इलाम । कृषि विकास बैंक इलाम शाखाले निर्माण व्यवसायीका काममा सहजिकरण नगरेको भन्दै बैंकको इलाम शाखामा अल्टिमेटम सहित ज्ञापन पत्र बुझाएका छन् । निर्माण व्यवसायी संघ इलामका अध्यक्ष सन्तोष कुमार कटुवाल सहितको टोलीले कृषि विकास बैंक इलाम शाखामा आफ्ना समस्या समाधानको गर्न अल्टिमेटम सहित ज्ञापन पत्र बुझाएको हो । कृषि विकास बैंकले निर्माण व्यवसायीलाई निरन्तर ज्यादति गर्दै आएको र पटक पटक जानकारी गराउँदा पनि समाधान गर्नुको साटो उल्टै व्यवसायीलाई दुःख दिने काम गरिरहेकाले १ महिना भित्र आफ्ना माग पुरा गर्नुपर्ने ज्ञापन पत्रमा उल्लेख छ ।

धरौटी जमानत ग्यारेन्टिमा स्वीकृत लिमिट हुँदाहुँदै नगद मार्जिन माग गर्न थालेकोमा स्वतः हटाउनुपर्ने, निवेदन दिएको ३० मिनेट भित्र शाखाबाट ग्राहाकले ग्यारेन्टि पाउने व्यवस्था गर्नुपर्ने, बजार सापेक्ष ब्याजदर लागुगर्नुपर्ने माग रहेको छ । ठुला कम्पनी र माथिल्लो तहका कर्मचारीसँग उपवास हुनेलाई न्यून कमिसन लिने तथा साना मझौला ग्राहाकलाई मनोमानी हिसाबले ग्यारेन्टि कमिसन लिइरहेकोमा एकरुपता कायम गर्नुपर्ने, शाखाबाट एल सी ठेक्का कार्यान्वयन (बिल प्राप्त हुँदा किस्तामा तिर्न मिल्ने ) छोटो अवधिको कर्जा दिने व्यवस्था गर्नुपर्ने, एउटा फाइलको नविकरण ६ महिनासम्म लाग्ने गरेकाले सो फाइल एक हप्तामा गरिसक्नुपर्ने माग रहेको छ ।
