Local Sandesh सोमबार, कार्तिक ३ २०८३
  • ट्रेण्डिङ :

आहा ! इलामको चित्रेबाट देखिएको हिमाल (तस्बिरहरु) 

आहा ! इलामको चित्रेबाट देखिएको हिमाल (तस्बिरहरु) 

  • सन्देश सम्बाददाता
  • सोमबार, कार्तिक ३ २०८३


आहा ! इलामको चित्रेबाट देखिएको हिमाल (तस्बिरहरु) 
इलाम (चित्रे) ।  इलामको सूर्योदय नगरपालिका–१ स्थित चित्रे पछिल्लो समय पर्यटकका लागि आकर्षणको नयाँ गन्तव्यमा विकास भएको छ । प्राकृतिक सौन्दर्य, हरियाली डाँडाकाँडा, ग्रामीण परिवेश र शान्त वातावरणले चित्रेलाई आन्तरिक र बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य बनेको हो ।
पर्यटकीय नगरी सूर्योदय नगरपालिका चियाबगान, हरियाली पहाड, सूर्योदय तथा सूर्यास्तको दृश्य र हिमशृङ्खलाको अवलोकनका लागि परिचित छ । नगरपालिकाले आफ्ना विभिन्न पर्यटकीय स्थलमध्ये चित्रे क्षेत्रलाई पनि पर्यटनको सम्भावना बोकेको स्थानका समेटेको छ । ऐतिहासिक गुम्बा समेत रहेको चित्रेको माथिल्लो भागमा प्राकृतिक टावरको रुपमा डाँडाहरु रहेका छन् । सोही डाँडाबाट नेपाल र भारतका भु–भागसँगै कंचनजंघा हिमालको दृश्य आनन्दले देखिन्छ ।
चित्रेको मुख्य विशेषता यहाँको प्राकृतिक तथा ग्रामीण वातावरण हो ।  व्यस्त बजार क्षेत्रभन्दा केही पर पुगेर प्रकृतिसँग रमाउन चाहने पर्यटकका लागि चित्रे उपयुक्त गन्तव्य बन्न बन्दै गएको थियो । यहाँबाट देखिने हरियाली डाँडाकाँडा, स्थानीय बस्ती, कृषि क्षेत्र र आसपासको प्राकृतिक दृश्यले पर्यटकलाई आकर्षित गर्ने गरेको सुर्योदय नगरपालिका १ का वडाअध्यक्ष राजकुमार सेरेङले बताए ।
चित्रे क्षेत्रलाई ग्रामीण पर्यटन र पदयात्रासँग जोडेर विकास गर्न सकिने सम्भावना पनि रहेको छ ।  सूर्योदय नगरपालिकाले नगरभित्रका पर्यटकीय क्षेत्रलाई व्यवस्थित गर्दै सबै मौसममा पर्यटक पुग्ने ‘एभरग्रीन टुरिस्ट डेस्टिनेसन’का रूपमा विकास गर्ने नीति अघि सारेको सुर्योदय नगरपालिका प्रमुख दुर्गा बरालले बताए ।
स्थानीय उत्पादन, कृषि, संस्कृति र ग्रामीण जीवनशैलीलाई पर्यटनसँग जोड्न सके चित्रेले स्थानीय बासिन्दाको आम्दानी बढाउन महत्वपूर्ण भूमिका खेल्न सक्ने  सुर्योदय नगर उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष प्रमोद राइले बताए ।  पर्यटकको बसाइ लम्ब्याउन होमस्टे, स्थानीय परिकार, पदमार्ग, दृश्यावलोकनस्थल तथा आवश्यक पूर्वाधार विकासमा जोड दिनुपर्ने उनको भनाइ छ ।
सूर्योदय नगरपालिका–१ गोर्खे क्षेत्रसहित आसपासका स्थानलाई एउटै पर्यटकीय सर्किटका रूपमा विकास गर्न सके चित्रेको पर्यटन सम्भावना अझ विस्तार हुने देखिन्छ ।  पर्यटन पूर्वाधारको विस्तार, सडक तथा पदमार्गको स्तरोन्नति, सरसफाइ, सूचना तथा प्रचारप्रसार र स्थानीय समुदायको सहभागिता बढाउन सके चित्रे सूर्योदय नगरपालिकाको थप महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुन सक्ने सम्भावना रहेको केचना कंचनजंघा पर्यटन विकास समितिका निर्वतमान सदस्य सुजन तिमसिनाले बताए ।  प्राकृतिक सौन्दर्य र ग्रामीण जीवनशैलीलाई नजिकबाट अनुभव गर्न चाहने पर्यटकका लागि चित्रे सूर्योदय नगरपालिकाको नयाँ पर्यटन गन्तव्यका रूपमा चिनिँदै गएको छ ।
थप तस्बिरहरु : 

प्रतिक्रिया
सम्बन्धित समाचार