Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

‘खेलकुद ऐन लागु भएपछि झोले संघहरु स्वत खारेज हुनेछ’

‘खेलकुद ऐन लागु भएपछि झोले संघहरु स्वत खारेज हुनेछ’

  • नमीन ढकाल
  • मंगलबार, पौस १० २०७५


‘खेलकुद ऐन लागु भएपछि झोले संघहरु स्वत खारेज हुनेछ’

इलाम । युवा तथा खेलकुद मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले खेलकुद ऐन लागु भएपछि झोलामा रहेको खेलकुद संघहरु स्वत खारेज हुने बताए । उनले संसदबाट ऐन पारित भएर आएपछि खेलाडी र खेलकुद प्रशिक्षकहरुको भविष्य सुनिश्चित हुने उल्लेख गरे । नेपाल सरकार युवा तथा खेलकूद मन्त्रालयको आयोजना तथा जिल्ला खेलकूद विकास समिति इलामको संयोजनमा सुर्योदय नगरपालिकाको फिक्कलमा आयोजित खेलकुदमा प्रतिवन्धित औषधी सेवन विरुद्ध सचेतना कार्यक्रममा बोल्दै उनले भने ‘ऐन अर्थ मन्त्रालय र कानुन मन्त्रालयबाट स्विकृत भइसकेर संसदमा पठाइसकिएको छ त्यहाँबाट स्विकृत भएपछि कार्यान्वयन गरिनेछ । ऐन लागु भएपछि बार्षिक नियमित गतिविधी नगर्ने झोले संघहरु स्वत खारेज हुनेछ ।’

सन २००३ मा संयूक्त राष्ट्रसंघको महासभाले खेलकूदमा लागु औषधी सेवन विरुद्धमा प्रस्ताव पारित गरे पश्चात नेपालमा समेत लागु भएको मन्त्रालयका उपसचिव रत्नकुमार कटुबालले बताए । उनका अनुसार सन २००३ मार्च ५ मा कोपनहेगनमा लागुऔषध अर्थात डोपिङ्ग विरुद्धको विश्व सम्मेलन भएको थियो । नेपाल हुने विभिन्न स्तरका खेलकूदमा पनि खेलाडीहरुले प्रतिवन्धित औषधी प्रयोग गरे नगरेको विषयमा ल्याब टेष्ट हुने गरेको उनले जानकारी दिए ।

लागुऔषधी सेवन विरुद्धको सचेतना कार्यक्रमको प्रशिक्षक एवम विशेषज्ञ डाक्टर तथा पुर्व राष्ट्रिय फुटबल खेलाडी अजय राणाले प्रतिवन्धित औषधी प्रयोग गरेका खेलाडीहरुमा एन्टी डोपिङ एजेन्सीको नजरबाट बच्न नसक्ने उल्लेख गरे । उनले भने ‘ प्रतिवन्धित औषधीको असर १६ महिनासम्म रहने भएकाले यस्ता औषधी प्रयोग गरि अस्वाभाविक शक्ती प्रर्दशन गरेको थाहा हुनेछ ।’

उनले डोपिङ टेस्टका लागी विश्वका विभिन्न खेल संघहरुले बर्षेनी लाखौ डलर खर्च गर्ने गरेको उल्लेख गरे । प्रतिवन्धित औषधि टेस्ट गर्ने ल्याब विश्वमा ३५ स्थानमा मात्र रहेको उल्लेख गर्दै उनले भने ‘यस्तो प्रकारको ल्याब राख्नका लागि राष्ट्रको बजेटले धान्न नसक्ने भएकोले कमै देशहरुले संचालन गरेका छन । खेलाडीले लागुऔषधी प्रयोग गरे नगरेको विषयमा जानकारी पाउनका लागि नेपालले अहिलेसम्म खेलाडीको रगत र यूरिन टेष्टका लागि भारतको नयाँ दिल्ली पठाउने गरेको छ ।’ लागुऔषध प्रयोगको विषयमा सचेत गराउँदै डाक्टर राणाले खेलाडीहरुको स्वच्छ प्रतिस्पर्धाका लागि लागुऔषध अर्थात खेलाडीहरुको लागि प्रतिवन्धित औषधि सेवन गर्न नहुने बताए । उनले नेपालमा पाइने यार्सागुम्बा लगायतका शक्तीबर्धक जडिबुटीहरु समेत डोपिङ टेस्टमा पर्ने गरेको उल्लेख गरे ।

कार्यक्रममा इलाम, झापा, पाँचथर, मोरङ र सुनसरीका खेलाडी एवम खेल पदाधिकारीको सहभागीता रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार