Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

पहिलाे पटक उपाधी चुम्ने लक्ष्यमा नेपाली महिला फुटबल टोली

पहिलाे पटक उपाधी चुम्ने लक्ष्यमा नेपाली महिला फुटबल टोली

  • नमीन ढकाल  
  • सोमबार, पौस १६ २०७५


पहिलाे पटक उपाधी  चुम्ने लक्ष्यमा नेपाली  महिला फुटबल टोली

इलाम । विहान एन्फा कम्प्लेक्सको मैदानमा नेपाली महिला राष्ट्रिय टिमका खेलाडीहरु विगत २ साताबाट अभ्यासरत भेटिन्छन । बिहानको झिसमिसे मै प्रशिक्षणमा जुट्ने खेलाडी उपाधिविहिन यात्रामा पूर्णविराम लगाउने लक्ष्यसहित कडा मेहनत गरिरहेका छन । कोही बल ड्रिवलिङ गर्दै गरेको भेटिन्छ भने कोही आफनो सुटिङ पावर बढाउन लागेका छन । गोलरक्षकहरु बिपक्षीको आक्रमण कसरी जोगाउने भन्दै पोष्ट सम्हाल्न मै व्यस्त छन । प्रशिक्षकहरु पहिलो उपाधी दिलाएर आफुलाई अब्बल प्रमाणित गर्न चाहन्छन । दिउँसो सहिद स्मारक लिग हुने खेलमैदान अखिल नेपाल फुटबल संघ (एन्फा) ले महिला टोलीका लागी विहान उपलव्ध गराएको छ । विहान ७ बजेबाट १० बजेसम्म महिला खेलाडीहरुले प्रशिक्षणलाई अगाडी बढाउने गरेका छन ।

सहिद स्मारक ‘ए’ डिभिजन लिगको व्यस्तताका कारण एन्फाले महिला टोलीको तयारीका लागि विहान मैदान उपलव्ध गराएको प्रवक्ता किरण राईको भनाई छ । ८ बर्षे साफको इतिहासमा नेपाली टोली ३ पटक फाइनल पुगेपनि उपाधी जित्न सकेको छैन । नेपाली टिम पहिलो पटक गृह मैदानमा उपाधी भित्र्याउने चाहन्छ । पछिल्लो पटक म्यानमारमा भएको ओलम्पिक छनौटको दोश्रो चरणमा प्रवेश गरेको नेपाली टोली उपाधी जित्नेमा विश्वस्ता रहेको प्रमुख प्रशिक्षक हरि खडकाको भनाई छ । लाेकल सन्देशस‌ँग कुरा गर्दै खड्काले भने, ‘ओलम्पिक छनोटको नतिजाले खेलाडी उत्साहित छन । अहिले खेलाडीको मनोबल आकासिएको छ । केही मेहनत गरे जित्न सकिन्छ भन्ने छ ।’ नेपालको मुख्य चुनौती भारत भएपनि पछिल्लो समयमा अन्य टोलीले समेत खेल निक्कै सुधार गरेको कारण कडा मेहनत आवश्यक रहेको खड्का बताउँछन । ‘नेपाली खेलाडीहरुलाई घरेलु मैदानको अनुभव छैन । खेलाडीलाई कसरी घरेलु दर्शकको सामना गर्ने र मनोबल उच्च राख्ने जस्ता कुरा सिकाउँदै छु ।’
ओलम्पिक छनोटको पहिलो चरणमा भारत र बंगलादेशसँगै बलियो मानिएको आयोजक म्यानमारविरुद्ध अपराजित रहँदै दोस्रो चरणको टिकट काटेको टोलीको उत्साह र लयमा आच आउन नदिने खडका बताउँछन । बिगतमा प्रतियोगिता भन्दा १ महिना अगाडी मात्र तयारीमा जुटने राष्ट्रिय टोलीलाई यस पटक भने ३ महिना अगाडी नै क्लोज क्याम्पमा राखिएको छ । ६ बर्षपछि राष्ट्रिय टोलीमा पुनरागमन गरेकी एपिएफकी कप्तान पप्पु सुरुची एन्फाको पुर्व तयारीबाट सन्तुष्ट छिन । ‘पहिलो पटक साफ खेल्दा हामीलाई छोटो समयमात्र क्याम्पमा राखिएको थियो । यसपटक भने गेम भन्दा ३ महिना नै अगाडी राखिएको छ पक्कै पनि यसले उपाधी जित्न सहज बनाउनेछ ।’ एन्फाले क्लोज क्याम्पमा पहिला दिने भन्दा सेवा सुविधा र खेलाडीहरुलाई बढी अवसर सृजना गरेको उनी बताउँछिन । राष्ट्रिय टोलीको अन्तिम २३ मा यसै बर्ष स्थान बनाएकी दिपा न्यौपाने लामो समयसम्म क्लोज क्याम्पमा राख्दा मनोबल बढ्ने बताउँछिन । ‘क्लोज क्याम्प र नियमित लामो समयसम्मको प्रशिक्षणले आफनो टिममेटको बारेमा बुझन सहज हुन्छ । हामी धेरै वटा क्लबबाट राष्ट्रिय टिम बनेका छौ । सबैको क्लबमा आ–आफनो खेल्ने शैली हून्छ । क्याम्पमा बसेर नियमित प्रशिक्षण हुँदा साथीको पोजिसन र आफनो पोजिसनमा तालमेल मिलाउन सकिन्छ ।’ उनले भनिन्् ।
प्रशिक्षकसंगको नियमित सम्पर्कले आफनो कमजोरी आंकलन गरेर खेल कौशल सुधार्न मद्धत हुने उनको भनाई छ । टिमकी कप्तान निरु थापाले पनि विगतभन्दा टोली अहिले फरक रहेको बताइन । ‘हाम्रो टोली विगतभन्दा फरक छ । युवा र अनुभवी खेलाडीको मिश्रण छ । ओलम्पिक छनोटको नतिजाले टोलीलाई निकै हौसला पुगेको छ । हामीले उपाधिको लागि निकै मिहिनेत गरेका छौं र घरेलु दर्शकको साथले त्यो प्राप्त गर्न सहयोग पुग्ने विश्वास छ,’ कप्तान थापाले भनिन ।
साफ च्याम्पियनसिपमा नेपालको प्रर्दशन : भारत मुख्य चुनौती
सन २०१० मा पहिलो पटक साफ आयोजना हुँदा नेपाली महिला फुटबल खस्कदो गतिमा थियो । सन २००० देखी २०१० सम्म नेपालको सिनियर महिला फुटबलमा खासै गतिविधी हुन सकेको थिएन । त्यस्तो अवस्थामा महिला फुटबल उत्थानको लागी १२ डिसेम्बर २०१० बाट महिला साफको सुरुवात गरिएको थियो । पहिलो साफमा नेपाली टोलीले समुह चरणमा माल्दिभ्सलाई ६–०, अफगानिस्तानलाई १३–० र पाकिस्तानलाई १२–० ले हरायो भने सेमीफाइनलमा बंगलादेशलाई ३–० ले पराजित गर्दै भारतसंगको उपाधी भेट पक्का ग¥यो । फाइनलमा सस्मिता मल्लीकको गोलको मद्धतले भारतले उपाधी चुम्दा नेपाल उपविजेतामा सिमित भयो । त्यसयताको ३ बटै प्रतियोगिताको उपाधीको लागी भारत बाधक बन्यो । दोश्रो साफमा ३–१ र तेश्रो साफमा ६–० ले पराजित बन्दै उपाधीबाट बञ्चित भएको नेपाली महिला टोलीका लागि साफ नै विश्वकप सरह रहँदै आएको छ । साफमा नेपालले हालसम्म खेलेको १९ खेल मध्ये ४ खेलमा मात्र पराजित बन्यो । ति ४ वटै खेल भारत विरुद्ध खेलिएका थिए । ४ वटा संस्करणमा कुल १९ खेलमा ९१ गोल गर्दै १४ गोल मात्र व्यहोरेको छ नेपाली टोलीले । ३ वटा संस्करणको उपाधीमा भारतसंग भिडेको नेपाललाई २०१६ को संस्करणमा सेमीफाइनलमा ३–१ ले पराजित बन्दै लगातार चौथो पटक फाइनल पुग्न असफल भएको थियो । यस पटक उच्च मनोबलका साथ मैदान उत्र््ने लक्ष्य रहेको नेपाली टिमले भारतलाई पराजित गर्न सक्ने गोलरक्षक एन्जिला सुव्वा बताउँछिन । ‘ओलम्पिक छनौटमा समेत भारतलाई पोष्ट आक्रमण बुन्नबाट रोकेका थियौ । यहि रणनितीमा केही परिर्वतन गरेर खेल्दा पहिलो पटक भारतलाई हराउन सक्छौ ।’ नेपाल र भारतबिच हालसम्म भएका ९ खेलमा २ बराबरी भएको छ । बाँकी खेलमा भारत नेपालमाथी हाबी भएको देखिन्छ ।
खेलाडीहरुमा एन्फा नेतृत्वको विभेद छैन : राई
हरेक बर्ष नेपाली फुटबलको एउटै नियती भोग्दै आएको छ महिला र पुरुषबिचको विभेद । तर यस पटक त्यस्तो नरहेको एन्फा प्रवक्ता किरण राईको भनाई छ । उनी भन्छन ‘ यसअघि के कस्तो भयो त्यो आफनै ठाँउमा छ तर हामीले महिला र पुरुषलाई समान रुपमा हेरेका छौ । उनीहरुलाई दिने स्र्पोटस किट र अन्य सुविधा समान छ ।’
क्लोज क्याम्पमा रहने खेलाडीहरुलाई दिने डाइटहरु समेत विदेशी गुणस्तर रहेको उनी बताउँछन । खेलाडीहरु समेत तुलनात्मक यस पटक एन्फाको नेतृत्वले दिएको सेवा सुविधामा सन्तुष्ट रहेको बताउँछन ।
( तस्विर प्रमुख प्रशिक्षक हरि खड्काले उपलव्ध गराएका हुन । )

प्रतिक्रिया
सम्बन्धित समाचार