इलाम । नेपालले अमेरिकाविरुद्धको ३ खेलको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । अन्तिम खेलमा अमेरिकालाई ८ विकेटले हराउँदै नेपालले ३ खेलको सिरिज क्लिन स्विप गरेको हो । १ सय ५७ रनको मध्यम लक्ष्य पाएको नेपालले ८ बल बाँकी छदै लक्ष्य पुरा गरेको हो । नेपालको जितमा आशिष शेखले अर्धशतकिय पारी खेले । ३९ बलमा ५ चौका र २ छक्काको मद्धतमा उनले ५० रन पुरा गरे ।
११ औ ओभरमा उनी ड्राइसेडलको बलमा जसदिप सिंहबाट क्याच आउट हुन पुगे । कुशल मल्लले ४४ र कुशल भुर्तेलले ४० रनको योगदान दिए । ओपनर अनिल शाहले १३ रन बनाए । अमेरिकाका ड्राइसेडल र जसदिपि सिंहले समान १÷१ विकेट लिए । अमेरिकाको ग्राण्ड प्रेरीमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ५६ रनको योगफल तयार गर्यो ।
साइतेजा मुककामल्लाले ५० बलमा ५ चौका र २ छक्काको सहयोगमा ६८ रन बनाए । मुककामल्ला अर्धशतक बनाएर सोमपाल कामीको बलमा बोल्ड आउट भए । चौथो विकेटका लागि मुककामल्ला र मिलान्ड कुमारले ७६ रनको साझेदारी गरेका थिए । कुमारले ३५ बलमा ४ चौकाको सहयोगमा नट आउट ४३ रन बनाए । आरोन जोन्स १३ रन बनाउँदै ललित राजवंशीको बलमा रिजन ढकालबाट समातिए ।
अमेरिका कप्तान मोनांक पटेल २ रन बनाउँदै सोमपालको बलमा एलबिडब्लु धरापमा परे । हर्मित सिंह १० रनमा नट आउट रहे । नेपालका लागि सोमपालले ३ तथा रिजन ढकाल र ललितले समान १ विकेट लिए । यसअघि सन् २०१९ मा नेपालले मलेसियामा घरेलु टोलीविरुद्धको २ खेलको टि ट्वान्टी आई सिरिज क्लिन स्विप गरेको थियो ।