इलाम । चौथो संस्करणको झापा गोल्डकपमा यस बर्ष हंङकङमा रहेको नेपालीहरुको क्लब हङकङ नेप्लिज एकाडेमी सहभागी हुँदैछ । आजको खेलमा घरेलु टिम झापा–११ आफनै मैदानमा हङकङे टोलीलाई प्रतिस्पर्धीको रुपमा पाएको छ । पोखराको सहारा फुटबल क्लबलाई २–० ले पराजित गर्दै उच्च मनोबलमा रहेको टिम झापाको चुनौतीको रुपमा हेरिएको छ हङकङ टिम । नेपाली फुटबलमा हङकङ नेप्लिज क्लब नयाँ भने होइन । धरानको प्रतिष्ठित प्रतियोगिता बुढासुव्वा गोल्डकपमा हङकङ नेप्लिज फुटबल क्लब सहभागी थियो । उस्ले प्रतियोगिताको उपाधी समेत जित्यो नेपाली फुटबलको पावरहाउस त्रिभुवन आर्मीलाई हराएर । तत्कालिन समयमा हङकङ नेप्लिज क्लबले नेपाली फुटबलका स्टार विकेश कुथु, जगजित श्रेष्ठ, सागर थापा र केही अफ्रिकी मुलका खेलाडीलाई समेत मैदानमा उतारेको थियो । सफल पोखरा कप समेत खेलेको टोली सेमीफाइनलसम्म पुगेको थियो ।
यता मोफसलको फुटबलको पावर हाउस झापा–११ आफनो होमग्राउन्डमा आयोजना भएको तिन वटै संस्करणमा उपविजेता बनेको थियो । पहिलो संस्करण आर्मीसंग हारेको झापलाई दोश्रो संस्करणमा मनाङ मस्याङदी र तेश्रो संस्करणमा त्रिभुवन आर्मीले हराउदै उपाधी जित्न बाधक बनेको थियो । भरखरै सम्पन्न शहिद स्मार लिगको अनुभव बटुलेका खेलाडी सम्मिलित झापा जित निकाल्दै सेमीफाइनल पुग्न चाहन्छ भने झापाली मैदानमा पहिलो पटक उत्र्ने तयारीमा रहेको हङकङ टिम जित निकाल्दै आफनो बलियो उपस्थिती देखाउन चाहन्छ । लिगको प्रर्दशनले पनि खेलाडीहरु उत्साहित भएको झापाका प्रशिक्षक प्रवेश कट्बालको भनाई छ । कर्ण लिम्बु, दिलेन लोक्ताम, देवेन्द्र तामाङ लगायतका स्टार सहित झापा आफनै मैदानमा पुरानो सानलाई यथावत राख्न सक्ला ? चुनौतीको बिषय बन्ने देखिन्छ । एक अर्का विरुद्ध नयाँ अनुभव भएका कारण पनि दुवै टोलीलाई जित निकाल्न केही असहज हुने पक्कै देखिन्छ ।