शरणामती । झापाको झापा गाउँपालिका–६ शरणामतीमा जारी दोश्रो अध्यक्ष कप भलिबल प्रतियोगिताको आज सम्पन्न खेलमा आमचोक गाउँपालिका भोजपुर, भद्रपुर नगरपालिका र झापा गाउँपालिका विजयी भएका छन् । आमचोकले पहिलो खेलमा झापाको अर्जुनधारा नगरपालिकालाई २५–१७, २५–१३ र २५–१५ ले पराजित गरेको हो ।
सो खेलको म्यान अफ दि म्याच आमचोकका रोमन बस्नेत भए । त्यस्तै दोश्रो खेलमा भद्रपुर नगरपालिकाले टेम्केमैयुङ्ग गाउँपालिका भोजपुर लाई २५–१७, २५–१७ र २५–२० को सोझो सेटमा पराजित गरेको छ । सो खेलमा उत्कृष्ट प्रदर्शन गरेका भद्रपुरका भरत यादव म्यान अफ दि म्याच घोषित भए ।
त्यस्तै बुधबार सम्पन्न अन्तिम खेलमा आयोजक झापा गाउँपालिकाले इलामको चुलाचुली गाउँपालिकालाई २५–१३, २५–२० र २५–२१ को सोझो सेटमा पराजित गरेको छ । झापाका रोशन शिवाकोटी म्यान अफ दि म्याच घोषित भए । जितसँगै झापा गाउँपालिका सेमिफाइनलमा प्रबेश गरेको । आमचोक र भद्रपुर क्वाटर फाइनलमा प्रबेश गरेका छन् । प्रतियोगितामा बिहीबार पनि तीन खेल हुनेछन् ।
पहिलो खेलमा दमक नगरपालिका र षडानन्द नगरपालिका भोजपुर आमनेसामने हुनेछन् । त्यस्तै दोश्रो खेलमा विर्तामोड नगरपालिका र भद्रपुर नगरपालिका तथा तेश्रो खेलमा आमचोक गाउँपालिका भोजपुर र कमल गाउँपालिका झापाबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको विजेताले नगद एक लाख एकाउन्न हजार तथा उप–विजेताले नगद एक लाख हात पार्नेछन् । जनता माविको खेल मैदानमा भइरहेको सो प्रतियोगिताको आयोजना झापा गाउँपालिकाले गरेको हो । प्रतियोगितामा एक नम्बर प्रदेशका १६ टिमको सहभागिता रहेको छ ।