Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

माग बढेपछि अकबरे खोर्सानीको बिरुवा उत्पादनमा अलैँची विकास केन्द्र

माग बढेपछि अकबरे खोर्सानीको बिरुवा उत्पादनमा अलैँची विकास केन्द्र

  • सुजन तिमल्सिना
  • शनिबार, साउन २१ २०७९


माग बढेपछि अकबरे खोर्सानीको बिरुवा उत्पादनमा अलैँची विकास केन्द्र

इलाम । नेपालको एक मात्र अलैची विकास केन्द्रले अकबरे खोर्सानीको बिऊ उत्पादन शुरु गरेको छ । पूर्वी नेपालको इलाममा व्यवसायीक खेती हुँदै आएको अकबरे खोर्सानीको बिरुवाको माग बढेपछि केन्द्र खोर्सानीको पनि बिऊ उत्पादन शुरु गरेको हो ।


इलाममा व्यवसायीक खेती हुने अकबरे खोर्सानीको बिरुवाको माग बढेको छ । अकबरे खोर्सानी पश्चिम नेपालमा विस्तार हुन थालेपछि अलैची विकास केन्द्रले बिऊ उत्पादन शुरु गरेको छ । व्यवसायीक खेतीका लागि अकबरे खोर्सानीको बिरुवा र बिऊको माग धेरै भएकाले अलैची विकास केन्द्रले उत्पादन गर्न थालेको हो ।
अलैची विकास केन्द्रले अलैँचीका बिरुवा मात्रै उत्पादन गर्दै आएको थियो । अलैँचीका बिरुवाको खरिद गर्ने स्थानीय तह र किसानले खोर्सानीको बिऊसँगै बिरुवाको माग गरेकाले केन्द्रको फार्ममा अहिले बिऊ उत्पादन गर्न अकबरे खोर्सानी रोपण हुँदै आएको छ ।


अलैची विकास केन्द्रमा अहिले रसुवा, रामेछाप, दैलेख, पाल्पा, दोलखाका जिल्लाबाट खोर्सानीका बिऊ र विरुवाको माग छ । पूर्वी नेपालमा व्यवसायीक खेती हुँदै आएको अकबरे खोर्सानीको बिरुवा र बिऊ माग अनुसारको पुरा नभएकाले खोर्सानीको बिरुवा र बिऊ उत्पादन कार्यक्रम संचालन गरेको केन्द्रका प्रमुख भिष्मकान्त घिमिरेले बताए ।


नेपालसँगै अन्तराष्ट्रिय बजारमा पनि माग रहेको अकबरे खोर्सानीको अहिले पूर्वी नेपालमा व्यवसायीक खेती हुदै आएको छ । अकबरे खोर्सानी नेपाली बजारमा प्रतिकिलो ३ सय रुपैयाँमा बिक्रि हुँदै आएको छ । नेपालमा भ्रमणमा आउने पर्यटक र नेपालबाट युरोपमा बसोबास गर्ने आफन्तका लागि समेत खोर्सानी अन्तराष्ट्रिय बजारमा निर्यात हुने गरेको छ । भारतको दार्जिलिङ र पश्चिम बंगालका बजारमा अकबरे खोर्सानीको बढी मात्रामा निर्यात हुने गरेको छ ।


सरकारी मूल्य अनुसार अकबरे खोर्सानीको बिऊ प्रतिकिलो ३० हजार रुपैयामा बिक्रि हुन्छ । केन्द्रले बिरुवा प्रतिबोट ५० पैशामा बिक्रि गर्दै आएको हो । केन्द्र गत वर्ष ५ हजार वटा बिरुवा र आधाकिलो बिऊ बिक्रि गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार