मान्छेको तस्विर खिच्ने क्यामरा
अनि वासना छर्ने खुस्वुहरु
धेरै बनिसके यहाँ
तर बन्न सकेनन्
मान्छेको भित्री गुण खिच्ने क्यामरा
मान्छेको गुण चम्काउने पाउडर
अनि मान्छेमा सद्गुणको
सुवास छर्ने खुस्वु
गुगलमा पढेँ
हजारौँ समाचार
टेलिभिजनमा देखेँ
विश्वको मुहार
तर म को हुँ रु प्रश्नको उत्तर खोज्ने
हिनताबोध मेटाउने
त्यस्तो कुनै यन्त्र
देखिन मैले
हिँड्दा हिँड्दै
कयौँ असहजताका बाटोहरुमा
कयौं पटक भासिएँ पनि
कयौँ पटक निसासिएँ पनि
तर म किन भासिएँ
किन निसासिएँ
खोजेँ गुगल अनि ईन्टरनेटमा
लेखेँ स्टाटस फेसबुकहरुमा
तर पाईन कुनै उत्तर
पेन्सिल तिखार्ने औजार अनि
तौल बढाउने औषधिहरु
धेरै बनिसके यहाँ
तर बन्न सकेनन्
मस्तिष्क तिखार्ने औजार
अनि आत्मविश्वास जगाउने औषधीहरु
यहि प्रदिप्त विज्ञानका
बत्ती मुनिको अँध्यारोमा
छ्न् विश्वका कयौँ मानवहारु
मान्छे मार्ने विष भित्र
हराएका छ्न् कयौँ सञ्जिवनीहरु
अबको विज्ञानले खोजी गरुन् तिन्को
अनि बनाउन् सफलताका
समुन्नत जहजहरु
मेटेर हजारौँ मेहनतीका
असफलताका दागहरु
परिश्रमको मैदानमा
घोटिएका हातहरुले
कर्मको फलको खोजी गर्दैछन्
वृद्धाश्राममा थन्किएका आमाहरुले
असल सन्ततीको खोजी गर्दैछ्न्
अब उठ विज्ञानका अग्रजहरु
समाएर आमाको हात
तोडेर असफलताको गार्हो
हटाउन बत्ती मुनिको अँध्यारो