पशुपतिनगर । सूर्योदय नगरपालिका–३ रुङ्सुङ्गका गोपाल आचार्यको गाई फार्म उन्नत गाई पालन गर्न चाहने किसानको अध्ययनको थलो भएको छ । सिजनमा दैनिक ३ सय लिटरसम्म दूध उत्पादन भइ बिक्रि गर्ने फार्म इलामसँगै अन्य जिल्लाका किसानको अध्ययनको थलो भएको हो ।
सुर्योदय नगरपालिका ३ रुङ्सुङ्गका गोपाल आचार्यको परिवारले परम्परागत रुपमा गाईपालन गथ्र्यो । रुङ्सुङ्गको माथिल्लो गाउँ बाघबिरेमा उन्नत गाईपालन शुरु भएपछि आचार्य परिवारले उन्नत गाई खरिद गरे । उन्नत गाई पालन गर्नुपर्छ भन्नेमा आचार्य परिवारमा गोपाल अघि सरे ।
गोपाल आचार्यको गोठमा ३० वर्ष अघि एक माउ गाई थियो । सोहि गाईबाट नस्ल सुधार गर्दै अहिले गोठमा ३६ माउ गाई पुगेका छन् । आचार्यले गोठका गाईमा उन्नत सिमेन प्रयोग गरि नस्ल सुधार गर्छन् । आफ्नै गोठमा नस्ल सुधार भएका गाईको संख्या बढ्दै गएपछि उनले २०७२ मा फार्म नै गर्दा गरे । त्यसपछि शुरु भएको आचार्यको व्यवसायीक र उन्नत गाईपालनको यात्रा निरन्तर छ ।
पञ्चामृत गाई फार्म दर्ता भएपछि आचार्यको फार्ममा व्यवसायीक गाईपालनको अध्ययन गर्न इलामसँगै विभिन्न जिल्लाका किसान पुग्छन् । फार्ममा नस्ल सुधार भई हुर्किएका गाईले दैनिक २० देखि ३० लिटरसम्म दूध दिन्छन् । पशुहरुमा लागेको माहामारी रोग लम्पीस्कीनले १५ वटा माउ गाई मरेपनि आचार्य विचलित छैनन् । लम्पीस्कीन बाहेक अन्य रोगबाट ६ माउ गाई त्यसबेला मरेका थिए ।
आचार्यको गोठमा अहिले ६ वटा गाई दुहुना छन् । वर्षभरीनै दुहुना गाई हुने भएपनि सिजनमा १६ वटासम्म दूहुना गाई हुन्छन् । जसले गर्दा अहिले मेसिनबाट दूध दुहुने काम हुँदै आएको छ । आचार्यले गोठका गाईबाट नस्ल सुधार गरि जन्मिएका बाछा हुर्काएर बिक्रि गर्छन् भने बाछि फार्ममा पाल्छन् ।
आचार्यको फार्ममा अहिले आफ्नै श्रमबाट हुर्काएका गाई मात्रै छन् । जसका कारण आम्दानीको श्रोत राम्रो भएको छ । दूध ढुवानीका लागि आफ्नै गाडि छ भने फार्ममा तीन जनाले रोजगारी पाएका छन् ।
दूधबाहेक गाईको गोबर मल पनि बिक्रि हुने गरेको छ । एक गाडी गोबरमल एक हजार रुपैयाँमा बिक्रि हुँदै आएको हो ।
थप तस्बिरहरु :