Local Sandesh आइतबार, मंसिर ७ २०८३
  • ट्रेण्डिङ :

प्रथम सूर्योदय चिया महोत्सव सम्पन्न, टी ट्रेल रेसमा प्रिथि र तेजकुमारी प्रथम

प्रथम सूर्योदय चिया महोत्सव सम्पन्न, टी ट्रेल रेसमा प्रिथि र तेजकुमारी प्रथम

  • सन्देश सम्वाददाता
  • आइतबार, मंसिर ७ २०८३


प्रथम सूर्योदय चिया महोत्सव सम्पन्न, टी ट्रेल रेसमा प्रिथि र तेजकुमारी प्रथम

इलाम । चियाको राजधानीका रूपमा परिचित इलामको सूर्योदय नगरपालिका–७ कन्याममा आयोजित दुईदिने ‘प्रथम सूर्योदय चिया महोत्सव’ विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ । चिया पर्यटन प्रवद्र्धन तथा निर्माणाधीन चिया पदमार्गको प्रचारप्रसार गर्ने उद्देश्यले आयोजित महोत्सवको दोस्रो दिन आइतबार सञ्चालन गरिएको टी ट्रेल रेसमा पुरुषतर्फ ओखलढुङ्गाका प्रिथि राई र महिलातर्फ सूर्योदय नगरपालिका–६ की तेजकुमारी मुखिया प्रथम भएका छन् ।

कन्याम चिया बगानको पदमार्गमा सञ्चालन गरिएको प्रतियोगितामा पुरुषतर्फ १२ दशमलव ५ किलोमिटर र महिलातर्फ ९ किलोमिटर दूरी कायम गरिएको थियो । प्रतियोगितामा पुरुषतर्फ ६९ र महिलातर्फ ८ गरी कुल ७७ जना धावक सहभागी भएका थिए । पुरुषतर्फ इलाम नगरपालिका–६ का राजेन्द्र लिम्बू दोस्रो र पाँचथरका ग्याल्जेन गुरुङ तेस्रो भए । त्यस्तै, झापाको बुद्धशान्ति–६ का सविन राई चौथो र सूर्योदय नगरपालिका–९ का स्वरुप तामाङले पाँचौ स्थान हासिल गरे ।

महिलातर्फ सूर्योदय नगरपालिका–११ की सोनिका थापा मगर दोस्रो, फिक्कलकी सरला राई तेस्रो, सूर्योदय नगरपालिका–६ की रेखा निरौला चौथो र सूर्योदय नगरपालिका–७ की राधा नेपाल पाँचौँ भइन् । खुला पुरुषतर्फ प्रथम, द्वितीय, तृतीय, चौथो र पाँचौँ हुनेले क्रमशः ३० हजार, २० हजार, १० हजार, पाँच हजार र तीन हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । त्यस्तै, महिलातर्फ प्रथमदेखि पाँचौँ स्थान हासिल गर्नेले क्रमशः २० हजार, १० हजार, पाँच हजार, तीन हजार र दुई हजार रुपैयाँ पुरस्कार पाए । प्रतियोगितामा सहभागी सबै धावकलाई प्रमाणपत्र र मेडलसमेत प्रदान गरिएको थियो । दौडमा कोशी प्रदेशका विभिन्न जिल्लाका ९ बर्ष देखि ६० बर्ष माथिका धावक सहभागि थिए ।

विजेता तथा सहभागीलाई सूर्योदय नगरपालिका कार्यवाहक प्रमुख दुर्गाकुमार बराल, वडा नं १० का वडाध्यक्ष पेमा उगेन लामा, वडा नं ८ का वडाध्यक्ष जंग गुरुङ, मुख्य निर्णायक रोहित भट्टराईलगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए । यसअघि शनिबार कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री खिनु लङ्वाले कन्यामस्थित हुर्हुरेचोकमा तीनवटा चियाका बिरुवा रोपेर महोत्सवको उद्घाटन गरेकी थिइन् । उद्घाटनअघि विभिन्न जातजातिका मौलिक झाँकीसहितको ¥यालीले कन्याम बजार परिक्रमा गरेको थियो ।

उद्घाटन कार्यक्रममा मन्त्री लङ्वाले इलामको प्राकृतिक सौन्दर्य, चियाखेती, जैविक विविधता र सांस्कृतिक सम्पदालाई पर्यटनसँग जोड्न सके जिल्लालाई महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने बताइन् । उनले चिया र पर्यटन इलामको पहिचानसँग जोडिएको उल्लेख गर्दै यसको प्रवद्र्धनका लागि स्थानीय तथा प्रदेश सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको धारणा राखिन् ।
कार्यक्रममा संविधानसभा सदस्य सूर्यबाला राई र लिलादेवी श्रेष्ठलगायत स्थानीय तहका प्रतिनिधिहरूले इलामको चियाको ब्राण्डिङ तथा चिया पर्यटन प्रवद्र्धनका लागि सरोकारवाला निकायबीच सहकार्य र समन्वय आवश्यक रहेकोमा जोड दिएका थिए ।

महोत्सवको पहिलो दिन नेपाल पर्यटन बोर्डका पूर्वसदस्य कृष्ण शाहले ‘चिया र पर्यटन’ विषयमा प्रस्तुति दिएका थिए । त्यस्तै, राई, नेवार, तामाङ, लाप्चालगायत जातजातिका मौलिक झाँकी, पञ्चेबाजा, लाप्चा समुदायको भेषभूषा तथा आदिवासी जनजातिका परम्परागत खानाका परिकार प्रदर्शन गरिएको थियो । सूर्योदय क्षेत्रमा उत्पादित विभिन्न ब्राण्डका चियाको स्वाद परीक्षण तथा सांस्कृतिक कार्यक्रमसमेत सञ्चालन गरिएको थियो । महोत्सवमा १२ वटाभन्दा बढी प्रदर्शनी कक्ष राखिएका थिए ।

महोत्सवको दोस्रो दिन आइतबार ‘जलवायु परिवर्तनको सामना : दिगो चिया खेती र चिया कृषकको जगेर्ना’ विषयमा प्यानल डिस्कसन आयोजना गरिएको थियो । कार्यक्रममा प्रतिनिधिसभा सदस्य निश्कल राई, नेपाल सरकारका पर्यटन सचिव मुकुन्दप्रसाद निरौला, कृषि सचिव राजेन्द्रप्रसाद मिश्र, सूर्योदय नगरपालिका कार्यवाहक प्रमुख दुर्गाकुमार बराल सहभागि थिए । प्यानल डिस्कसन अघि नेपाल पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत हिक्मत सिंह ऐरले सूर्योदयको पर्यटन सम्भावना, यहाँका पर्यटकीय क्षेत्रको प्रवद्र्धन तथा सूर्योदयको पर्यटन विकासका लागि नेपाल पर्यटन बोर्डले गर्न सक्ने सहयोग र भूमिकाबारे आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा जलवायु परिवर्तनका चुनौती, दिगो चिया खेती र चिया कृषकको संरक्षणका विषयमा समेत छलफल गरिएको थियो । पत्रकार उमाकान्त खनालले कार्यक्रमको सहजीकरण गरेका थिए । महोत्सवमा जातजातिका मौलिक झाँकी, भेषभूषा, खानाका परिकार, चियाको स्वाद परीक्षण तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गरिएको थियो । सूर्योदय नगरपालिका, कोशी प्रदेश सरकार र स्वीस सरकारको सहयोगमा सञ्चालित पदमार्गमा आधारित पर्यटन विकास परियोजनाको साझेदारीमा महोत्सव आयोजना गरिएको हो । परियोजनाअन्तर्गत सूर्योदय नगरपालिका–७ कन्यामदेखि वडा नं ५ श्रीअन्तुसम्म २५ दशमलव ५ किलोमिटर लामो चिया पदमार्ग निर्माण भइरहेको छ ।

निर्माणाधीन चिया पदमार्गलाई पर्यटनसँग जोड्दै यसको प्रचारप्रसार गर्ने तथा चियाको उत्पादन, बजारीकरण र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यले महोत्सव आयोजना गरिएको महोत्सव आयोजक समितिका संयोजक एवं सूर्योदय नगरपालिका–१० का वडाध्यक्ष पेमा उगेन लामाले जानकारी दिए । सूर्योदय नगरपालिका कार्यवाहक प्रमुख दुर्गाकुमार बरालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा निमित्त कार्यालय प्रमुख लुना खतिवडाले स्वागत र कर्मचारी सरला तामाङले सञ्चालन गरेकी थिइन् । समापन कार्यक्रम योजना अधिकृत खेम राईले संचालन गरेका थिए ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार