इलाम । इलामका लेकाली क्षेत्रका किसान व्यवसायीक बाख्रा पालनमा आकर्षित भएका छन् । खसिबोका खरिदका लागि व्यवसायी गाउँमै पुग्न थालेपछि किसानले व्यवसायीक बाख्रा पालनबाट मनग्ये आम्दानी गर्दै आएका हुन् ।
इलामको लेकाली क्षेत्रमा व्यावसायिक बाख्रापालनमा किसानको आकर्षण बढेको छ । बजारको अभाव नहुने, आम्दानी मनग्गे गर्न सकिने भएपछि बाख्रापालनमा किसानहरु लागेका हुन् । नेपाल लाइभस्टक सेक्टर इनोभेसनले कृषि सहकारी संस्थाको सहकार्यमा बाख्रा पालन प्रवद्र्धन कार्यक्रम संचालन गरेपछि किसान आकर्षित भएका छन् ।
भिराला जग्गामा घाँस खेती गर्न, खोर सुधार र कम्पोष्ट मल बनाउने सम्मका योजनामा नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाले सहयोग गरेको छ । इलामको सन्दकपुर, माईजोगमाई गाउँपालिका क्षेत्रमा किसानले व्यवसायीक बाख्रा पालन गर्दै आएका छन् । सहकारीको ३० हजार ऋणबाट बाख्रा पालन शुरु गरेका सन्दकपुर २ का तीन बहादूर गुरुङ्गको फार्ममा अहिले अहिले ५० वटा सम्म बाख्रा रहेका छन् ।
सन्दकपुर २ को माइमझुवा क्षेत्रमा सन्दकपुर कृषि सहकारी संस्थाले सरकारी र गैरसरकारी संस्थाको सहकार्यमा व्यवसायीक बख्रा पालन प्रवद्र्धन कार्यक्रम गर्दै आएको छ । सहकारी संस्था मार्फत बाख्राको खोर सुधार, उन्नत घाँसको बिऊसँगै प्रविधि समेत हस्तान्तरण गरिँदै आएको छ ।
चरन क्षेत्रमा आधारित बाख्रा पालनलाई सुधारिएको खोरमा पालन गर्ने सिप किसानलाई हस्तान्तरण हुँदै आएको छ । सुधारिएको खोरमा बाख्रा पालन गर्ने किसानलाई उन्नत जातको घाँस वितरण गरिन्छ ।
बाख्रा पालन गर्ने किसानको आवश्यकताका आधारमा ऋण र अनुदानका कार्यक्रममा सहकारी संस्थाले सहभागि गराउँदै आएको सन्दकपुर कृषि सहकारीका अध्यक्ष मान बहादूर राईले बताए ।
मेहनत र सहि काम छनौट गर्न सकियो भने गाउँमा नै बसेर ठूलो आर्थिक प्रगती गर्न सकिन्छ भन्ने उदाहरण अहिले लेकाली क्षेत्रका किसान बनेका छन् ।