इलाम । चियाको खेती शुरु भएको इलाममा हरियो चियाको मुनाको उत्पादन र प्रशोधनको न्युनतम लागत मुल्यको अध्ययन शुरु भएको छ । खेती सुरु भएको डेढ सय वर्षपछि राष्ट्रिय चिया तथा कफि विकास बोर्डले चियाको मुनाको लागत मुल्य अध्ययन गरि समर्थन मुल्य तोक्ने योजना बनाएको हो ।
चिया खेती भएको डेढ सय वर्ष पछि हरियो पत्तिको समर्थन मूल्य तोक्नका लागि काम शुरु भएको हो । किसानलाई हरियो चिया पत्ति उत्पादन गर्दा लाग्ने खर्चको अध्ययन गरि समर्थन मुल्य तोकिने भएको हो ।
राष्ट्रिय चिया तथा कफि विकास बोर्डले चियाको न्युनतम लागत मूल्यको अध्ययन गरि समर्थन मुल्य तोक्ने योजना बनाएको छ । नेपालमा पहिलो पटक चिया खेती शुरु भएको इलामबाट बोर्डबाट गठन भएको न्युनतम लागत मूल्य अध्ययन समितिले काम गर्दै आएको छ ।
चिया तथा कफि विकास बोर्ड चिया विस्तार योजना फिक्कलका प्राविधिक इन्द्र अधिकारीको नेतृत्वको प्राविधिक टोली प्रतिकेजी न्युनतम लागत मूल्य बारे अध्ययनको काम गरिरहेको छ । ३ वटा सीजनमा हरियो चिया पत्ति खरिद बिक्रि हुँदै आएकाले फरक फरक लागत मूल्य अध्ययन गरि समर्थन मुल्य तोक्ने योजना रहेको बोर्डका कार्यकारी निर्देशक डा बिष्णु भट्टराईले बताए ।
व्यवसायीक रुपमा खेती हुँदै चियामा फस्ट फल्स, रेनी र अटम गरि तीन सिजनमा खरिद बिक्रि हुन्छ । चियाको मुनाको गुणस्तर मापन र न्युनतम समर्थन मुल्य नहुँदा किसान मारमा पर्दै आएका छन् ।
बोर्ड हरियो चिया पत्तिसँगै प्रशोधनको न्युनतम लागत मूल्यको अध्ययन गरिरहेको छ । किसानबाट खरिद गरेको हरियो चिया पत्तिको प्रशोधन लागत मूल्य किसानले थाहा पाउने भएपछि किसान र उद्योगीको सम्बन्ध सुमधुर हुने बोर्डको विश्वास छ । हरियो चिया पत्तिको न्युनतम लागत मुल्य अध्ययनको काम सकेर समर्थन मुल्य तोक्न काम दुई आर्थिक वर्षमा सक्ने बोर्डको योजना छ ।