पञ्चकन्या इलाम । सूर्योदय नगरपालिका–११ स्थित ऐतिहासिक पञ्चकन्या मन्दिरमा फूलपाती बढाइँ कार्यक्रम सम्पन्न भएको छ । नेपाली सेनाको उपस्थितिमा ऐतिहासिक पञ्चकन्या मन्दिरमा फुलपाति बढाइँ कार्यक्रम सम्पन्न भएको हो । सुगौँली सन्धिपछि नेपाली सेनाको उपस्थितिमा हुँदै आएको फुलपाती बढाइँ कार्यक्रम शसस्त्र द्धन्द्धको समयमा रोकिएपनि गत वर्षबाट पुनः शुरु भएको थियो ।
लामो समयदेखि रोकिएको परम्परालाई निरन्तरता दिँदै नेपाली सेनाले यस पञ्चकन्या मन्दिरमा फूलपाती बढाइँलाई निरन्तरता दिँदै आएको हो । बडादसैँको सप्तमीका दिन नेपाली सेनाले विशेष विधिपूर्वक फूलपाती भित्र्याउने तथा बढाइँ गर्ने परम्परा रहेको छ । पञ्चकन्या मन्दिरसँग नेपाली सेनाको ऐतिहासिक सम्बन्ध रहेको स्थानीयबासीको भनाइ छ । मन्दिर २ सय ५० वर्ष भन्दा अघि स्थापना भएपनि सुगौँली सन्धिपछि इलामको प्रशासनिक केन्द्र नागरी गढिबाट पुर्णेडाँडा सारिएपनि झनै महत्व बढेको थियो । पञ्चकन्या मन्दिरमा फूलपाती बढाइँलाई धार्मिक तथा ऐतिहासिक दृष्टिले महत्वपूर्ण मानिँदै आएको ।
स्थानीय इतिहासअनुसार पञ्चकन्या क्षेत्र सुगौली सन्धिपछिको समयदेखि नै नेपाली सेनाको गतिविधिसँग जोडिएको क्षेत्र हो । करफोक तथा पूर्णेडाँडा क्षेत्रमा तत्कालीन समयमा नेपाली सेनाको उपस्थिति रहेको र यस क्षेत्रमा धार्मिक तथा सांस्कृतिक परम्पराको विकास भएको सुर्योदय नगरपालिका प्रमुख दुर्गाकुमार बरालले बताए ।
इलाम सदरमुकाम स्थित नेपाली सेनाको रणसार्दुल गणको शैनिक टोकडीको उपस्थितिमा मन्दिर व्यवस्थापन समिति, सुर्योदय नगरपालिका प्रमुख दुर्गाकुमार बराल सहित कार्यपालीका सदस्य, वडा सदस्य राजनीतिक दलका प्रतिनिधिको उपस्थितिमा पञ्चकन्या मन्दिरमा फूलपाती बढाइँको काम भएको हो । यस कार्यक्रमले पञ्चकन्या क्षेत्रको धार्मिक तथा ऐतिहासिक पहिचानलाई थप संरक्षण र प्रवद्र्धन गर्न सहयोग पुग्ने स्थानीयवासीको विश्वास रहेको छ । यसले नेपाली सेना र स्थानीय समुदायबीचको ऐतिहासिक सम्बन्धलाई समेत पुनः स्मरण गराउने भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भिष्म प्रधानले बताए ।
कार्यक्रममा बोल्दै सुर्योदय नगरपालिका प्रमुख दुर्गा बरालले मन्दिरको ऐतिहासिक महत्व, स्थानीय धार्मिक परम्परा र नेपाली सेनासँगको सम्बन्धलाई संरक्षण गर्दै फूलपाती बढाइँलाई आगामी वर्षमा समेत निरन्तरता दिनुपर्नेमा जोड दिए । कार्यक्रममा नेपाली काग्रेस सुर्योदय नगर सभापति निर्मला कट्टेल अग्रवाल लगायत विभिन्न राजनितिक दलका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।
पञ्चकन्या मन्दिरको इतिहास
इलाम । सूर्योदय नगरपालिका–११ मा रहेको पञ्चकन्या मन्दिर धार्मिक आस्था, स्थानीय संस्कृति र ऐतिहासिक महत्व बोकेको पुरानो धार्मिकस्थलका रूपमा परिचित छ । मेची राजमार्ग नजिकै अवस्थित यस मन्दिरमा स्थानीय बासिन्दासँगै इलामका विभिन्न स्थान तथा बाहिरी जिल्लाबाट आउने भक्तजनले समेत पूजा–आराधना गर्दै आएका छन् ।
सूर्योदय नगरपालिकाले पञ्चकन्या मन्दिरलाई नगर क्षेत्रको प्रमुख पर्यटकीय तथा धार्मिक गन्तव्यका रूपमा विकास गर्ने योजना बनाएको छ ।
स्थानीय जनविश्वासअनुसार पञ्चकन्या मन्दिरको इतिहास निकै पुरानो रहेको बताइन्छ । मन्दिरमा पञ्चकन्या देवीको पूजा हुँदै आएको र यस क्षेत्रका बासिन्दाले देवीलाई शक्तिको प्रतीकका रूपमा श्रद्धा गर्ने गरेको स्थानीय भनाइ छ । केही स्थानीय विवरण तथा आगन्तुकहरूको अभिलेखमा मन्दिर करिब दुई सय ५० वर्ष पुरानो भएको तथा सुगौली सन्धिपछिको समयमा नेपाली सेनासँग जोडिएको ऐतिहासिक प्रसङ्गसँग यसको उत्पत्तिलाई जोड्ने गरिएको पाइन्छ । यद्यपि, यससम्बन्धी आधिकारिक अभिलेख वा प्रमाणित स्थापना मिति सार्वजनिक रूपमा उपलब्ध छैन ।
मन्दिर परिसरमा मुख्य देवीको मन्दिरसँगै गणेश, हनुमान र शनिदेवका मन्दिरसमेत रहेको पाइन्छ । यसले पञ्चकन्या मन्दिरलाई स्थानीय धार्मिक गतिविधिको महत्वपूर्ण केन्द्रका रूपमा स्थापित गरेको छ । पञ्चकन्या क्षेत्रको धार्मिक पहिचानसँगै यहाँको प्राकृतिक वातावरणले पनि मन्दिरको आकर्षण बढाएको छ । मेची राजमार्गसँग जोडिएको हुँदा यात्रु तथा पर्यटकलाई सहज पहुँच रहेको छ । फिक्कल, कन्याम र करफोक क्षेत्रको यात्राका क्रममा मन्दिरमा पुगेर दर्शन गर्ने तथा केही समय विश्राम गर्ने आगन्तुकको संख्या पनि बढ्दै गएको मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष दुर्गामान राईले बताए ।
पञ्चकन्या मन्दिर रहेको क्षेत्र साविक पञ्चकन्या गाविस अन्तरगत रहेको थियो । स्थानीय तह पुनर्संरचनापछि साविक पञ्चकन्या गाविसका विभिन्न वडाहरू सूर्योदय नगरपालिकाका वडामा समेटिएका छन् । हाल पञ्चकन्या मन्दिर सूर्योदय नगरपालिकाको धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा नगरपालिकाको परिचयमा समेत समावेश छ ।
स्थानीय धार्मिक सम्पदा, संस्कृति र इतिहासलाई संरक्षण गर्दै प्रचार–प्रसार गर्न सके पञ्चकन्या मन्दिरलाई सूर्योदयको धार्मिक पर्यटनको महत्वपूर्ण गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावना रहेको व्यवस्थापन समितिका अध्यक्ष भिष्म प्रधानले बताए । मन्दिरको वास्तविक इतिहास, स्थापना काल र विकासक्रमबारे थप अध्ययन तथा स्थानीय ज्येष्ठ नागरिक, पुजारी र सम्बन्धित अभिलेखबाट तथ्य संकलन गर्न सके यसको ऐतिहासिक महत्व अझ स्पष्ट हुने देखिन्छ ।