Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

मरब क्याम्पस : स्ववियु निर्वाचनमा राष्ट्रिय गठबन्धन भन्दा फरक तालमेल

मरब क्याम्पस : स्ववियु निर्वाचनमा राष्ट्रिय गठबन्धन भन्दा फरक तालमेल

  • सन्देश सम्वाददाता
  • शनिबार, फाल्गुन २७ २०७९


मरब क्याम्पस : स्ववियु निर्वाचनमा राष्ट्रिय गठबन्धन भन्दा फरक तालमेल

इलाम । चैत ५ मा हुन स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसमा विद्यार्थी संगठनले गठबन्धन गरेका छन् । मरब क्याम्पसमा राष्ट्रिय रूपमा राजनीतिक दलको गठबन्धनभन्दा भिन्न हिसाबले समेत विद्यार्थीले चुनावी तालमेल गरेका छन् । नेकपा (एमाले) निकट अनेरास्ववियु, नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) र राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले संयुक्त प्यानल बनाएका छन् ।

अनेरास्ववियुका दशर्न कुलुङ राई प्यानलबाट सभापतिको उम्मेदवार छन् । उपसभापतिमा अनेरास्ववियुकै सुशान्त चापागाईं (समानुपातिक) सचिवमा अखिल क्रान्तिकारीका राजेन्द्र लोहार, सहसचिवमा पनि अखिल क्रान्तिकारीकै रेविका राई (समानुपातिक) र कोषाध्यक्षमा अनेरास्ववियुका विशाल कार्कीले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रत्यक्षतर्फ अनेरास्ववियुबाट गोपीराज लिम्बू र बबिता खनाल, अखिल क्रान्तिकारीबाट मनिषा दुलाल, ज्ञानेन्द्र चापागाईं, शम्भू राई र पुष्कर बोहोरा तथा राप्रविसं बाट उज्ज्वल पौडेलले सदस्यको उम्मेदवारी दर्ता गराएको सभापतिका उम्मेदवार राईले जानकारी दिए । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ, नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियू, जनता समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियन र विप्लव नेतृत्वको नेकपा निकट अनेरास्ववियु (क्रान्तिकारी) ले लोकतान्त्रिकक समाजवादी विद्यार्थी प्यानल बनाएका छन् ।

सो प्यानलबाट नेपाल विद्यार्थी संघका याकु राईले सभापतिमा उम्मेदवारी दिएका छन् । सचिवमा अनेरास्ववियूका किरण गौतम र कोषाध्यक्षमा समाजवादी विद्यार्थी युनियनकी निवाता राईले उम्मेदवारी दर्ता गराएका छन् । सदस्यहरुमा नेबि संघबाट रेखा बेघा, अनिता राई, राम बिक र कृष्ण चापागाईले उम्मेदवारी दिएका छन् । समाजवादी विद्यार्थी युनियनबाट मनिषा लिम्बु र कमला लिम्बु तथा अनेरास्ववियूबाट मनोज पोखरेलले उम्मेदवारी दर्ता गराएको अनेरास्ववियू इलाम सचिव चेतन अधिकारीले जानकारी दिए ।

उनका अनुसार समानुपातिकबाट निर्वाचित हुने उपसभापति नेपाल विद्यार्थी संघ र सहसचिव अनेरास्ववियूले लिने सहमती भएको छ । निर्वाचन समितिका अनुसार स्ववियुको १९ सदस्यीय कार्य समितिमा प्रत्यक्षतर्फ सभापति, सचिव, कोषाध्यक्ष र ७ सदस्य निर्वाचित हुनेछन् । उपाध्यक्ष, सहसचिव र ७ सदस्य समानुपातिकबाट आउनेछन् । निर्वाचन तालिकाअनुसार उम्मेदवारी मनोनयनको समय आज (शनिबार)का लागि तय गरिएको छ । समानुपातिकतर्फका पदाधिकारी र सदस्यका उम्मेदवारको बन्दसूची पनि आजै बुझाइनेछ ।

२८ वर्ष ननाघेका उम्मेदवारले मात्रै मनोनयन दर्ता गर्न पाउनेछन् । मतपत्रमा प्रत्यक्षतर्फ उम्मेदवारको नामको छेउमा र समानुपातिकतर्फ विद्यार्थी संगठनको नामको छेउमा रेजा लगाएर मतदान गर्ने व्यवस्था रहेको निर्वाचन अधिकृत कृष्णकुमार खत्रीले जानकारी दिए । प्रत्यक्ष र समानुपातिक दुवैतर्फको मतगणना मतदान भएको बढीमा ७ दिनभित्र आइसक्ने उनले जानकारी दिए । मरब क्याम्पसमा १ हजार ९ सय ४१ विद्यार्थी मतदाता छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार