काठमाडौं । नेपाल एक पटक फेरि घरेलु मैदानमा फाइनलमा चुक्दा साफ वुमन्स च्याम्पियनसिप जित्ने लक्ष्य अधुरै बनेको छ । बुधबार भएको साफ वुमन्स च्याम्पियनसिप २०२४ को फाइनलमा घरेलु टोली नेपाललाई २(१ ले हराउँदै बंगलादेशले लगातार दोस्रो पटक उपाधि जितेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनल खेलमा बंगलादेशका लागि ५२ औं मिनेटमा मोनिका चक्मा र ८१ औं मिनेटमा ऋतु पोर्ना चक्माले गोल गरे । नेपालका लागि अमिशा कार्कीले ५६ औं मिनेटमा मात्र एक गोल फर्काइन् । बंगलादेशका दुई डिफेण्डरले सुरुवातदेखि नै नेपालकी मुख्य खेलाडी सावित्रा भण्डारीलाई मार्क गरेका थिए । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दुवै टोलीले गोल गर्ने केही अवसर पाए पनि सदुपयोग गर्न सकेनन् । दुवै टोलीको एक(एक प्रहार बारमा लागेको थियो ।
पहिलो हाफको सुरुवाती केही मिनेटपछि नै नेपालले खेलमा दबाब बनाएको थियो । दोस्रो मिनेटमै नेपालको गल्तीमा बंगलादेशले राम्रो अवसर पाएको थियो । गोल पोष्टबाट बल चलाउने बेला गीता राना बल हान्ने बेला चिप्लिएपछि बंगलादेशकी तोहुरा खातुनले वान भर्सेस वानको अवस्थामा हानेको प्रहार बारमा लागेर फर्कंदा नेपाल भाग्यमानी बनेको थियो । रिबाउण्डमा तोहुराले नै हानेको बल गोलकिपर एन्जिलाले समाइन् ।
अमिसाले त्यसपछि पनि गोल गर्ने अवसर पाएकी थिइन् तर फिनिसिङमा चुकिन् । १९ औं मिनेटमा नेपालकी अमिशा कार्कीले बक्स बाहिरबाट हानेको शक्तिशाली प्रहार बारमा लागेर फर्कंदा नेपालले अग्रता लिने अवसर गुमाएको थियो । ३३ औं मिनेटमा बंगलादेशले बक्स नजिकै फ्रिकिक पाएको थियो । तर मोनिका चक्माको प्रहार पोष्टभन्दा बाहिर गयो ।
दोस्रो हाफमा नेपाली टिममा दुई परिवर्तन भएको थियो । पूजा रानाको स्थानमा समीक्षा घिमिरे र सरु लिम्बुको स्थानमा रश्मिकुमारी घिसिङ मैदान प्रवेश गरेका थिए । ५२ औं मिनेटमा मोनिका चक्माको गोलबाट बंगलादेशले पहिले अग्रता लियो । कप्तान सबिना खातुनको पासमा मोनिकाले गोल गरेकी थिइन् । तर त्यो गोल धैरै समय टिकेन ।
त्यसको चार मिनेटपछि नै अमिशा कार्कीले नेपालको लागि बराबरी गोल फर्काइन् । त्यसपछि पनि दुवै टोलीले अगता लिने अवसर पाएका थिए । ६१ औं मिनेटमा नेपालकी सावित्रा भण्डारीले बायाँ साइडबाट हानेको बल पोष्ट नजिकबाट बाहिर गएको थियो ।