सूर्योदय (अन्तु) । युवा अवस्था पार गरेका भेट्रान्स फुटबल खेलाडीहरुको प्रतियोगिताको माध्यमबाट इलामको अन्तुमा पर्यटन प्रवद्र्धन हुँदै आएको छ । नेपाल र भारतका क्लबबाट ४ दशक उमेर पार गरेका फुटबल खेलाडी सहभागि भेट्रान्स फुटबल प्रतियोगिताको माध्यमबाट अन्तुमा पर्यटन प्रवद्र्धन गरिँदै आएको हो ।
भारत सिक्किमका फुर्वा छिरिङ्ग भुटिया फुटबल प्रतियोगिताको माध्यमबाट प्रथम पटक अन्तुमा पाइला टेके । दैनिक हजारौँ पर्यटकलाई स्वागत गर्ने अन्तुमा भुटियाका लागि पाइला टेक्ने माध्यम कात्तिक ७ बाट १० गतेसम्म आयोजित गोरख भेट्रान्स फुटबल प्रतियोगिता थियो ।
तिलक खतिवडा गोरख भेट्रान्स फुटबल प्रतियोगितामा सहभागि हुन सिक्कमबाट अन्तु आएका थिए । गोरख भेट्रान्स फुटबल प्रतियोगितामा छिरिङ भुटिया र तिलक खतिवडा मात्रै हैन दक्षिण सिक्किमका समाजसेवी हरिसचन्द्र बजगाई सहित ४० जना पर्यटक र खेलाडीको उपस्थिति थियो ।
सिक्किमको बरमिक नाम्पिङ्ग भेट्रान्स क्लबले गोरख भेट्रान्स फुटबल प्रतियोगितामा आफ्नो सहभागिता जनाएको थियो । फुटबल खेल्ने अवसरले पूर्वी नेपालको सुर्योदय पर्यटन प्रवद्र्धन भएको अन्तु क्षेत्रमा घुम्न पाएको बरमिक नाम्पिङ्ग भेट्रान्स सिक्किमका हरिसचन्द्र बजगाईको अनुभव छ ।
ग्रामीण क्षेत्रमा फुटबलको विकास र अन्तुको पर्यटन प्रवद्र्धनका लागि सूर्योदय नगरपालिका ५ को समाल्बुङ्गमा गत वर्षबाट गोरख भेट्रान्स फुटबल आयोजना हुँदै आएको छ । ४० वर्ष उमेर पार गरेका खेलाडीहरु सहभागि भेट्रान्स प्रतियोगितामा भारतको सिक्किम, दार्जिलिङ्गसँगै नेपालका प्रशिद्ध क्लबहरुलाई आयोजकले आमन्त्रण गरेको थियो । पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य रहेको प्रतियोगितामा भारतका दुई क्लब सहभागि थिए । सिक्किमको बरमिक नाम्पिङ्ग भेट्रान्स क्लब र दार्जिलिङ्गको जि जे युनाइटेड भेट्रान्स गोरख भेट्रान्स प्रतियोगितामा सहभागि थिए । खेलको माध्यमबाट भारतीय पर्यटक अन्तुमा आकर्षित गर्न फुटबल प्रतियोगिता गरिएको आयोजक समितिका विकास तामाङले बताए ।
गोरख भेट्रान्स फुटबल प्रतियोगिताको मुख्य उदेश्य पर्यटन प्रवद्र्धन भएपछि अन्तु पर्यटन व्यवसायी संघले प्रथम पुरस्कारको प्रायोजन गरेको थियो । भेट्रान्स फुटबल प्रतियोगितामा आयोजकले खेल अवधिको बिमा समेत गरेको थियो । आमन्त्रित रुपमा हुने भेट्रान्स फुटबल प्रतियोगिताले युवाहरुमा पनि सकारात्मक प्रभावसँगै पर्यटन प्रवद्र्धनमा सहयोगी बनेको हो ।