पछिल्लो दशकभरि नै नेपालमा चर्चामा रहेको खेल हो क्रिकेट । नेपाली क्रिकेटको इतिहासमा पनि पछिल्लो दशक निकै महत्वपूर्ण र अविश्मरणीय रहेको छ । नेपालको पहिलो विश्वकप यात्रा देखि नेपालको एकदिवसिय क्रिकेट मान्यता दशकका महत्वपूर्ण उपलब्धीहरु हुन् । त्यस्तै नेपाली खेलाडीहरुको अन्तरराष्ट्रिय फ्रेन्चाइज लिगहरुमा छनौटको पल पनि नेपाली क्रिकेट पारखीहरुको लागि एउटा ऐतिहासिक महत्वको उत्सव भन्दा कम रहेन ।
नेपाली क्रिकेटले एकदिवसिय मान्यता प्राप्त गरे सँगै सुरु भएको क्रिकेट रंगशाला निमार्ण अभियानमा नेपालीहरुको सहयोग र समर्थनले पनि नेपालमा क्रिकेट खेलको लोकप्रियताको थप पुष्टि गरिरहेको छ । तर नेपाली क्रिकेटको सफलता भने पुरुष क्रिकेटमा मात्र सिमित भइरहेको छ ।
विश्वभरी नै पुरुष क्रिकेटको तुलनामा महिला क्रिकेट केहि पछि परेको देखिन्छ । तर पछिल्लो समयमा महिला क्रिकेट तर्फको आकर्षण भने बढ्दै गएको देखिन्छ । यसै वर्ष सम्पन्न महिला टी–ट्वान्टी विश्वकपका खेलहरुमा दर्शकको भारी उपस्थितिले पनि महिला क्रिकेट तर्फ क्रिकेटका दर्शकहरुको रुची विश्वभरी नै बढ्न थालेको देखिएको छ ।
क्रिकेटको महाशक्ति राष्ट्र अस्ट्रेलियाले महिला बिग ब्यास लिगमा पाएको सफलता सँगै अर्को महाशक्ति राष्ट्र भारतले पनि महिला क्रिकेटको लागि आइपिएल जस्तै फ्रेन्चाइज क्रिकेटको आयोजना गर्ने छलफल गरिरहनुले महिला क्रिकेटको विश्वव्यापी भविष्य उज्जवल हुने अनुमान गर्न सकिन्छ । विश्व क्रिकेटका महाशक्ति राष्ट्रहरु महिला क्रिकेटलाई व्यवसायिक क्रिकेट बनाउने दिशा तर्फ अगाडि बढिरहँदा नेपालमा भने महिला क्रिकेट औपचारिकतामा नै सिमित हुने खतरा देखिएको छ ।
समग्र क्रिकेट खेल नै राज्यको नजरबाट टाढा रहेको नेपाली परिस्थितिमा महिला क्रिकेट अझ दयनिय अवस्थामा रहेको छ । क्रिकेट प्रतियोगिताहरुको अभाव नै मुख्य समस्याको रुपमा देखिएको नेपाली क्रिकेटको पछिल्लो वर्षहरुमा पुरुष क्रिकेट प्रतियोगिताको संख्यात्मक वृद्धि भने भएको छ । गुणात्मक वृद्धि नभएतापनि संख्यात्मक वृद्धिले पनि नेपाली पुरुष क्रिकेटमा नयाँ नयाँ खेलाडीहरुले अवसर भने पाइरहे ।
यसले केही मात्रामा नेपाली पुरुष क्रिकेटलाई चलायमान बनाइरहन मद्धत नै गर्नेछ । तर महिला क्रिकेटमा भने नेपाल धेरै पछि रहेको छ । सिमित मात्रामा गरिने राष्ट्रिय प्रतियोगिता नामको केही दिनको खेलहरु र एउटा फ्रेन्चाइज क्रिकेट भनिएको थप केही दिनको महिला क्रिकेटले विश्वव्यापी महिला क्रिकेटसँग प्रतिस्पर्धा गर्न असम्भव नै छ ।
नेपालमा आजको भोली नै महिला क्रिकेटमा ठुलो परिवर्तन गर्न सक्ने अवस्था पनि छैन । तर महिला क्रिकेटको लागि आजै बाट योजनाहरु नबनाउने हो भने नेपाली महिला क्रिकेट औपचारिकतामा नै सिमित हुनेछ । महिला क्रिकेटको विकासको लागि सबैभन्दा पहिले महिलाहरुलाई क्रिकेट तर्फ आकर्षण गराउनु आवश्यक छ । हरेक अभिभावकहरु आफ्ना छोरीहरुप्रति केही सचेत नै हुने गर्दछन् ।
नेपाली समाजको सामाजिक र सांस्कृतिक अवस्था अनुसार नै भोली आफ्ना छोरीलाई कसैले नहेपोस् भन्ने उद्धेश्यले हरेक अभिभावक छोरीहरुलाई सक्षम बनाउनुपर्छ भन्ने सोचि नै रहेका हुन्छन् । र त्यसमा प्रयासरत नै देखिन्छन् । खेल जिवन पछिको भविष्य के होला ? भन्ने प्रश्नको उत्तर नपाएर पनि धेरै अभिभावकहरुले छोरीहरुलाई खेल जिवन तिर प्रेरित नगरेको पाइन्छ ।
सक्रिय खेल जिवन पछि पनि नेपाली महिला क्रिकेटरहरुको भविष्य उज्जवल छ भनेर नेपाल क्रिकेट संघ र नेपाल सरकारले देखाउने हो भने नेपाली अभिभावकहरु पक्कै पनि छोरीहरुलाई क्रिकेट खेल्न प्रेरित गर्न थाल्नेछन् । त्यसो त अहिले नेपालमा महिला क्रिकेटरहरुको मात्र नभइ पुरुष क्रिकेटरहरुको पनि सक्रिय खेल जिवन पछिको सुनिश्चित भविष्य त छैन । तर पनि पुरुष क्रिकेटरहरुलाई महिला क्रिकेटरहरुको भन्दा केही सहज नै हुने गर्दछ ।
आफ्नो जिवनको महत्वपूर्ण समय क्रिकेटमा दिने महिला खेलाडीहरुलाई भने खेल जिवनको अन्त्य र वैवाहिक जिवनको सुरुवात सँगै भविष्यका दिनहरु असहज नै हुने गर्दछ । महिला क्रिकेटको नेपाली अवस्थालाई हेर्ने हो भने पनि नेपाल प्रहरी नेपाली सेना वा शसस्त्र प्रहरी बलमा कार्यरत बाहेकका महिला खेलाडीहरु सायद खेल जिवन पछि के गर्ने भन्ने प्रश्नको उत्तर खोजिरहेका होलान् ।
प्रहरी, सेना जस्ता विभागिय टोलीहरुले मात्र नेपाली महिला क्रिकेट अगाडी बढाउन सक्दैन । नेपाल सरकार र नेपाल क्रिकेट संघले यस बारेमा सोच्ने समय आएको छ । महिला क्रिकेटरहरुको भविष्य सुनिश्चित गर्ने एउटा उपाय भनेको नेपाल सरकारको प्रशासनिक कार्यहरुमा महिला क्रिकेटरहरुलाई नियुक्त गर्ने हो ।
राष्ट्रिय टिमबाट खेलेका महिला क्रिकेटरहरुलाई नेपाल सरकारले कम्तिमा संघीय सरकारमा नायब सुब्बाका पदहरुमा नियुक्त गर्ने गरेमा महिला क्रिकेटरहरु भविष्यको चिन्ताबाट मुक्त हुनेछन् । त्यस्तै प्रादेशिक टिमबाट खेल्ने महिला क्रिकेटरहरुलाई पनि प्रदेश सरकारले आफ्नो कर्मचारीमा नियुक्त गर्न आवश्यक छ ।
ठिक त्यसरी नै स्थानिय तहहरुले पनि राष्ट्रिय र प्रदेश टिम सम्म नपुगेको आफ्ना स्थानीय तहका महिला क्रिकेट खेलाडीहरुलाई स्थानीय रुपमा नियुक्त गर्ने कर्मचारीहरुमा प्राथमिकता दिदै जाने हो भने महिला क्रिकेटरहरुको खेल जिवनपछिको भविष्य पनि सुनिश्चित बन्ने नै छ । त्यस्तै जिल्ला प्रदेश वा राष्ट्रिय टिममा छनौट भएका महिला खेलाडीहरुलाई निःशुल्क शिक्षाको व्यवस्था सरकारले गर्नपर्छ ।
यसले गर्दा नेपाली अभिभावकहरुले पनि आफ्ना छोरीहरुलाई क्रिकेटर बन्न प्रेरित गर्न थाल्नेछन् । नेपाली महिला क्रिकेटमा अब विद्यालय स्तरबाट नै विकास गर्न आवश्यक छ । नेपालमा अहिले नेपाली महिला क्रिकेटको संचना नै बनेको छैन । नेपाली महिला क्रिकेटको संरचनागत विकास आजको आवश्यकता रहेको नै छ ।
विद्यालय स्तरबाट नै महिला क्रिकेट प्रतियोगिताहरु सञ्चालन गर्दै लैजाने हो भने महिला क्रिकटरहरुको वृद्धि हुदै जाने छ, र महिला क्रिकेटमा सानै उमेर बाट आकर्षण बढ्दै जानेछ । जुनियर लेभलमा महिला क्रिकेट टिम नै नपुग्ने वर्तमान अवस्थालाई चिर्न पनि नेपालमा विद्यालय स्तरबाट नै महिला क्रिकेटको थालनी आवश्यक रहेको छ ।
महिला क्रिकेटरहरुको लागि अभ्यास र प्रशिक्षणको लागि छुट्टै महिला क्रिकेट एकेडेमीको सुरुवात गर्नु पनि आजको आवश्यकता रहेको छ । हाल नेपालमा नीजि लगानीका क्रिकेट एकेडेमीहरु बढिरहेको भएतापनि महिला खेलाडीहरुलाई ति एकेडेमीहरुमा पनि सहज छैन । पर्याप्त संख्यामा महिलाहरु प्रशिक्षणको लागि नआउने हुँदा एकेडेमीमा प्रशिक्षणको लागि जाने महिला खेलाडीहरुलाई सहज प्रशिक्षण र पर्याप्त खेल अभ्यास अझै हुन सकेको छैन ।
यसको व्यवस्थापनको लागि पूर्व महिला क्रिकेटरहरुलाई प्रशिक्षणको जिम्मा दिएर नेपाल क्रिकेट संघ आफैले वा नीजि लगानीकर्ताहरुसँग सहकार्य गर्दै महिलाहरुको लागि क्रिकेट एकेडेमी सञ्चालन गर्ने हो भने महिला क्रिकेट खेलाडीहरुको लागि प्रशिक्षण र अभ्यास सहज बन्दै जानेछ ।
महिला क्रिकेटको नियमित प्रतियोगिता पनि नेपाली क्रिकेटको लागि आवश्यक छ । माथि नै चर्चा गरिएको सिमित प्रतियोगिताहरुले विश्व महिला क्रिकेट सँग प्रतिस्पर्धा गर्न नेपाल तयार हुन सक्दैन । विद्यालय स्तरबाट नै नियमित क्रिकेट खेलाउन सके मात्र नेपाली क्रिकेट विकास सम्भव छ ।
विद्यालय क्रिकेट बाट स्थानिय तह क्रिकेट र त्यसपछि जिल्ला स्तरिय क्रिकेट प्रतियोगिता हुदै प्रदेश र राष्ट्रिय स्तरका क्रिकेट प्रतियोगिताहरु सञ्चालन गर्ने हो भने नेपाली महिला क्रिकेटको विकासलाई कसैले रोक्न सक्ने छैन ।
(लेखक आचार्य स्वतन्त्र खेल विश्लेषण गर्छन्)