इलाम । एक सय ३२ केभि प्रशारण लाइनका ४ वटा टावरमा क्षति पुगेपछि पूर्वी पहाडका ३ जिल्लाका २५ वटा विद्युत आयोजनाको उत्पादन ठप्प भएको छ । अशोज दोस्रो साता आएको बाढीबाट इलामको माई नगरपालिकामा रहेका ४ वटा टावर भत्किएपछि १ सय ८५ मेगावाट विद्युत उत्पादन ठप्प भएको हो ।
इलामको माई नदीमा आएको बाढीले काबेली करिडोर १३२ केभी प्रसारण लाइनका चारवटा टावरमा क्षति पुगेको थियो । बाढीले प्रसारण लाइनमा क्षति पु¥याएपछि ताप्लेजुङ, पाँचथर र इलाममा रहेका विद्युत आयोजनाहरूको १ सय ८५ मेगावाट विद्युत उत्पादन ठप्प भएको छ । टावर ढल्नुभन्दा अगाडि उक्त लाइनबाट दैनिक १८० देखि १८५ मेगावाटसम्म विद्युत केन्द्रिय प्रशारण लाइनमा जोडिएको थियो ।
काबेली करिडोर प्रसारण लाइनको इलामस्थित गोदकबाट झापाको दमक खण्डमा पर्ने ५०, ५१, ५२ र ५३ नम्बर टावर अशोज १२ मा भत्किएका थिए । माई नदीको बाढीले क्षति पु¥याएका टावर नबनिएकाले विद्युत प्रशारण लाइन ठप्प भएको विद्युत प्राधिकरण इलाम वितरण केन्द्रका इञ्जिनियर सरोजकुमार चौधरीले बताए ।
एक सय ३२ केभि प्रशारण लाइन ठप्प भएपछि प्राधिकरणले ३३ केभि प्रशारण लाइन संचालनमा ल्याएको छ । ३३ केभि प्रशारण लाइनबाट इलाम, पाँचथर र ताप्लेजुङमा विद्युत वितरण भएको छ । तर प्राधिकरणले यो प्रशारण लाइनमा ६ मेगावाट विद्युत मात्र लिन सकेको छ ।
चारवटा टावरमध्ये बाढीले ५१ र ५२ नम्बरकोलाई पूर्ण क्षति पु¥याएको छ । यी दुइटा टावर ढलेका छन् । ५० र ५३ नम्बर टावरमा आंशिक क्षति पुगेका छन् । क्षति भएका टावरमध्ये ३ वटा पूर्णरुपमा परिवर्तन गर्ने नेपाल विद्युत प्राधिकरण प्रशारण निर्देशनालयका उप कार्यकारी निर्देशक दिर्घायुकुमार श्रेष्ठले बताए ।
काठमाडौंबाट खटिएको सिभिल इन्जिनियर, भूगर्भविद सम्मिलित विज्ञसमूहको सिफारिसमा प्रशारण लाइनको टावर बनाउन सामग्री जुटाइएको छ । श्रेष्ठका अनुसार ३ वटा टावर निर्माणको काम आइतबारबाट शुरु हुने र एक मर्मत गरिनेछ । टावर निर्माण र मर्मतको काम १ महिनामा सकि संचालन गर्ने प्राधिकरणको योजना छ । काबेली कोरिडोर विद्युत प्रशारण लाइनमा इलामका १५, पाँचथर र ताप्लेजुङ्गका १० वटा जलविद्युत आयोजनाबाट उत्पादित विद्युत जोडिएका छन् ।