सन्दकपुर (जुमना ) । सन्दकपुर गाउँपालिका ५ को गजाधर धनमाया रङ्गशाला निर्माणमा बेलायतमा बस्ने नेपालीहरुले सहयोग गरेका छन् । सन्दकपुरबासीले जमुनामा ११ जना खेलाडी खेल्न मिल्ने फुटबल मैदान बनाउने अभियानमा बेलायतमा बसोबास गर्ने नेपालीहरुले सहयोग रकम हस्तान्रण गरेका हुन् । ऐतिहासिक कागे मेला र फुटबल आयोजना हुने सन्दकपुर ५ को जमुना क्षेत्रमा खेलकुदको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्न जिल्लाकै दोस्रो ठुलो फुटबल मैदान बनाउने अभियानमा इलाम समाज बेलायतले आर्थिक सहयोग गरेको हो । इलाम समाज बेलायतको इलाम फुटबल क्लब बेलायतले कागे फुटबल प्रतियोगिताको स्तरउन्नती र खेल मैदान निर्माणका लागि सहयोग गरेको कागे फुटबल आयोजक समितिका दर्पन गुरुङ्गले बताए । इलाम फुटबल क्लब बेलायत इलाम समाज बेलतायतको अभिन्न अंग हो । प्रतियोगिताको स्तरउन्नती र खेलमैदान निर्माणका लागि इलाम समाज बेलायतले बेलायतमै सहयोग अभियान चलाएको थियो । समाजले १ लाख बराबरको १५ तोला चादिँ जडित रनिङ ट्रफि र १४ लाख ५ हजार २ सय ५० रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको हो । समाजले ७ वटा विभिन्न विधाका ट्रफिहरु पनि सहयोग गरेको थियो । इलाम समाज बेलायतको अभिन्न अंगको रुपमा रहेको इलाम फुटबल क्लब बेलायतले कागे फुटबल प्रतियोगितामा आफ्नो खेल प्रदर्शन गरि भेट्रान्स तर्फ प्रथम स्थान हासिल गरेको थियो ।

भेट्रान्स फुटबल ४० वर्ष उमेर पुगेका खेलाडीहरुको सहभागितामा प्रतिस्पर्धा गराइन्छ । जसका लागि इलाम समाज बेलायतले इलाम फुटबल क्लबबाट आफ्नो टिम जुमनामा आयोजना भएको कागे फुटबल प्रतियोगितामा सहभागिता जनाएको थियो । समाजले कागे मेला तथा फुटबल प्रतियोगिताको फाइनलमा सहयोग रकमको चेक हस्तान्तरणसँगै ट्रफि समेत हस्तान्तरण गरेको हो । समाजले कागे मेला मेला आयोजक समितिका पूर्व अध्यक्ष इन्द्र गुरुङ्ग र सन्दकपुर गाउँपालिका ५ का अध्यक्ष यज्ञ गुरुङ्गलाई हस्तान्तरण गरेको थियो । इलाम समाज बेलायतको इलाम फुटबल क्लब बेलायतका अध्यक्ष धन बहादूर राई सहित १२ जनाको टोली सन्दकपुर ५ को कागे फुटबल प्रतियोगितामा प्रत्यक्ष सहभागि भई आर्थिक सहयोग लगायतका अन्य सामग्रीहरु हस्तान्तरण गरेको वडाअध्यक्ष यज्ञ गुरुङ्गले बताए ।
गजाधर धनमाया रङ्गशाला निर्माणका लागि इलाम फुटबल क्लब बेलायतका उपाध्यक्ष लेखराज राई, चोक गुरुङ्ग, लिला गुरुङ्ग, ज्ञान गुरुङ्ग, नेपाली फुटबल टिमका पूर्व कप्तान लोकबन्धु गुरुङ्ग लगायतले टोलीले सहयोग रकम संकलनका लागि पहल गरेका थिए । इलाम फुटबल क्लब बेलायतको टिमले कागे फुटबल क्लबको भेट्रान्स तर्फको बिजेता हुँदा प्राप्त भएको प्रथम पुरस्कारमा रकाम थप गरि साङछ्योलिङ गुम्बा जमुनालाई दान गरेको छ । २४ वर्ष अगाडि बेलायत आर्मीमा सेवा प्रवेश गरेका गजेन्द्र गुरुङ्गले आफ्नो ठाउँमा आएर फुटबल खेल्ने र फुटबलको विकास गर्ने उदेश्यले सहयोगका काम समेत गर्दै आएको बताए । २५ वर्षदेखि बेलायती आर्मीमा सेवारत चौक गुरुङ्गले ७ वर्ष अघिदेखि इलाम फुटबल क्लब बेलायतको माध्यमबाट नेपालको फुटलबको विकास गर्ने उदेश्यले सहयोग रकम प्रदान गर्दै आएको बताए । उनले भने- हामी फुटबल पनि खेल्ने र सहयोग गर्ने कामलाई निरन्तरता दिँदै आएको अवस्थामा यस वर्ष इलामको कागे फुटबल प्रतियोगितामा सहभागिता हुँदै गजाधर धनमाया रङ्गशाला निर्माणका लागि सहयोग गरेका छौँ ।

क्लबले काठमाडौँ, पोखरा,धरान, ताप्लेजुङ्ग लगायत विभिन्न क्षेत्रमा फुटबल खेल्न र सहयोग गर्दै आएको चोक गुरुङ्गले बताए । उनले भने- हामीले धनमाया गजाधर रङ्गशाला निर्माणसँगै पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले सहयोग रकम हस्तान्तरण गर्दै आएका छौ । सन्दकपुर गाउँपालिका भित्रका जुमना, माइमझुवा, माबु, देउराली लगायत जिल्लाका खेलमैदानमा फुटबल खेल्दै नेपाली फुटबल टिमको क्याप्टेन भएका सन्दकपुर गाउँपालिका ४ निवासी लोकबन्धु गुरुङ्ग पनि बेलाययतमा रहेर यो सहयोग अभियानमा लागेका छन् । देशको पक्षमा लामो सयम फुटबल खेल्ने र नेतृत्व गर्ने अवसर पाएका गुरुङ्ग पछिल्लो समय बेलायतमा बस्दै आएका छन् । उनीपनि अहिले इलाम फुटबल क्लब बेलायतमा सहभागि भई नेपालका विभिन्न क्षेत्रमा हुने फुटबल प्रतियोगिताहरुमा सहभागि हुने र सहयोग अभियानमा सक्रिय हुँदै आएका हुन् । जसका कारण नेपाल फुटबल क्षेत्रको विकासमा सहयोग पुग्ने विश्वामा रहेको गुरुङ्ग बताउँछन् ।

यस वर्षको प्रकोपले सन्दकपुर गाउँपालिकामा ठुलो क्षति भएको छ लोकबन्धु गुरुङ्गले भने- हामीले विपद् संकटग्रस्त गाउँपालिका रहेको सन्दकपुर ५ स्थित गजाधर धनमाया रङ्गशाला निर्माणमा सहयोग गरेका छौँ, यसले सन्दकपुरको मात्रै नभएर इलामको फुटबल खेलको विकासमा सहयोग पुर्याउँछ । इलाम फुटबल क्लब बेलायतको सहयोगले इलामको गजाधर धनमाया रङ्गशाला निर्माणमा मात्रै नभएर संगो इलामको फुटबल खेलको विकासमा सहयोग पुग्ने सन्दकपुर ५ का वडासदस्य कुमार गुरुङ्गले बताए । उनले भने- इलामको उत्तरी क्षेत्रमा रहेको सन्दकपुर गाउँपालिका पर्यटकीय क्षेत्रले भरिपूणर् गाउँपालिका भएकाले रङ्गशाला निर्माण भएमा खेलकुदका माध्यमबाट पर्यटन प्रवद्र्धनमा सहयोग पुग्नेछ । इलाम फुटबल क्लब बेलायतको सहयोगले सन्दकपुरको मात्रै नभएर इलामको फुटबलको विकासमा सहयोग पुग्ने भन्दै सन्दकपुर ५ निवासी अग्रज पत्रकार उमेश गुरुङ्गले खुसियाली साटेका छन् ।