इलाम । जिल्ला प्रहरी कार्यालय इलामको आयोजनामा ७१औँ प्रहरी दिवस विविध कार्यक्रमसहित मनाइएको छ। “विपद्मा सारथी, संकटमा छायाँ, प्रविधियुक्त नेपाल प्रहरी” भन्ने नारासहित आयोजित कार्यक्रममा कर्तव्य पालनाका क्रममा वीरगति प्राप्त अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै विभिन्न व्यक्तित्व तथा प्रहरी कर्मचारीलाई सम्मान र पुरस्कार प्रदान गरिएको हो।
कार्यक्रममा इलामका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालको प्रमुख आतिथ्यता तथा जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक कुलदीप चन्दको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं १ गण हेडक्वाटर श्रीअन्तु इलामका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक केशवराज प्याकुरेल, राष्ट्रिय अनुसन्धान कार्यालय इलामका उप–अनुसन्धान निर्देशक सुशान्त बराल, रणशार्दूल गण इलामका सेनानी हर्कराज जबेगु शाही लगायत सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, पत्रकार, पूर्वप्रहरी कर्मचारी, अमर प्रहरीका परिवारजन र प्रहरी कर्मचारीहरूको सहभागिता थियो।
कार्यक्रमको सुरुवात अमर प्रहरी स्मारकमा पुष्पहार तथा पुष्पगुच्छा अर्पण गरी वीर अमर प्रहरीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै गरिएको थियो। त्यसपछि कर्तव्य पालनाका क्रममा वीरगति प्राप्त प्रहरी कर्मचारीहरूको सम्मानमा शोक सलामी अर्पण गरिएको थियो।
कार्यक्रममा अमर प्रहरी परिवारका सदस्यलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो। स्वर्गीय प्रहरी जवान अर्जुन योञ्जनका बुवा इलाम नगरपालिका–१० गोदकका दिलबहादुर योञ्जन, स्वर्गीय प्रहरी जवान केशरबहादुर लिम्बुकी बहिनी फाकफोकथुम गाउँपालिका–३ की टीका लिम्बु तथा स्वर्गीय प्रहरी जवान सन्तोष बुढाथोकीकी भाउजू सूर्योदय नगरपालिका–८ पालटाँगीकी लक्ष्मी बुढाथोकीलाई सम्मान गरिएको हो।
त्यस्तै, अवैध घरेलु हातहतियार बरामद गरी कानुन कार्यान्वयन तथा शान्ति सुरक्षा कायम गर्ने कार्यमा प्रशंसनीय योगदान पुर्याएको भन्दै इलाका प्रहरी कार्यालय मंगलबारेमा कार्यरत प्रहरी सहायक निरीक्षक प्रदीप मुखिया र प्रहरी चौकी नाम्सालिङमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार गोकर्ण विष्टलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो।
यसैगरी, कोशी प्रदेश कल्याण कोषद्वारा प्रदान गरिने उत्कृष्ट जेहेन्दार छात्र र छात्रा प्रोत्साहन कार्यक्रमअन्तर्गत इलाम नगरपालिका–६ निवासी पूर्व प्रहरी हवल्दार दुर्गाबहादुर बस्नेतका छोरा एलिस बस्नेतलाई प्रशंसा पत्र तथा नगद २५ हजार रुपैयाँ प्रदान गरिएको थियो। बस्नेतले कक्षा १२ को परीक्षामा २।९७ जीपीए प्राप्त गरेका थिए।
अस्थायी प्रहरी पोस्ट बिब्ल्याँटेलाई निःशुल्क जग्गा उपलब्ध गराउने इलाम नगरपालिका–५ निवासी एतलाल लिम्बुलाई पनि नेपाल प्रहरी प्रधान कार्यालयबाट प्रदान गरिएको प्रशंसा पत्र प्रदान गरिएको थियो।
कार्यक्रममा नेपाल प्रहरीका संगठन प्रमुख प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले ७१औँ प्रहरी दिवसका अवसरमा दिनुभएको शुभकामना सन्देश जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले वाचन गरेका थिए ।
कार्यक्रममा पूर्व प्रहरी संगठन कोशी प्रदेश समिति सदस्य मोहन गौतम पूर्वेली ट्याक्सि व्यवसायी संघका इलाम अध्यक्ष गृष्म सुब्बा, नेपाल पत्रकार महासंघ इलाम शाखाका अध्यक्ष भिम चापागाई लगायतले शुभकामना मन्तव्य राखेृका थिए । कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले प्रहरी संगठनले शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा नागरिक सेवामा पुर्याउँदै आएको योगदानको प्रशंसा गर्दै प्रहरी दिवसको शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रमको समापन गर्दै जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक कुलदीप चन्दले प्रहरी संगठनको जिम्मेवारी र नागरिकप्रतिको उत्तरदायित्वलाई अझ प्रभावकारी रूपमा निर्वाह गर्नुपर्नेमा जोड दिए ।