इलाम । अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै अजरबैजान पुगेका इलामको माईजोगमाई गाउँपालिका–५ का युवा फुटबल खेलाडी प्रनिश राईलाई गाउँपालिकाले सम्मान गरेको छ । सानै उमेरमा नेपाली राष्ट्रिय फुटबल टोलीबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउँदै गाउँपालिका र जिल्लाको पहिचान बढाउन योगदान पुर्याएको भन्दै गाउँपालिकाले राईलाई नगद पुरस्कार, सम्मानपत्र र दोसल्लासहित सम्मान गरेको हो ।
गाउँपालिका अध्यक्ष कुश बहादुर थेवे र उपाध्यक्ष प्रविना राईले सम्मानपत्र प्रदान गरे। नेपाली टोलीमा लेफ्ट डिफेन्डरको भूमिकामा रहेका राईले अजरबैजानमा आयोजित यू–१५ फिफा विश्वकप फेस्टिबल फुटबल प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेका थिए ।अन्तर्राष्ट्रिय फुटबल मैदानमा नेपालको जर्सी लगाएर खेल्ने अवसर प्राप्त गरेका राईको उपलब्धिलाई गाउँपालिकाले खेलकुद क्षेत्रका लागि महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ ।
नेपालले प्रतियोगितामा अपेक्षाअनुसार सुरुवात गर्न नसके पनि पछिल्ला खेलमा सुधारिएको प्रदर्शन गरेको थियो । समूह चरणमा ट्युनिसियासँग ३–१ र गिनी बिसाउसँग ४–० गोलको हार बेहोरेको नेपालले एल साल्भाडोरलाई ३–१ गोलले पराजित गर्दै प्रतियोगितामा पहिलो जित निकालेको थियो । त्यसपछि टियर एफको नकआउट चरणमा पुगेको नेपालले अन्तिम १६ मा पाकिस्तानलाई पेनाल्टी सुटआउटमा ४–३ ले हराएको थियो ।
क्वार्टरफाइनलमा फिजीलाई २–१ ले पराजित गर्दै सेमिफाइनल पुगेको नेपाल न्युजिल्यान्डसँग पेनाल्टी सुटआउटमा ३–२ ले पराजित भएको थियो । तेस्रो स्थानका लागि भएको खेलमा ग्रेनाडालाई २–१ ले हराउँदै नेपालले टियर एफमा तेस्रो स्थान हासिल गरेको थियो । अजरबैजानमा अक्टोबर २४ देखि ३० सम्म सञ्चालन भएको प्रतियोगितामा विश्वका १८९ राष्ट्रिय टोली सहभागी थिए । प्रतियोगिता ८ खेलाडी सम्मिलित टोलीबीच खेलाइएको थियो ।