सुरुङ्गा । झापाको सुरुङ्गामा जारी टिभिएस प्रथम अन्तर प्रदेश टि –ट्वान्टी क्रिकेट प्रतियोगितामा आइतवारकोे खेलमा युथ क्रिकेट क्लव राजविराज बिजयी बन्दै सेमीफाइनल प्रवेश गरेको छ । राजविराजले मकवानपुर क्रिकेट एकाडेमी हेटौलालाई १०४ रनको फराकिलो अन्तरले हराउदै सेमिफाइनलको यात्रा सुरक्षित गरेको छ ।
टस जितेर ब्याटिङ्ग रोजेको राजविराजले निर्धारित २० ओभर खेल्दै ८ विकेटको क्षतिमा १७६ रनको योगफल जोडेको थियो । राजविराजका तर्फबाट पुर्व राष्ट्रिय क्रिकेट टिमका सदस्य महवुव आलमले ५० तथा अर्का राष्ट्रिय खेलाडी अमृत यादवले ४७ रन जोड्न सफल भए । हासिम अन्सारीले समेत २१ रन योगदान दिए । यता हेटौडाका तर्फबाट असिम श्रेष्ठ र विपुल खनालले समान २÷२ विकेट लिएका थिए ।
१७७ रनको विजय लक्ष्य लिएर मैदान उत्रिएको हेटौडाले १९ ओभरमा अलआउट हुदा ७२ रनमात्रै जोडयो । हेटौडाका लागि विपुल खनालले सर्वाधिक १७ रन जोड्दा बाकी ब्याटम्यानहरु दोहोरो अंक जोड्न नपाउदै मैदान छाड्न बाध्य भएका थिए ।
हेटौडालाई सस्तैमा समेटनका लागि राजविराजका बलरहरु पुष्प थापाले ३ तथा हासिक अन्सारीले २ विकेट लिए । खेलको म्यान अफ द म्याच राजविराजका अमृत यादव घोषित भए । सोमवार पहिलो चरणको अन्तिम खेल उदयपुर क्रिकेट एकाडेमी र खुकुरी क्रिकेट एकाडेमी भैरहवाविच हुनेछ ।