न नसक्दा हार ब्यहोर्नुपरेको बताए । उनले दर्शकले उत्कृष्ट खेल हेर्न पाएको भन्दै खेल ब्यवस्थापनको प्रशंसा समेत गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार