इलाम । नगदेवाली उत्पादनको लागी अग्रणी जिल्ला इलामबाट ९६ करोड रुपैयाँको अदुवा निर्यात भएको छ । जिल्ला कृषि विकास कार्यालय इलामको तथ्याङ्क अनुसार गत आर्थिक बर्षमा २७ हजार ५७० मेट्रिक टन अदुवा निर्यात भएको हो । घरायसी प्रयोजनका लागि मात्र प्रयोग हुँदै आएको अदुवाको अहिले व्यवसायीक खेतीमा किसानहरुको आर्कषण बढदो छ ।
इलाममा उत्पादन भएको अदुवा झापाको काँकडभिट्टा हुँदै भारततर्फ निकासी हुने गरेको छ भारतिय एकाधिकार रहेको अदुवा निर्यात खुल्ला भएपछि यस बर्षको उत्पादन सहज रुपमा निकासी हुनेमा किसानहरु आशावादी छन । कूल उत्पादनको २६ प्रतिशत अदुवा मात्रै जिल्लाका बजारमा खपत हुने गरेको छ । बीउमा ६ हजार ४६६ मेट्रिक टन अदुवा खपत हुन्छ । भारतले विभिन्न कारण देखाउदै पटक–पटक नेपाली अदुवाको निकासी रोक्ने गर्नाले किसान मारमा पर्ने गरेका छन् ।
पछिल्लो समय रोगको संक्रमण बढेकाले किसानहरु मारमा पर्ने गरेको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत रामसोगारथ शाहले बताए । जिल्लाका १२ हजार ९ सय ३२ किसान अदुवाको व्यावसायिक खेती गर्छन् । ३ हजार २ सय ३३ हेक्टरमा खेती भइरहेको अदुवा १ देखि ७० मनसम्म खेती गर्ने किसान जिल्लामा छन् ।