Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

कोशीको निर्यात प्रवर्द्धन रणनीति बनाउन इलाममा छलफल

कोशीको निर्यात प्रवर्द्धन रणनीति बनाउन इलाममा छलफल

  • सन्देश सम्बाददाता
  • सोमबार, भाद्र २९ २०८३


कोशीको निर्यात प्रवर्द्धन रणनीति बनाउन इलाममा छलफल

इलाम । कोशी प्रदेश सरकारले प्रदेशको आर्थिक कूटनीति तथा निर्यात प्रवर्द्धन रणनीति तर्जुमा गर्ने उद्देश्यले इलाममा सरोकारवालासँग छलफल तथा अन्तरक्रिया गरेको छ। कोशी प्रदेश सरकारले गठन गरेको निर्यातजन्य वस्तुको अवस्था अध्ययन कार्यदलको आयोजनामा भएको कार्यक्रममा प्रदेशमा उत्पादन हुने कृषि तथा वनजन्य वस्तुको अवस्था, बजार, निर्यातको सम्भावना तथा निर्यात प्रवर्द्धनका लागि आवश्यक नीतिगत व्यवस्थाबारे छलफल गरिएको हो।

कार्यक्रमको अध्यक्षता प्रदेश योजना आयोगका उपाध्यक्ष तारानाथ निरौलाले गरेका थिए। कार्यक्रममा कोशी प्रदेशका मुख्यसचिव राजेन्द्र पौडेलसहित प्रदेश सरकार, प्रदेश योजना आयोग, स्थानीय तह तथा निजी क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

कार्यदलको तर्फबाट मुख्यमन्त्रीका आर्थिक सल्लाहकार डा मोहन सुवेदीले संयुक्त प्रस्तुतीकरण गर्दै कोशी प्रदेशमा निर्यात प्रवर्द्धनका लागि हालसम्म भएका प्रयास र प्रदेशको विद्यमान अवस्थाबारे जानकारी गराएका थिए। कार्यक्रममा कृषि तथा वन क्षेत्रबाट उत्पादन हुने निर्यातयोग्य वस्तुको पहिचान, उत्पादनको अवस्था र त्यसको सम्भावित बजारबारे समेत छलफल भएको थियो।

कार्यदलमा मुख्यमन्त्रीका आर्थिक सल्लाहकार डा मोहन सुवेदी, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुख सचिव नारायणप्रसाद भट्ट, प्रदेश योजना आयोगका सचिव उद्धवप्रसाद रिजाल तथा आयोग सदस्य मनिता घिमिरेलगायत सहभागी छन्।

कार्यक्रममा कृषि ज्ञान केन्द्र इलामका प्रमुख रवि किरण र डिभिजन वन कार्यालय इलामका प्रमुख उत्सव थापाले कृषि तथा वन क्षेत्रको संयुक्त प्रस्तुतीकरण गरेका थिए। उनीहरूले जिल्लामा उत्पादन भइरहेका तथा व्यावसायिक रूपमा विस्तार गर्न सकिने कृषि र वनजन्य निर्यातयोग्य वस्तुका विषयमा जानकारी प्रस्तुत गरेका थिए।

त्यसैगरी इलाम उद्योग वाणिज्य संघका कृष्ण पौडेलले इलामको उत्पादन, बजार, निर्यातको अवस्था तथा निर्यात प्रवर्द्धनका लागि आवश्यक नीतिगत सुधारका विषयमा प्रस्तुतीकरण गरेका थिए। उनले स्थानीय उत्पादनलाई बजारसँग जोड्दै निर्यातयोग्य वस्तुको उत्पादन र बजारीकरण बढाउन प्रदेश तथा स्थानीय तहबाट प्रभावकारी नीति र कार्यक्रम आवश्यक रहेको धारणा राखेका थिए।

कार्यक्रममा इलाम नगरपालिका प्रमुख केदार थापा, माई नगरपालिकाका प्रमुख खम्बर सिंह लिम्बू, देउमाई नगरपालिकाका उपप्रमुख पविमाया पुष्पा राई, फाकफोकथुम गाउँपालिका अध्यक्ष दीपेन्द्र खनाल, सन्दकपुर गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ, माईजोगमाई गाउँपालिका अध्यक्ष कुशबहादुर थेबे, रोङ गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बो, सन्दकपुर गाउँपालिका उपाध्यक्ष हरिबहादुर लुङ्गेलीलगायत स्थानीय तहका जनप्रतिनिधिको सहभागिता थियो।

त्यस्तै इलाम नगरपालिका–३ का वडाध्यक्ष नुतनदेव दुलाल र माङ्सेबुङ गाउँपालिका–३ का वडाध्यक्ष जनम राईलगायतको पनि कार्यक्रममा सहभागिता रहेको थियो।

कोशी प्रदेशमा कृषि, वन, चिया, अलैँची, अदुवा, अम्लिसो, फलफूल, जडीबुटी तथा अन्य स्थानीय उत्पादनको व्यावसायिक उत्पादन र निर्यातको सम्भावना रहेकाले ती वस्तुको पहिचान, उत्पादन वृद्धि, गुणस्तर सुधार, प्रशोधन, प्याकेजिङ तथा अन्तर्राष्ट्रिय बजारसम्म पहुँच विस्तारका लागि प्रदेशस्तरीय रणनीति आवश्यक रहेको कार्यक्रममा जोड दिइएको थियो।

कार्यक्रमबाट जिल्लागत रूपमा निर्यातयोग्य वस्तुको अवस्था पहिचान गरी उत्पादनदेखि बजार र अन्तर्राष्ट्रिय निर्यातसम्मको मूल्य शृंखला व्यवस्थित गर्न नीतिगत आधार तयार पार्ने अपेक्षा गरिएको छ। कार्यक्रममा इलाम उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण पौडेलले इलामको उत्पादन, बजार, निर्यात, नीतिगत सुझाव सहितको प्रस्तुती दिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार