सुर्योदयको पहिलो किरण उदाउने अन्तु, तराईको गर्मी छिनभरमा छल्न सकिने कन्याम अनि भारतको पर्यटकीय सहर दार्जिलिङ यात्रा गर्ने पशुपतिनगर सीमा क्षेत्र रहेको हो सूर्योदय नगरपालिका । कोशी प्रदेशको पहाडी जिल्लाको ठुलो मध्येको एक यो नगरपालिका पर्यटकीय नगरी घोषित छ । त्यति मात्रै हैन बालमैत्री नगर, नेपाल नगरपालिका संघले उत्कृष्ट नगरपालिका घोषित भएको नगरपालिका हो, सुर्योदय । आन्तरिक आयको अथाहा सम्भावना रहेको चियाको राजधानी घोषित सूर्योदय नगरपालिकाको पूर्वाधार निर्माणमा जनताले स्थानीय सरकारको अनुभुति गर्न पाएका छैनन् । उल्टै वडामा दिएको बजेट सिलिङबाट एउटा टोल विकास गर्ने गरि मात्रै सडक स्तरोन्नती वडाहरुकै सिलिङबाट गर्ने गरिएको छ ।
वडाहरुको सिलिङबाट खर्च गर्दा चालु आर्थिक वर्षमा वडाका जनप्रतिनिधिहरुले जम्मा २१ लाख देखि ३० लाखका मात्रै योजना छनौट गरेका थिए । जसका कारण वडाध्यक्षहरुले जनताका मागहरु सम्बोधन गर्न सकेका छैनन् । इलाममा १० वटा स्थानीय तह छन् । बाँकी ९ वटा स्थानीय तहले वडाहरुको सिलिङबाट तोकिएको बजेटबाट वडास्तरीय विकासका योजनाहरु संचालन गर्दै आएका छन् । उनीहरुले पालिका स्तरमा प्राथमिकता प्राप्त योजनाहरु पालिस्तरको पूर्वाधारमा छुट्टयाइएको बजेटबाट कार्यान्वयन हुदै आएको छ । इलामको इलाम नगरपालिकाले त वडालाई अझ बढी जिम्मेवार बनाउन बजेट सिलिङ नै थपिएको थियो । तर आन्तरिक श्रोत पनि बढी हुने सूर्योदय नगरपालिकामा बजेट वडाको सिलिङबाट बाह्रमासे सडकमा लगानी गर्दा वडाका अन्य योजनाहरु स्थानीय तहको प्रथम निर्वाचनपछि देखिनै नगर प्रमुख र उप–प्रमुखको भिटो प्रयोग हुँदै आएको हो । जसका कारण समुदायले संघीयता र स्थानीय सरकारको अनुभुति गर्न पाएका छैनन् ।
६ सय ३२ किलोमिटर बढी सडक रहेको सुर्योदय नगरपालिकामा नगरपालिकाको आम्दानी श्रोत वृद्धि गर्ने खालका आर्थिक योजनाहरु छनौट गर्न नसक्दा संघ र प्रदेशको भर पर्नुपर्ने अवस्था छ । पर्यटन र कृषिको अधिक संभावना रहेको नगर क्षेत्रमा ग्रामीण क्षेत्रका टोल स्तरीय सडकमा बजेट विनियोजन नहुँदा किसानले सरकारको अनुभुति गर्न नपाएका हुन् । प्रश्न उठ्न सक्छ वडाको बजेट एउटा सडकमा लगाएमा राम्रो विकास हुन्छ । अरु त विस्तारै गरुला भन्ने योजना नगर प्रमुखमा हुनु स्वभाविक हो । तर वडाको जनताका स–साना योजनाहरु पनि वडा तहमा हुन सक्ने अवस्था छैन । जसले गर्दा जनताका समग्र अपेक्षा पुरा हुन सकेका छैन । र जनतामा निरासा मात्रै हैन सुन्दर सुर्योदयमा भविश्य नदेखेर तराईका जिल्लामा तातो घाँममा पिल्सिएर नै परिवार पाल्छु भनेर थाकथलो छोड्न बाध्य हुनु परेको छ ।
कन्याम र अन्तु समुदायले ग्रामीण अर्थतन्त्र विकासमा खाइ नखाइ पसिना बनाएर भविश्य खोजेको र संचार क्षेत्रले अधिक कलम चलाएर पर्यटनको आधार क्षेत्र बनाए । आधारक्षेत्र भएपछि स्थानीय तहले रङरोगन र सडक विस्तार त गरेको छ तर यहाँको प्रकृति संरक्षणमा ऊ जिम्मेवार छैन । किनकी सडक विस्तारमा सय वर्ष पुराना चियाका बिरुवा मास्न १५ मिटरको डन्डा लगाएको सुर्योदय नगरपालिकाले बचेको चियाका बोटको हत्या गर्नेगरि विकासका नाममा विनासको जग रोपिएको छ ।
त्यतिमात्रै हैन इलामकै अर्थतन्त्र चलायमान बनाउने कन्यामको छाति डोजरले फोरेर जग्गा प्लटिङ्गका लागि स्थानीय तह सहयोगी बन्न खोज्दै गर्दा सुर्योदय नगर भित्रका मेची, बिरिङ खोला क्षेत्रमा विकास कहिले पुग्छ । अर्को कुरा यी क्षेत्रमा बजेट पुर्याउने माध्यम वडाको बजेट एक सडकमा लगाउन बाध्य पार्ने अनी २० हजारका योजनाका लागि हजारौँ भाडा खर्चमा गाडि रिर्जभ गरि नगर प्रमुखको ढोका ढक्ढक्याउनुपर्ने कस्तो संघीयता ? कस्तो अधिकार सहितको स्थानीय सरकार ?
अधिकार सहितको स्थानीय सरकारको नेतृत्वमा जो पुग्छ त्यो आफु अजम्बरी भए र मै हु राज्य राज्य नै म हुँ जसरी तत्लो क्षेत्रमा जाने अधिकारी फकाएर, कानुन बनाएर, योजना बढी दिन्छु वा अरु कुनै बहानामा गरिएको कटौती जनताका लागि स्वीकार्य होइन र हुँदैन । त्यसैले वडाको बजेट सिलिङ अनुसार योजना छनौटको अधिकार वडालाई देऊ, नदिने हो भने सिलिङ बढाऊ त्यति पनि नसक्ने हो भने बार्षिक ७ करोड खर्च हुने बाह्रमासे सडक नगर स्तरीय सडकमा समावेस गर र बनाउँ, जनताको प्रत्यक्ष अनुहार देख्ने वडालाई कमजोर नबनाउ ।