Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

सरकारी नीतिको मारमा अदुवा किसान

सरकारी नीतिको मारमा अदुवा किसान

  • सन्देश सम्वाददाता
  • आइतबार, बैशाख २४ २०८०


सरकारी नीतिको मारमा अदुवा किसान

इलाम। इलामका लगभग १३ हजार परिवारले अदुवाको व्यावसायिक खेती गर्छन्। इलामको माइजोगमाई ४ का भूमि खनालले यस वर्ष दुई लाखको अदुवा बिक्री गरे। खनालजस्तै राम्रो मूल्यमा बिउ अदुवा बिक्री गरेका किसानलाई आर्थिक मन्दीका बेला राहत भएको छ।

खनालले खेतीकिसानी गरेरै छोराछोरीलाई सहरमा उच्च शिक्षा पढाइरहेका छन्। ‘अदुवामा रोग नलाग्ने हो भने गाउँको जीवनलाई सहज नै हुन्छ,’ उनले भने। खनालले तेह्र मन ९४० किलोको १ मन० अदुवा रोपेका थिए। खनालले भने ‘मन फलेछ, चार हजारको भाउमा बिक्री गरे।’ अहिले बजारमा प्रतिमन पाँच हजारसम्ममा अदुवाको कारोबार भइरहेको उनले सुनाए।

पहिले २५ मनसम्म अदुवा लगाउने उनले अहिले अदुवा खेती घटाएका छन्। भाइरस जन्य ओइलाउने रोगका कारण बिउको दाम पनि हराउन थालेपछि अधिकांश कृषकले अदुवा लगाउनै छोडेको उनले सुनाए।

भारतको भरमा हुने अदुवाको भाउ र रोगका कारण किसानहरू प्रत्येक वर्ष डराइडराई अदुवा खेती गर्ने गरेको माइजोगमाई(४ कै सुरेश भट्टराईले बताए। यस वर्ष ५० मन अदुवा रोप्ने योजनामा रहेका उनले रोग नलाग्दा एक वर्षमै कृषकले लाखौं कमाउने गरेको बताए। उनले भने ‘अदुवाको भर हुँदैन, जुवा खेले जस्तै हो। कहिले आउँछ कहिले जान्छ।’

इलामका १२ हजार ९ सय ३२ परिवारले अदुवाको व्यावसायिक खेती गर्ने गरेका छन्। इलाम, पाँचथर र झापामा अदुवाको उत्पादन बढ्दो रूपमा रहेको जिन्जर प्रोफाइल २०१६ मा उल्लेख छ।

कृषि विकास निर्देशनालय कोसीको तथ्यांकअनुसार गत आर्थिक वर्षमा इलाममा ३ हजार २ सय ३५ हेक्टरमा अदुवा खेती गरिएको थियो। सो वर्ष ५१ हजार ७ सय ६० टन अदुवा उत्पादन भएको थियो।

यो अघिल्लो वर्षको भन्दा ३ हजार १ सय ६० टनले बढी हो। अघिल्लो आर्थिक वर्षमा ४८ हजार ६ सय टन अदुवा उत्पादन भएको निर्देशनालयको तथ्यांकमा उल्लेख छ। निर्देशनालयका अनुसार कोसीका १४ वटै जिल्लामा अदुवा खेती हुने गरेको छ।

सबै जिल्लाको तुलनामा इलाम निक्कै अघि छ। कोसी प्रदेशभरि ८ हजार ८४ हेक्टरमा खेती गर्दा १ लाख १८ हजार ६ सय ६८ टन अदुवा उत्पादन हुने गरेको छ। अहिलेको मूल्य ९रु १०० प्रतिकिलो०ले कारोबार हुँदा नेपाली कृषकको घरमा वार्षिक करिब ११ अर्ब रुपैयाँ भित्रिनुपर्ने हो तर त्यस्तो हुँदैन।

सिजनमा अदुवाको भाउ प्रतिकिलो ३० रुपैयाँको हाराहारी मात्रै हुने गर्दछ। नेपालमा खपत हुने अदुवाको मूल्य महँगो भए पनि भारतमा पठाउने अदुवाको मूल्य ३०–३२ को हाराहारी हुने गरेको व्यापारीहरू बताउँछन्।

नेपालका २६ जिल्लामा अदुवा खेती हुँदै आएको छ। चीन र भारतपछि विश्वका अदुवा उत्पादक देशहरूमा नेपाल तेस्रो स्थानमा रहेको जिञ्जर प्रोफाइल २०१६ मा उल्लेख छ।
नेपालमा उत्पादन हुने अदुवामध्ये ९४ प्रतिशत भारतको बजारमा निकासी हुने गरेको छ। नेपाल अदुवा उत्पादक तथा व्यवसायी संघका केन्द्रीय महासचिव हेमन्त बोहोराका अनुसार भारतमा उत्पादन वृद्धि हुनासाथ नेपालको अदुवाको मूल्य निराशाजनक अवस्थामा ओरालो लाग्ने गरेको छ।

सरकारले वैकल्पिक बजारको खोजी नगरेसम्म कृषकले ढुक्क भएर खेती गर्ने अवस्था नरहेको उनले बताए। मेची भन्सार कार्यालय काँकडभिट्टाका अनुसार चालू आर्थिक वर्ष २०७९र८० को फागुन मसान्तसम्म नेपालबाट रु। ४० करोड ६१ लाख १८ हजार मूल्यबराबरको १ करोड २५ लाख ४७ हजार ६ सय ९० केजी अदुवा र सुठो भारत निर्यात भएको छ।

यसरी हेर्दा किसानले यस वर्ष प्रतिकिलो ३२ रुपैयाँले अदुवा बिक्री गरेको पाइन्छ। समयमै अदुवा बिक्री भएपछि अहिले बिउ अदुवा भने मागअनुसार उपलब्ध गराउन नसक्ने अवस्था आएको कृषक खनालले बताए। गत आव २०७८र७९ को सोही आठ महिनाका अवधिमा काँकडभिट्टा भन्सार हुँदै नेपालबाट रु। १७ करोड १७ लाख २१ हजार मूल्यबराबरको ५३ लाख ७४ हजार ५ सय केजी अदुवा र सुठो भारत निकासी भएको थियो। नेपालबाट जाने अदुवा माटोसहित जाने भएकाले नेपालको अदुवाले भाउ पाउन नसकेको महासचिव बोहोराले बताए। उनले भने ‘हाम्रो प्रयास अदुवाको गुणस्तरमा सुधार गरौं भन्ने हो तर अझै सम्भव भएको छैन।’

अघिल्लो आवको १२ महिनामा भने रु। ३२ करोड ५४ लाख ३५ हजार मूल्यबराबरको १ करोड १ लाख ७८ हजार १ सय ५० केजी अदुवा र सुठो भारत निकासी भएको थियो। अदुवा नै बिक्री नहुने अवस्था आए पनि नेपालमै प्रशोधन गरेर मूल्य अभिवृद्धि गर्ने लक्ष्यसहित झापामा स्थापना भएको अदुवा प्रशोधन प्लान्ट प्रभावकारी रूपमा सञ्चालन हुन नसक्दा भारत जाने अदुवामा नेपालले प्रभावकारी मोलमोलाइ गर्न सकेको छैन।

ठूलै सपनाको प्रचार गर्दै पूर्वी नेपालका अदुवा किसान माझ आएको करोडौंको परियोजनाले किसानलाई भुक्याएर फर्किएको किसानको आरोप छ।

किसानलाई अदुवामा सुविधैसुविधा दिने भन्दै आएको योजना सात करोडको संरचना र हजारौं किसानको सपना अलपत्र पारेर फर्किएको उनीहरूको आरोप रहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार