Local Sandesh बिहिबार, मंसिर ४ २०८३
  • ट्रेण्डिङ :

वीरबहादुर राईको श्रम र योगदान सम्झँदै करसोङ पदमार्गमा सरसफाइ अभियान

वीरबहादुर राईको श्रम र योगदान सम्झँदै करसोङ पदमार्गमा सरसफाइ अभियान

  • सन्देश सम्वाददाता
  • बिहिबार, मंसिर ४ २०८३


वीरबहादुर राईको श्रम र योगदान सम्झँदै करसोङ पदमार्गमा सरसफाइ अभियान

फिक्कल । गाउँको बाटोघाटो सफा राख्न र सार्वजनिक सम्पत्तिको संरक्षण गर्न जीवनभर निःस्वार्थ श्रमदान गरेका वीरबहादुर राईको योगदानलाई सम्झँदै रोङ गाउँपालिकाले करसोङ पदमार्गमा बृहत् सरसफाइ अभियान सञ्चालन गरेको छ । राईको सम्मानमा सुरु गरिएको ‘वीरबहादुर राई श्रमदान अभियान’ अन्तर्गत बुधबार इलामको रोङ गाउँपालिका–३ हाँसपोखरीदेखि झापाको मेचीनगर नगरपालिका–१ निन्दा सिरानसम्मको करिब १९ किलोमिटर पदमार्गमा सरसफाइ गरिएको हो ।

रोङ गाउँपालिका मनिकुमार स्याङबोका अनुसार गाउँको बाटोघाटो र सार्वजनिक संरचनाको संरक्षणमा जीवनभर श्रम गरेका वीरबहादुर राईको योगदानलाई संस्थागत रूपमा सम्मान गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो । राईले कुनै पद, प्रतिष्ठा वा व्यक्तिगत स्वार्थका लागि नभई गाउँ र समुदायको हितका लागि निरन्तर श्रमदान गर्दै आएका थिए ।

‘वीरबहादुर राईले आफ्नो जीवनकालमा गाउँको बाटोघाटो सफा राख्न र संरक्षण गर्न जुन योगदान गर्नुभयो, त्यो हाम्रो समुदायका लागि उदाहरण हो । उहाँले गर्नुभएको निःस्वार्थ श्रमलाई सम्झने र त्यही संस्कारलाई नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्यले उहाँकै नाममा श्रमदान अभियान सुरु गरेका हौँ,’ अध्यक्ष स्याङबोले भने

उनका अनुसार वीरबहादुर राई शारीरिक रूपमा अपाङ्गता भएका ज्येष्ठ नागरिक भए पनि गाउँको सार्वजनिक काममा सधैँ अग्रसर हुने गर्थे । वर्षायाममा पानी पर्दा सडकमा भल बग्ने, बाटो बिग्रने र पहिरो जाने समस्या देखिएपछि उनी कुटो, कोदालो बोकेर बाटो मर्मत तथा सरसफाइमा जुट्ने गर्थे । २०८२ साल साउनमा घरनजिकै बाटोको भल काट्ने क्रममा माथिबाट आएको पहिरोले पुरिएर उनको निधन भएको थियो ।

‘उहाँले जीवनभर गाउँको बाटोका लागि श्रम गर्नुभयो । त्यही बाटोको काम गर्दागर्दै उहाँले ज्यान गुमाउनुपर्‍यो । त्यसैले उहाँको योगदानलाई केवल सम्झनामा सीमित नराखेर श्रमदानको संस्कारका रूपमा अगाडि बढाउन खोजेका हौँ,’
गाउँपालिकाले श्रमदान अभियानलाई नियमित र व्यवस्थित बनाउन श्रमदान अभियान व्यवस्थापन निर्देशिका, २०८१ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ ।

निर्देशिकाअनुसार गाउँपालिकाका ५८ वटै टोल विकास संस्थामार्फत श्रमदान अभियान सञ्चालन भइरहेको छ । महिनामा एक दिन अनिवार्य श्रमदान गर्ने व्यवस्था कार्यान्वयनमा ल्याइएको उपाध्यक्ष विष्णुमाया खवासले जानकारी दिइन् ।
यसै अभियानलाई निरन्तरता दिँदै बुधबार करसोङ पदमार्गको १९ किलोमिटर क्षेत्रमा सरसफाइ गरिएको हो ।

५८ वटै टोल विकास संस्थाले पदमार्गलाई विभिन्न खण्डमा विभाजन गरी सरसफाइ गरेका थिए । अभियानमा गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बो, उपाध्यक्ष खवास, जनप्रतिनिधि, कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, पत्रकार, सामाजिक संघसंस्थाका प्रतिनिधि र स्थानीय बासिन्दाको सहभागिता थियो । गाउँपालिका अध्यक्ष स्याङ्बो पनि आफैँ सिक्कल बोकेर झाडी फाँड्न खटिएका थिए ।

उपाध्यक्ष खवासका अनुसार करसोङ पदमार्ग रोङ गाउँपालिकाको महत्वपूर्ण पर्यटकीय सम्पदा हो । चियाबारी, वन क्षेत्र, प्राकृतिक जैविक विविधता र हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिने यस पदमार्गले इलाम र झापाको पर्यटनलाई जोडेको छ । यहाँबाट कञ्चनजङ्घा र मकालु हिमशृङ्खलाका दृश्य अवलोकन गर्न सकिन्छ । पदमार्ग आसपासका गाउँमा रहेका मौलिक संस्कृति, परम्परा र स्थानीय जीवनशैली पनि पर्यटकका लागि आकर्षण बन्न सक्ने उनको भनाइ छ ।

गाउँपालिकाले पदमार्गलाई थप व्यवस्थित बनाउन डस्टबिन, विश्रामस्थल र सूचना बोर्ड जडान गर्दै आएको छ पदयात्रीलाई लक्षित गरी स्थानीय होमस्टे विस्तार र सांस्कृतिक स्वागत कार्यक्रम सञ्चालन गर्ने तयारीसमेत भइरहेको छ । उपाध्यक्ष खवासले वीरबहादुर राईको योगदानलाई सम्झने अभियान कुनै एक व्यक्तिको स्मरणमा मात्र सीमित नभई गाउँको विकासमा नागरिकको सहभागिता बढाउने माध्यमसमेत भएको बताइन् ।

उनका अनुसार सार्वजनिक सम्पत्तिको संरक्षण सरकार वा स्थानीय तहको मात्रै जिम्मेवारी नभई समुदायको साझा दायित्व हो भन्ने सन्देश अभियानले दिएको छ । ‘हामीले उहाँको नाममा बाटो र अभियान सञ्चालन गर्नुको अर्थ उहाँले देखाउनुभएको श्रमको बाटोलाई निरन्तरता दिनु हो । गाउँ सफा राख्ने, सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने र आफ्नो ठाउँको विकासमा आफैँ सहभागी हुने संस्कार विकास गर्न सके मात्रै उहाँप्रतिको साँचो सम्मान हुनेछ,’ खवासले भनिन् ।

।

प्रतिक्रिया
सम्बन्धित समाचार